लिग–२ सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना
तस्बिर : क्यान

आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज नेदरल्याण्ड्सँग खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 

दुवै टिम जित निकाल्दै जारी श्रृंखलाको अन्त्य गर्न चाहन्छन् । यस सिरिजमा नेपाल र नेदरल्याण्ड्सले समान तीन म्याच खेल्दा दुईमा हार र एक/एक खेलमा जित निकालेका छन् । नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोर्दा दोस्रो म्याचमा नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । 

तेस्रो खेलमा भने नेपालले नामिबियासँग २ विकेटको पराजय बेहोर्‍यो । यस्तै, पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले दोस्रो खेलमा नामिबियाविरुद्ध ७ विकेटको जित निकाल्यो । तर, उसले तेस्रो खेलमा नामिबियासँग २४ रनको हार बेहोर्‍यो । ओडिआईमा नेदरल्याण्ड्स नामिबियासँग पहिलोपटक पराजित भएको हो । 

ऊ अब अन्तिम खेलमा नेपाललाई हराएर अंक तालिकामा दोस्रो स्थानमा उक्लिन चाहन्छ । यता नेपाल पनि महत्वपूर्ण २ अंक जोडेर लिग–२ तालिकाको दोस्रो स्थानमा कायमै रहने सोचमा छ । 

हालसम्म नेपाल र नेदरल्याण्ड्सले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेलमा एकअर्काको सामना गरेका छन् । जसमा दुवै टिमले दुई/दुई खेल जितेको रेकर्ड छ । नेपाल र नेदरल्याण्ड्सले पहिलोपल्ट सन् २०१८ मा एकअर्काविरुद्ध खेलेका थिए । 



सो ओडिआईमा नेपाल ५५ रनले पराजित भयो । यी दुई टिमले दोस्रो खेल सोही वर्ष नै खेले । उक्त खेलमा नेपालले एक रनको रोमाञ्चक जित निकाल्यो । नेपाल र नेदरल्याण्ड्सले एकदिवसीयमा तेस्रो खेल गत वर्ष खेलेका थिए । जिम्बाब्वेमा आयोजित विश्वकप छनोटमा खेलिएको उक्त म्याचमा नेदरल्याण्ड्सँग नेपाल ७ विकेटले स्तब्ध भयो । यद्यपि यही १७ फेब्रुअरीमा भएको खेलमा भने नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको ऐतिहासिक जित निकाल्यो । 



नेपाल आइतबार पनि सोही लय दोहोर्याउन पूरा कोसिस गर्नेछ । नेदरल्याण्ड्सविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपाल आइतबार देव खनाल वा करण केसीमध्ये एकलाई विश्राम दिएर आरिफ शेखलाई मौका दिन सक्छ ।

अहिले टियूको पिच स्पिनरका लागि थप अनुकूल भइरहेको छ । त्यसकारण मुख्य प्रशिक्षक मोन्टी देसाईले ब्याटिङमा जोड दिने रणनीति बनाएको खण्डमा चौथो खेलमा देवभन्दा करणले विश्राम पाउने सम्भावना बढी छ । 

तल्लोक्रममा ब्याटिङतर्फ कुनै पनि नेपाली खेलाडीले ठूलो पारी खेल्न सकेका छैनन् । यस्तो अवस्थामा आरिफ उत्तम विकल्प हुने देखिन्छ । उनले विगतमा तल्लोक्रममा ब्याटिङ गर्दै राम्रो प्रभाव छाडेका थिए । 

आरिफले हालसम्म ४२ ओडिआई इनिङ्समा ६ अर्धशतकको सहयोगमा ९ सय ४२ रन बनाएका छन् । उनी यो ढाँचामा सर्वाधिक रन बनाउने नेपाली ब्याटरको सूचीको  चौथो स्थानमा छन् । साथै, आरिफले ओडिआईमा ६ विकेट पनि लिएका छन् । 

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, रोहितकुमार पौडेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी र ललितनारायण राजवंशी ।  

  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार ६:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया