विज्ञ भन्छन्– ‘फोहोर व्यवस्थापनको उत्तम विकल्प सार्वजनिक-निजी साझेदारी मोडल’
वैज्ञानिक फोहोर व्यवस्थापनमा चुक्दा दिनहुँ थपिँदै छन् चुनौती

मुलुकमा बढ्दो शहरीकरणसँगै काठमाडौं उपत्यकादेखि बाहिरी जिल्लाहरूमा समेत फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गएको छ । पछिल्लो समय प्रत्येक स्थानीय तहहरूलाई सबैभन्दा ठूलो चुनौती फोहरमैलाको व्यवस्थापन बन्न थालेको छ । गाउँपालिकादेखि नगरपालिका र महानगरपालिकामा प्रमुख चुनौती के हो भन्यो भने गाउँपालिका प्रमुख देखि महानगरका प्रमुखको पहिलो जवाफ ‘फोहरमैला व्यवस्थापन’ भन्ने सुनिन्छ । 

यसरी हेर्दा देशभरका सबै स्थानीय तहमा फोहरमैला व्यवस्थापन पहिलो चुनौतीका रूपमा देखिएको छ । स्थानीय तहहरूको सबैभन्दा बढी समय र बजेट समेत फोहोर व्यवस्थापनमा गइरहेको छ । तर वैज्ञानिक र दीर्घकालीन भने भएको देखिँदैन । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा भयावह समस्या छ । काठमाडौं उपत्यकाका नगरपालिका र महानगरपालिकाका मेयरहरूको प्रमुख प्राथमिकता र योजना नै फोहोर व्यवस्थापन रहेको छ । तर पनि समय–समयमा फोहोरको समस्या विकराल बन्ने गर्दछ । मुख्य त काठमाडौं महानगरपालिका भित्रको फोहोर व्यवस्थापन गर्न ठूलो चुनौती देखिएको छ ।

काठमाडौं महानगर लगायत उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहहरूले मात्रै नभएर संघीय सरकारले पनि साथ दिनुपर्ने उपत्यकाका स्थानीय तहहरूको माग छ । मुलुक संघीय संरचनामा गएसँगै फोहोर व्यवस्थापन स्थानीय तहहरू आफैंले गर्नुपर्ने प्रावधान छ । तर काठमाडौं उपत्यकाको वैज्ञानिक फोहोर व्यवस्थापनको लागि बजेट र अन्य पूर्वाधार छैन । सरकारले आवश्यक कानुनी व्यवस्था गरेर निजी क्षेत्रलाई फोहोर व्यवस्थापनमा सहभागिता गराउन नसक्दा अहिलेको विकराल अवस्था आएको देखिन्छ । सरकारले फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन निजी साझेदारीमा जाने तयारी गरे पनि १५ वर्षदेखि निर्णय हुन सकेको छैन ।

उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न निजी क्षेत्रलाई सहभागी गराउन नसक्दा १५ वर्षदेखि फोहोर व्यवस्थापन अलपत्र अवस्थामा छ । काठमाडौं उपत्यकाको वैज्ञानिक फोहोर व्यवस्थापन गर्नेको लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुको विकल्प नदेखिएको विज्ञहरू बताउँछन् । ‘१५ वर्षअघि सुरुवात गरिएको  निजी क्षेत्रसँग विस्तृत परियोजना विकासका लागि प्रस्ताव अघि बढेको भए अहिलेको फोहोर व्यवस्थापनको विकराल अवस्था आउने थिएन ।’ भन्ने विज्ञहरूको भनाई छ । फोहोर व्यवस्थापन सार्वजनिक निजी साझेदारी मोडलमा जाने विषय अहिले काठमाडौं महानगर लगायतका लागि अवसर हुने विज्ञहरूले बताए ।

१५ वर्षसम्म निजी क्षेत्रसँग साझेदारी नहुँदा फोहोर व्यवस्थापन अलपत्र

पूर्वाधार विज्ञ आशिष गजुरेलले २०६६ सालमा काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनको लागि निजी क्षेत्रसँग विस्तृत परियोजना विकासका लागि प्रस्ताव अहिलेसम्म कार्यान्वयन नहुँदा फोहोर व्यवस्थापनमा चुनौती बढ्दै गएको दाबी गरे । गजुरेलले लगानी बोर्डले फोहरमैला व्यवस्थापनको लागि ग्लोबल बोलपत्र आह्वान गरेर कम्पनी छनोट कार्य अघि बढाए पनि अहिलेसम्म कार्यान्वयनमा नआएको बताए । 



उनले संघीय सरकारले ठूला आयोजना विकास, निर्माण तथा सञ्चालनमा निजी क्षेत्रको क्षमता र साधनको परिचालन गरी नागरिक सेवालाई चुस्त, मितव्ययी र प्रभावकारी बनाउने अभिप्रायले निजी साझेदारी अवधारणा आएको बताए । उनले विश्वका विकसित देशहरूमा समेत फोहोर व्यवस्थापन मात्रै नभएर ठूला परियोजनाहरूमा निजी साझेदारी अवधारणाले सफलता पाएको बताए । 

उनले भने,‘काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा गर्ने भनेर नेपाल सरकारले २००९ मा सुरु गर्‍यो । झन्डै १५ वर्षअघि सुरु भयो । तर त्यो विषय निष्कर्षमा पुग्न सकेको छैन ।’



विज्ञ गजुरेलले मुलुकमा संघीय व्यवस्था लागू भएसँगै संघीय सरकारले गरिरहेको काम स्थानीय तहमा पठाउने र स्थानीय तहले संघीय सरकारमा पठाउने निर्णय लगानी बोर्डमार्फत यो परियोजना अगाडि बढे पनि अहिलेसम्म कार्यान्वयन नहुँदा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको उल्लेख गरे । 

उनले लगानी बोर्डको २०७३ वैशाख १५ गतेको बैठकले काठमाडौंको फोहरमैला व्यवस्थापन गर्न प्रतिस्पर्धाको आधारमा प्याकेज–१ का लागि नेपवेष्ट र प्याकेज–२ र ३ का क्लिन भ्याली कम्पनीले पेस गरेको डिपिआर स्वीकृत गर्ने निर्णय गरेको बताए । 

उनले भने, ‘काठमाडौं उपत्यकाको हकमा तीन प्याकेजमा बाँडिएको छ । प्याकेज एकमा काठमाडौं,प्याकेज २ र ३ मा ललितपुर र भक्तपुरलाई राखिएको छ । काठमाडौको लागि नेपवेष्ट कम्पनी प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट भइसकेको छ । ललितपुर र भक्तपुरको लागि क्लिन भ्याली कम्पनी छनोट भयो ।’

गजुरेलले सरकारको ऐन नियमअनुसार प्रतिस्पर्धामा भाग लिएर छनोट भएको कम्पनीसँग परियोजना विकास सम्झौता हस्ताक्षर गरेर निजी क्षेत्रलाई ल्याउने पर्ने भए पनि अहिलेसम्म काम हुन नसकेको बताए । 

उनले संघीयता लागू भएसँगै संघीय सरकारबाट स्थानीय तहलाई फोहोर व्यवस्थापनको जिम्मा दिए पनि स्थानीय तहको यस्तो खालको विज्ञता पनि नभएको स्थितिमा संघीय सरकारलाई पठाउने काम भएको बताए । गजुरेलले परियोजना विकास सम्झौतामा हस्ताक्षर गर्नुपर्ने कुरामा भने संघीय सरकार र स्थानीय सरकार दुवैले प्राथमिकतामा राख्न नसक्दा १५ वर्षदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अलपत्र र विकराल बन्दै गएको दाबी गरे । 

उनले स्थानीय निकायले निजी क्षेत्रको क्षमता,लगानी प्रयोग गरी प्रमुख दायित्व फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन निजी क्षेत्रमार्फत गर्ने अवसर अहिले रहेको बताए । ‘स्थानीय तहको यस्तो खालको विज्ञता पनि नभएको स्थितिमा संघीय सरकारलाई पठाउने र परियोजना विकास सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । तर मूल्याङ्कन गर्ने कुरा छ । यो परियोजना लागू गर्ने स्थानीय तहले हुन्छ । स्थानीय निकायले निजी क्षेत्रको क्षमता,लगानी प्रयोग गरी प्रमुख दायित्व फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन निजी क्षेत्रमार्फत गर्ने अवसर पनि हो,’ गजुरेलले भने । 

वातावरण विज्ञ अल्का सापकोटाले सरकारले वैज्ञानिक फोहोर व्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारीमा काम गर्नेगरी निर्णय गर्न सक्नुपर्ने दाबी गरिन् । उनले सरकारले १५ वर्षअघि सारेको सार्वजनिक निजी साझेदारी अवधारणा अहिले सम्म कार्यान्वयन गर्न नसक्दा चुनौती बढ्दै गएको संकेत गरिन् । 

विज्ञ सापकोटाले फोहोर व्यवस्थापनको लागि छनोट गरेका कम्पनीहरूलाई काम गर्ने दिने गरी निर्णय गर्न ढिलाइ गर्न नहुने बताइन् । उनले फोहोर व्यवस्थापन निजी क्षेत्रको साझेदारीमा गर्दा विगतदेखि त्यही क्षेत्रमा काम गरिरहेका र पछिल्लो समय सामाजिक रूपमा उठेका मुद्दाहरूलाई सोचेर निर्णय गर्न आवश्यक रहेको बताइन् । सापकोटाले अझै सरकारले फोहोर व्यवस्थापन गर्ने विषयमा निजी साझेदारीमा गर्ने निर्णय नगरे थप विकराल अवस्था आउने जिकिर गरिन् । 

उनले भनिन्,‘सरकारले वैज्ञानिक फोहोर व्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारीमा काम गर्ने गरी निर्णय गर्न सक्नुपर्छ । विगतदेखि काम गरिरहेका र सामाजिक मुद्दाहरूका विषयमा पनि सोच्नुपर्छ । यस्तो कुराहरू नसोची काम गर्छु भन्दा सम्भव छैन । अहिलेसम्म भएको विषयलाई पनि निर्णय गर्न सरकारले सक्नुपर्छ । अझै चार वर्ष निर्णय नहुँदा पाउनुपर्ने कम्पनीको समय र पैसा दुवै खर्च भएको छ । त्यसले झन् विकराल रूप लिन सक्छ ।’

सापकोटाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन निजी साझेदारीलाई दिएर सरकार चुप लागेर बस्ने भन्दा पनि नियमन र अनुगमन गरी प्रभावकारी व्यवस्थापनमा जोड दिन आवश्यक रहेको बताइन् । उनले निजी साझेदारीमा फोहोर व्यवस्थापनमा जाँदा स्थानीय तह,संघीय सरकार र निजी क्षेत्रको काम स्पष्ट रूपमा छुट्याएर सम्झौता गर्नुपर्नेमा जोड दिइन् । 

उनले भनिन्,‘सानो–सानो क्षेत्रमा काम गर्न सजिलो छ । तर काठमाडौं उपत्यकामा धेरै फरक छ । एउटै निर्णय,टेक्नोलोजी,प्रशोधन केन्द्रले काम गर्दैन । निजी साझेदारीमा जाँदा स्थानीय तह र संघीय सरकारको काम के हो भन्ने कुरा छुट्टिनुपर्छ । अहिले त्यस्तो छैन । बञ्चरेडाँडामा कसले व्यवस्थापन गर्ने हो । निजी क्षेत्रले लैजान्छ भने शुल्क कसरी राख्ने हो । यस्ता विषयमा सम्झौतामा नै स्पष्ट बनाएर फोहोर व्यवस्थापन निजी साझेदारी मोडलमा गर्न आवश्यक छ ।’

पुरानो सम्झौतालाई निरन्तरता

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि भएको प्रारम्भिक परियोजना विकास सम्झौता (पीडिए) नै निरन्तरता दिन आवश्यक छ । काठमाडौं महानगरपालिकासहितका १० वटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि २०७४ फागुन २३ मा लगानी बोर्डको कार्यालय र नेपवेष्टबीच भएको प्रारम्भिक परियोजना विकास सम्झौता (पीडिए) मा नै निरन्तरता दिएर वर्तमान प्रविधि र टेक्नोलोजी सहितको योजना परिमार्जन गर्न लगाएर काम अगाडि बढाउन सक्नुपर्ने पूर्वाधार विज्ञ गुजरेलले बताए । 

उनले तीन वटै प्याकेजको फोहोर व्यवस्थापन निजी साझेदारी मोडलमा गर्न कम्पनी छनोट भएकाले नयाँ टेण्डर प्रक्रियामा जाँदा समस्या आउनसक्ने भन्दै पुरानो सम्झौतालाई निरन्तरता दिएर जानु उत्तम हुने बताए । 

उनले फोहोर व्यवस्थापनको लागि सरकारी ऐन, कानुनअनुसार कम्पनी छनोट भएकाले कम्पनीको लामो समय र लगानी भएको बताए । उनले काठमाडौं महानगरपालिकाको शिक्षा, फोहरमैला व्यवस्थापन,यातायात लगायत क्षेत्रहरू रहेको र सीमित स्रोत र साधनले सबै कुरा व्यवस्थापन गर्न समस्या हुने दाबी गरे । 

विज्ञ गजुरेलले टेण्डरमा आवश्यक फेरबदल गरेर वैज्ञानिक हिसाबमा सम्झौता गर्ने गरी गहन छलफल र अध्ययन सहित सम्झौतामा हस्ताक्षर गर्नु आवश्यक रहेको बताए । उनले फोहोर व्यवस्थापन नियमनको लागि स्थानीय तहलाई दिएर काम गर्नको विकल्प नभएको औंल्याए ।  

उनले सरकारसँग १५ वर्षअघि गरेको सम्झौता समय परिवर्तनसँगै प्रविधि टेक्नोलोजी,पेस गरेको समय योजना,कार्य तालिकामा अपडेट र परिमार्जन गराएर अघि बढ्न सक्ने बताए । सरकारले प्रारम्भिक रूपमा हस्ताक्षर भएको पीडिएमा सानो सप्लिमेन्ट्रि सम्झौता राखेर पुरानो सम्झौतालाई कार्यान्वयन गर्न सक्नुपर्ने उनको भनाई छ ।

त्यस्तै वातावरण विज्ञ सापकोटाले पनि विगतको सम्झौतालाई कसरी निरन्तरता दिने विषयमा गहन छलफलमा जोड दिइन् । उनले लामो समय टेण्डर प्रक्रियामा गएर काठमाडौं महानगरले निर्णय गर्न नसक्दा थप समस्या आउने औंल्याइन् । उनले तत्काल सरकारले एउटा निर्णय लिएर फोहोरको दीर्घकालीन र वैज्ञानिक व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए । सापकोटाले वडा तहदेखि फोहोर व्यवस्थापन गर्न दिँदै जाने र निजी क्षेत्रलाई प्रतिस्पर्धात्मक रूपमा ल्याउनसके मात्रै समस्या समाधान हुने अवस्था रहेको बताइन् ।

उनले भनिन्, ‘लामोसम्म समय टेण्डर प्रक्रियामा जाँदा निर्णय हुन सकेको छैन । त्यसैले उनीहरूलाई पनि एउटा निर्णय सरकारले दिनुपर्छ । एकै पटक सबै शून्यमा झार्ने भन्ने विश्वका विकसित देशहरू पनि जान सक्दैन । वडा तहदेखि फोहोर व्यवस्थापन गर्ने दिँदै जाने र निजी क्षेत्रलाई प्रतिस्पर्धात्मक रूपमा ल्याउन नसके अहिलेकै अवस्था हुन्छ ।’

विज्ञ सापकोटाले फोहोर व्यवस्थापन निजी क्षेत्रलाई दिएपछि सबै सकियो भनेर सरकारी निकाय मौन बस्न नमिल्ने बताइन् । उनले निजी क्षेत्रलाई सहभागिता गराएर सरकारले मोडल बनाउन आवश्यक रहेको बताइन् । उनले फोहोर व्यवस्थापनको लागि पारदर्शी रूपमा टेण्डर प्रक्रियामा जाने, विगतदेखि काम गरिरहेका ३५ बढी संस्थाको व्यवस्थापनको मोडल बनाएर कम्तीमा १० वर्षको लागि एउटा कम्पनीलाई काम गर्न दिन आवश्यक रहेको बताइन् । 

सापकोटाले निजी साझेदारीमा  सानो–सानो क्षेत्रको फोहोर व्यवस्थापनको काम गर्न सजिलो भए पनि काठमाडौं उपत्यकामा धेरै फरक रहेको दाबी गरिन् । उनले एउटै निर्णय, टेक्नोलोजी,प्रशोधन केन्द्रले मात्रै काम गर्न नसकिने अवस्था रहेको भन्दै निजी साझेदारीमा जाँदा स्थानीय तह र संघीय सरकारको काम स्पष्ट रूपमा कानुन नै बनाएर जानुपर्ने आवश्यकता रहेको उल्लेख गरिन् ।

निजी क्षेत्र संलग्न हुन नीति अभाव

फोहोर व्यवस्थापनको लागि सरकारसँग निजी साझेदारीमा काम गर्नको लागि नीतिगत अभाव रहेको छ । सरकारले मुलुकभरका स्थानीय तहको फोहोर व्यवस्थापनमा निजी क्षेत्रको संलग्नताको लागि आवश्यक नीतिको व्यवस्था गर्नु आवश्यक देखिएको छ । सरकारले तत्काल निजी क्षेत्र संलग्न गराउनको लागि नीति बनाई व्यवस्थित र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्ने मोडल बनाउन आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।

उनीहरूले सरकारले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका जनताले भोग्नुपरेको समस्याबाट मुक्त गराउनको लागि पनि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए । वातावरण विज्ञ सापकोटाले बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको कारण मानवीय समस्यालाई समेत हल गर्ने गरी संघीय सरकारले भूमिका खेल्नुपर्ने बताइन् । 

उनले त्यसको व्यवस्थापनमा राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । उनले ल्याण्डफिल्ड साइटमा फोहोरको मात्रा कम गरी दीर्घकालीन र वैज्ञानिक व्यवस्थापन केन्द्र बनाउन आवश्यक रहेको बताइन् । 

त्यस्तै, पूर्वाधार विज्ञ गजुरेलले सरकार निजी साझेदारीमा फोहोर व्यवस्थापन गर्ने योजना बनाइसकेकाले आवश्यक कानुनहरू बनाउन अपरिहार्य रहेको बताए । उनले सरकारले निजी क्षेत्रसँग सम्झौता गर्दा फोहोरमैला सङ्कलन,प्रशोधन,उत्पादन गर्ने तीन महत्त्वपूर्ण पाटोलाई हेरेर गर्न सुझाव दिए । विज्ञ गजुरेलले सरकारले मापदण्ड तोकेर सम्झौता गर्ने र त्यहीअनुसार निजी क्षेत्रले काम गर्नुपर्नेमा जोड दिए ।

उनले फोहोर व्यवस्थापनको अनुगमन राज्यले गर्ने बताए । उनले काठमाडौं उपत्यकाको हकमा सबै नगरपालिका सम्मिलित अनुगमन समिति बनाउनु जरुरी हुने औंल्याए । निजी क्षेत्रलाई दिँदा सम्झौतामा संघीय सरकारले र स्थानीय सरकारले हेर्ने क्षेत्र स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे । उनले ल्याण्डफिल्ड साइट,सडक पूर्वाधार संघीय सरकारले र ट्रान्सफरस्टेसन व्यवस्थापन,राजश्व बाँडफाँट स्पष्ट पनि हुनुपर्ने बताए । 

बिजुली तथा कम्पोस्ट मल उत्पादनको सम्भावना

निजी क्षेत्रलाई फोहोर व्यवस्थापनमा सहभागिता जनाउँदा फोहोरबाट अन्य बिजुली तथा कम्पोस्ट मल उत्पादन गर्न सक्ने सम्भावना प्रबल रहेको छ । निजी क्षेत्रले फोहोर संलग्न गर्दा नै कुहिने नकुहिने तथा अन्य किसिमका फोहोरहरू मोहरको रूपमा परिमार्जन गर्न सक्ने सम्भावना रहेको छ । विश्वका धेरै मुलुकहरूको उदाहरणले पनि त्यो सम्भव रहेको देखाएको छ ।

फोहोर व्यवस्थापनको लागि विश्वका अन्य मुलुकहरूमा प्रत्येक घरधनीका लागि फोहोरमैलाबापत मासिक रूपमा लिने शुल्क कम भए पनि नेपालमा धेरै रहेको छ । त्यसले पनि फोहोर व्यवस्थापन र अन्य फोहोरबाट मोहर निकाल्न सहज हुने अवस्था छ । सरकारले निजी साझेदारीमा काम गर्ने योजना बनाउँदा नै फोहोरमैलाबापत घरधनीबाट मासिक २ सय २९ रुपैयाँ शुल्क तोकिएको थियो । निजी कम्पनीले फोहरमैला व्यवस्थापनका लागि छुट्टै आधुनिक डोम बनाएर फोहोरमैलाबाट बिजुली तथा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ ।

वातावरण विज्ञ सापकोटाले निजी क्षेत्रको लगानी सुरक्षित गर्नेको लागि भए पनि फोहोरबाट मोहरमा रूपान्तरण गर्न आवश्यक रहेको बताइन् । उनले फोहोर संलग्नको अहिलेको प्रविधिलाई परिमार्जन गरी फोहोरको व्यापार गर्न सक्ने सम्भावना धेरै रहेको जानकारी दिइन्  ।  

  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार ११:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया