सबै पार्टीहरूलाई राष्ट्र हितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ : कृष्णप्रसाद सिटौला
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् । 

आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको नेतृत्वदायी दायित्व भएको बताएका हुन् । उनले पार्टीहरूलाई राष्ट्र हितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए । 

उनले भने, ‘नेपाली कांग्रेसको अरू पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ । हामी संगठनले थोरै हौँ अथवा धेरै । अन्य पार्टी भन्दा नेपाली काँग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ । शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ । अन्य पार्टीहरूलाई राष्ट्र हितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ ।’

उनले कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु भूमिका खेल्नुपर्ने बताए । उनले कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरूले अन्य पार्टीहरूसँग पनि सहकार्य गरेर जनताको स्वार्थ अनुकूल काम गर्नुपर्ने बताए । उनले सिङ्गो राष्ट्रलाई एकताबद्ध गरेर बलियो राष्ट्र निर्माण गर्नुपर्ने भन्दै त्यसका निम्ति पार्टीभित्र र बाहिर सबैसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘आफ्नो देशको समस्या आफैँ उभिएर समाधान गर्न सक्छौँ भन्ने सन्देश दुनियाँलाई दिँदै जानु छ हामीले । त्यसैले राष्ट्रिय सभामा भएका हाम्रा साथीहरूले अन्य पार्टीहरूसँग पनि सहमति, सहकार्य गरेर, एकता गरेर राष्ट्रको हितमा हाम्रो अथवा अर्काको स्वार्थको खातिर होइन जनताका स्वार्थका खातिर बलियो नेपाल निर्माण गर्नका लागि हामीले मिलेर काम गर्नु छ आपसमा पनि । र त्यहाँभित्र पनि । सिङ्गो राष्ट्र एकताबद्ध गरेर अगाडि जानु छ र बलियो राष्ट्र निर्माण गर्नु छ ।’

नेता सिटौलाले राज्यका सम्पूर्ण संयन्त्रहरूलाई संविधान बमोजिम जनताको हितमा प्रयोग गर्नुपर्ने बताए । उनले आफूहरूले आगामी दिनमा जनताप्रति समर्पित भावले काम गर्ने पनि बताए ।  





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १४:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया