सुन तस्करी छानबिनमा आलटाल : दाेस्राेपटक आयोगले माग्यो थप कार्यकाल
सरकारको असहयोगका कारण अनुसन्धान प्रभावकारी भएन : एमाले

साठी किलो सुन तस्करी घटनाको छानबिन तथा अध्ययन गर्न गठित ‘उच्चस्तरीय छानबिन आयोग’को थप गरिएको समय अवधि पनि सकिन लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले असोज १५ मा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगका सदस्यहरूमा सहकुल बहादुर थापा, किशोरजंग कार्की र प्रेमराज जोशी छन् । आयोग असोज १५ मा गठन भए पनि काम १७ बाट सुरु गरेको थियो ।

सरकारले आयोगलाई सुन पैठारी, तस्करी नियन्त्रण गर्न सुझाबसहितको प्रतिवेदन तीन महिनाभित्र दिने भनेको थियो । तर, आयोगले सुन तस्करी घटना विस्तृत, गम्भीर र सार्वजनिक महत्व एवं चासोका विषय भएका कारण तीन महिनाभित्र प्रतिवेदन तयार गर्न सकेन । समयमा काम सकेर प्रतिवेदन नै बुझाउन नसकेपछि सरकारले फेरी दुई महिनाको समय थप गर्यो । पुस १६ गतेसम्मको म्याद आयोगलाई दिइएको थियो ।
 
तर, त्यतिबेलासम्म काम नसकिने भन्दै आयोगले म्याद लागि प्रस्ताव गरेपछि थप दुई महिना अर्थात् फागुन १५ गतेसम्मको म्याद पाएको थियो । अब आयोगको म्याद सकिन दुई दिन मात्रै बाँकी छ । तर, उक्त थप गरिएको समय अवधिमा पनि आयोगले काम नसक्ने भएको छ ।  

छानबिनमा आलटाल, समय थपको माग

आयोगले थपेको समयमा पनि काम सम्पन्न गर्न नसकेसँगै फेरि समय माग गरेको छ । अझै केही व्यक्तिसँग सोधपुछ बाँकी रहेको भन्दै आयोगले फागुन मसान्तसम्म म्याद थपका लागि सरकारलाई पत्राचार गरेको आयोगका संयोजक तथा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य बताउँछन् । तर, हालसम्म त्यसको आधिकारिक जवाफ भने आइसकेको छैन । ‘थप गरिएको समय अवधि पनि १५ गते सम्ममात्र हो,’ उनी भन्छन्, ‘समय थप्दा पनि विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन । त्यसैले १५ दिन अर्थात् फागुन मसान्तसम्म म्याद थपका लागि सरकारलाई पत्राचार गरेका छौँ । तर, आधिकारिक जवाफ हालसम्म आएको छैन । १५ गतेभित्र आउला ।’

अहिले आयोगले लगभग सबैजसो पाटोबारे छानबिन सकेर प्रतिवेदन लेख्न सुरु गरेको छ । तर, प्रमाणका लागि झिकाइएका मोबाइलको डिएफएल रिपोर्ट आउन बाँकी छ । ‘छानबिनको काम लगभग अन्तिम चरणमा पुगेको छ,’ उनी भन्छन् ‘केही टेक्निकल पाटोको काम बाँकी छ । डिएफएल रिपोर्ट आएको छैन । त्यसका लागि कम्तीमा १०–१५ दिन लाग्दोरहेछ । अहिलेसम्म आएको छैन । तर, यता, प्रतिवेदन तयार पार्न आयोग जुटेको छ ।’

यस्तै, मोबाइलको डिएफएल रिपोर्टसँगै सिआइबीबाट केही कागजात, महान्याधिवक्ताको कार्यालयबाट केही जवाफ आउन बाँकी रहेकाले पनि प्र्रतिवेदन लेखन प्रयोजनका लागि समय माग गरिएको आयोगका संयोजक आचार्य बताउँछन् । अब सोधपुछका काम भने लगभग सकिएको उनको भनाइ छ । आचार्य भन्छन्, ‘सोधपुछ गर्नुपर्ने व्यक्तिहरू अझै हुनुहुन्छ । उहाँहरू फरारको सूचीमा हुनुहुन्छ । हामीले त प्रहरीलाई चिठी लेख्ने हो । 




प्रहरीले पक्राउ दाखिल गरेर ल्याएन भनेर हामी पर्खिरहन त भएन । त्यसकारण तोकिएको समय अवधिभित्र प्राप्त प्रमाणका आधारमा प्रतिवेदन तयार पारेर बुझाउँछौँ । यो बीचमा हामीले खोजी गरेको व्यक्ति आयो भने बयान कागज तथा सोधपुछ पनि हुन्छ ।’ अब प्रतिवेदनमा क–कसको भूमिका के देखिन्छ, कसलाई कारबाही गर्नका लागि सिफारिस गर्नेसम्मको विषयहरू उल्लेख गरिने उनी बताउँछन् । 

यता, आयोगको मागअनुसार समय थपका लागि प्रक्रियामा रहेको गृह मन्त्रालयले जनाएको छ । समय थप्ने या नथप्ने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्ने हुँदा अहिले प्रक्रियामै रहेको गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक बताउँछन् । ‘फेरि १५ दिन समय थप्नका लागि माग आएको छ,’ पाठक भन्छन्, ‘मन्त्रिपरिषद्ले निर्णय गर्ने हुँदा यो प्रक्रियामै छ ।’



हालसम्म के–के भयो काम ? 

सुन तस्करी छानबिनको काम अन्तिम चरणमा पुगेको सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले जनाएको छ । अहिले आयोगले प्रमाण मूल्यांकन र प्रतिवेदन लेखनमा आयोग जुटेको आयोगका संयोजक आचार्य बताउँछन् । उनका अनुसार आयोगले अहिलेसम्म ११७ जना भन्दा बढीसँग बयान तथा सोधपुछ, फलफल, परामर्श गरेको छ । 

आयोगले सुन तस्करी प्रकरणमा मुद्दा चलेका ३२ जना प्रतिवादीलाई झिकाएर बयान लिइएको थियो । सोही क्रममा ३३ किलो सुन तस्करीमा जोडिएर हाल थुनामा रहेका गोरे भनिने चुडामणि उप्रेतीसँग समेत बयान लिइसकेको छ । यस्तै, मुद्दा नचलेका तर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुझेर छाडेका २१ जनासँग पनि आयोगले फेरि बयान लिइएको आयोगका संयोजक आचार्य बताउँछन् । 

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यसहित ६ जना प्रहरी अधिकारीसँग सोधपुछ, छलफल तथा परामर्श पनि गरेको छ । त्यस्तै, सुनचाँदी व्यवसायीका तीनवटा संघ–संस्थाका १८ जना प्रतिनिधिसँग छलफल गर्नुका साथै ३३ जना विज्ञसँग पनि परामर्श गरिएको उनी बताउँछन् । त्यसैगरी, संसद्मा प्रतिनित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त गर्ने दलका प्रमुख सचेतकलाई बोलाएरसमेत आयोगले छलफल गरेको थियो । 

सुन तस्करी घटना विस्तृत, गम्भीर र सार्वजनिक महत्व एवं चासोका विषय भएका कारण समयमा प्रतिवेदन तयार पार्न नसकिएको आयोगका संयोजक आचार्य बताउँछन् । विदेशबाट इलेक्ट्रोनिक सिगरेट (भेप)मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको र साउन ३ गते ब्रेकसुमा सुन राखी अवैध तस्करी गरिएको लगायत पटक–पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाब तथा जानकारी दिनुपर्ने कार्यदेश आयोगलाई छ ।

त्यसैगरी, नेपाल राष्ट्र बैंक, नेपाल सीमा पार व्यापार वाणिज्य संघ, नेपाल फ्रेट फरवार्डस एसोसियसन, सर्वोच्च बार एसोसियसनका प्रतिनिधिसँग छलफल गरिएको उनको भनाइ छ । साथै, आयोगले रसुवा, तातोपानी, त्रिभुवन विमानस्थल, मेची, विराटनगर, पर्सा, भैरहवा र नेपालगन्ज भन्सार नाकाको अवलोकन र सम्बन्धित पदाधिकारीसँग छलफल र अन्तरक्रिया पनि गरेको थियो ।

यस्तै, अध्यागमन कार्यालय, सुरक्षा निकाय, त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, सुरक्षा निकायहरूको स्थलगत अध्ययन एवं अवलोकन गर्ने कार्य सम्पन्न भएको आयोगका संयोजक आचार्यको भनाइ छ । उनका अनुसार तस्करहरूले सुन गाल्नका लागि प्रयोगमा ल्याएका टोखा, बुढानिलकण्ठ र बालाजुका कारखाना तथा गोदाममा समेत स्थलगत अवलोकन गरिएको आयोगले जनाएको छ । 

सुन तस्करी घटना विस्तृत, गम्भीर र सार्वजनिक महत्व एवं चासोका विषय भएका कारण समयमा प्रतिवेदन तयार पार्न नसकिएको आयोगका संयोजक आचार्य बताउँछन् । आयोगले विदेशबाट इलेक्ट्रोनिक सिगरेट (भेप)मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको र साउन ३ गते ब्रेकसुमा सुन राखी अवैध तस्करी गरिएको लगायत पटक–पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाब तथा जानकारी दिनुपर्नेछ । 

यसैगरी, सुनको अवैध पैठारीसम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक–पटक भएका सुन तस्करीसम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी दिनुपर्ने कार्यदेश छ । 

यसैगरी, सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी (तस्करी)सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी आयोगले लिनेगरी कार्ययोजना बनाइएका कारण पाँच महिना समय अपुग भएको उनी बताउँछन् । भन्छन्, ‘विषय एकदमै भेग छ, तर समय एकदमै कम त्यसकारण पनि समयमा काम सम्पन्न नभएको हो ।’ 

यस्तै, आयोग गठन भएपछि धेरै सार्वजनिक बिदा परेका कारण पनि अनुसन्धान समयमा सम्पन्न नभएको उनी बताउँछन् । ‘दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्वले २८ दिन सार्वजनिक बिदा पर्यो,’ उनी भन्छन्, ‘सार्वजनिक बिदा धेरै हुँदा काम प्रभावित भयो ।’ यस्तै, सुन तस्करी छानबिनमा सरकारले आवश्यक प्रतिवेदन उपलब्ध नगराउँदा पनि अनुसन्धान प्रभावित भएको उनी बताउँछन् । 

उनका अनुसार सरकारको तर्फबाट एक–दुईवटा पुराना प्रतिवेदन उपलब्ध भएको छैन । ‘प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा प्रतिवेदन उपलब्ध गराइदिन पत्राचार गरेका छौँ, तर हालसम्म प्रतिवेदन प्राप्त भएन,’ उनी भन्छन्, ‘प्रधानमन्त्री कार्यालयले आफूसँग प्रतिवेदन नभएको मौखिक जानकारी दियो भने गृह मन्त्रालयले प्रतिवेदन नभेटिएको बतायो । यसरी समयमा प्रतिवेदन उपलब्ध नहुँदा पनि हामीलाई काम गर्न असहज भयो । समयमा काम सम्पन्न नहुनु यो पनि एउटा कारण हो ।’

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएर बाहिरिँदै गरेको ६१ किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । उक्त सुनको अनुसन्धानपछि सिआइबीले गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सुन तस्करी प्रकरणको अनुसन्धानका लागि छुट्टै स्वतन्त्र आयोग गठन गर्नुपर्ने भन्दै संसद् अवरुद्ध गरेपछि भदौ ६ गते एमालेसहित सात दलबीच आयोग गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा प्रतिवेदन उपलब्ध गराइदिन पत्राचार गरेका छौँ, तर हालसम्म प्रतिवेदन प्राप्त भएन,’ संयोजक आचार्य भन्छन्, ‘प्रधानमन्त्री कार्यालयले आफूसँग प्रतिवेदन नभएको मौखिक जानकारी दियो भने गृह मन्त्रालयले प्रतिवेदन नभेटिएको बतायो । यसरी समयमा प्रतिवेदन उपलब्ध नहुँदा पनि हामीलाई काम गर्न असहज भयो । समयमा काम सम्पन्न नहुनु यो पनि एउटा कारण हो ।

अनुसन्धान प्रभावकारी भएन, सरकारले नै सहयोग गरेन : एमाले

यता, प्रमुख प्रतिपक्षी दल एमालेले भने सुन तस्करी प्रकरणको अनुसन्धान नै प्रभावकारी नभएको आरोप लगाएको छ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी भन्छन्, ‘अनुसन्धान जसरी प्रभावकारी ढंगले हुनुपर्थ्यो, समयै सम्पन्न हुनेगरी काम हुनुपर्थ्यो त्यो अहिलेसम्म भएको पाइएन ।’

सरकारले नै आयोगलाई सहयोग नगरेको उनको आरोप छ । गिरीले भने, ‘सरकारले नै निष्पक्ष तथा स्वतन्त्र ढंगले छानबिन गर्न सहयोग गरेको हामीले महसुस गरेका छैनौँ । त्यसैले पनि आयोगले समयमा काम सम्पन्न गर्न नसकेको देखिन्छ ।’ अब थप भएको समयमा आयोगले गहन अनुसन्धान गरेर सत्यतथ्य कुरा बाहिर ल्याउन पनि प्रमुख सचेतक गिरीले आग्रह गरे । यस्तै, सुन तस्करी सरकारको सेटिङविना हुनै नसक्ने जिकिर गर्दै गिरीले यसमा सत्ता गठबन्धन दलका अन्य नेताहरूको पनि संलग्नता हुनसक्ने भएकाले त्यसतर्फ पनि अनुसन्धान गर्न पनि आग्रह गरे ।

रोकिएको छैन सुन तस्करी 

अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी अझै रोकिएको छैन । बिहीबार (फागुन १०)मा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका छन् । उनले पाइन्ट र भित्री वस्त्रमा लेपन गरी सुन ल्याइएको अवस्थामा प्रहरी पक्राउ गरेको हो । पक्राउ परेका जेसन दोहाबाट मुम्बई हुँदै इण्डिगो एयरलाइन्सबाट दिउँसो ४ बजे काठमाडौं ओर्लिएका थिए । भन्सार जाँच पार गरिसकेपछि शंकाका आधारमा खोजतलास गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ । 

त्यसको दुई दिनअघि (फागुण ८) मा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर थिए । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि गरी सुन लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । 

यी त केही उदाहरण मात्रै भए । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चेकजाँचमा जति नै कडाइ गरेको बताए पनि तस्करहरूले सुन ल्याउन छाडेका छैनन् । प्रहरी अनुसन्धानमा नेपाल भित्रिने अवैध सुनको अधिकांश खपत भारतमा हुँदै आएको छ । हङकङ, युएई, सिंगापुर, मलेसियामा सुन खरिद गरी तस्करले नेपाल ल्याउने गरेका छन् । नेपाल ल्याएको सो सुन नेपाली बजार र भारतीय बजारमा सजिलै खपत हुने गरेको छ । 

सुन तस्करीमा भरिया मात्रै पक्राउ परे पनि प्रहरीले अहिलेसम्म ठूला सुन तस्करीका नाइकेहरू सार्वजनिक गर्न सकेको छैन । तर, केही प्रतिनिधि घटनामा भने पक्राउ परेका सुन तस्करको पृष्ठभूमिबाट थाहा हुन्छ– सुन तस्करीमा मिलेमतोको ठूलो सञ्जाल खडा छ ।

  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १९:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया