दोस्रो खेलमा नेदरल्याण्ड्सँग खेल्दै नेपाल, प्लेइङ-११ मा तीन परिवर्तनको सम्भावना

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरयाण्ड्सबीचको खेल बिहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित टियू मैदानमै सुरु हुनेछ । 

सिरिजमा पहिलो खेल हारिसकेको नेपाल दोस्रो म्याचमा उत्कृष्ट पुनरागमन गर्ने योजनामा छ । नेपाल पहिलो खेलमा मंगलबार नामिबियासँग २० रनले पराजित भयो । उक्त खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १ सय ८६ रनमै अलआउट भयो । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ४८ रन बनाए । यस्तै,  कप्तान रोहितकुमार पौडेलले ४२, कुशल मल्लले ३२, सोमपाल कामीले २६ र गुलशन झाले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

पहिलो खेलमा नेपालले बलिङ निकै कमजोर रह्यो । साथै ब्याटिङतर्फ भने कुनै पनि ब्याटरले अर्धशतकीय पारी खेल्न सकेनन् । नेपाल नेदरल्याण्ड्सविरुद्ध भने अलराउन्ड प्रदर्शन गर्दै जित निकाल्ने सोचमा छ । यता पाहुना टिम नेदरल्याण्ड्स पहिलो खेलमै जित हात पार्ने लक्ष्यमा छ । 



हेड टु हेड

हालसम्म नेपाल र नेदरल्याण्ड्सले ९ टी–२० अन्तर्राष्ट्रिय खेलमा एकअर्काको सामना गरेका छन्, जसमा दुवै टिमले चार/चार खेल जितेका छन् । नेपाल र नेदरल्याण्ड्सबीचको एक खेल भने रद्द भएको विगत छ । यी दुई टिमले पछिल्लोपटक सन् २०२१ मा टी–२० आई खेलेका थिए । सो खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हरायो । 



टियू मैदानमा भएको उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपालले २ सय ३९ रनको विशाल लक्ष्य दियो । नेपालका लागि कुशल भुर्तेलले ७७, कुशल मल्लले ५०, दीपेन्द्र सिंह ऐरीले ४८, कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आसिफ शेखले १६ रन बनाए । 

२ सय ३९ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स १७.२ ओभरमा ९६ रनमै अलआउट भयो । नेदरल्याण्ड्सलाई सस्तैमा अलआउट गर्नेक्रममा करण केसीले तीन, कमल सिंह ऐरी र सन्दीप लामिछानेले दुई/दुई तथा अविनाश बोहराले एक विकेट लिए ।

नेपाल यसपटक पनि सोही नतिजा दोहोर्याउन पूरा कोसिस गर्नेछ । यद्यपि तीन वर्षअघिको इतिहास दोहोर्याउन नेपाललाई सहज छैन । गत आइतबार सम्पन्न लिग–२ खेलमा मात्र नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित भएको थियो । 

प्लेइङ–११ मा तीन परिवर्तनको सम्भावना   

नेदरल्याण्ड्सविरुद्ध नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना छ । बुधबारको खेलमा नेपालले विवेककुमार यादव, गुलशन झा र अविनाश बोहरालाई विश्राम दिएर अनिल साह, आरिफ शेख र ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना रहेको हो । नामिबियाविरुद्ध विवेक, गुलशन र अविनाशले कमजोर प्रदर्शन गरे ।

विवेकले फिल्डिङमा उत्कृष्ट क्याच पक्रिए पनि उनले ब्याटिङमा ४ बलमा ६ रन मात्र जोड्न सके । यस्तै, गुलशनले बलिङमा एक ओभरमा बिनाविकेट १८ रन दिँदा ब्याटिङतर्फ ६ बलमा १२ रन दिए । अविनाशले बलिङमा चार ओभरमा ४९ रन खर्चिदा ब्याटिङमा शून्यमै बोल्ड भए ।

नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, आरिफ शेख, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी । 

  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार ७:११:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया