पर्यटक पर्खाइमा तमोर नदी क्षेत्र, के–के छन् हेर्नलायक ठाउँ ?

धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । 

जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर, पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्‍याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् । 

जिल्लाको छथर जोरपाटी, सहिदभूमि, साँगुरीगढी, चौबिसे  गाउँपालिकासहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एसोसिएसन भेडेटारको तथ्याङ्कअनुसार भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक १ हजार ५ सयदेखि २ हजार ५ सयसम्म पर्यटक आउने गरेका छन् । तर, पूर्वकै पर्यटकीय नगरी भेडेटार र झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा पर्यटकको आगमन ज्यादै न्यून छ ।

स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बनेको धनकुटा नगरपालिका–१० मूलघाटका होटल व्यवसायी मोहन बान्तावाको भनाइ छ ।

५० लाख रुपैयाँको लागतमा गएको एक दशकअघिबाट तमोर नदी क्षेत्रमा आउने पर्यटकलाई लक्षित रिसोर्ट सञ्चालन गर्दै आएका उनले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको जानकारी दिए । साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राई पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको बताए ।  

अहिले भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन रहेको छ । यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने चौबिसेका अध्यक्ष राजकुमार लिम्बूको भनाइ छ ।



तमोर क्षेत्रलक्षित पालिकाको कुनै ठोस योजना नभए पनि तमोर करिडोर भएर आउने पर्यटकलाई लक्षित गरेर सो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पालिकाले लगानी गरिरहेको उनले जानकारी दिए । तमोर नदी क्षेत्रमा पर्यटक आएर घुम्ने उचित सडक सञ्जाल नहुँदा पनि पर्यटकको आवागमनमा कमी आएको सहिदभूमिका अध्यक्ष मनोज राईले जानकारी दिए । 

पर्यटक आइहाले पनि नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि यहाँ हुनुपर्ने आन्तरिक व्यवस्थापन गर्न नसक्दा तमोर नदी क्षेत्रमा पर्यटक भित्र्याउन नसकिएको उनले बताए । रासस



  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार ९:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया