माओवादी केन्द्रको कार्य विभाजनमा जनार्दन शर्माको असहमति

नेकपा (माओवादी केन्द्र) ले गरेको कार्य विभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरुको कार्य विभाजन गरेको थियो । 

सो बैठकमा उपमहासचिव शर्माले कार्य विभाजनप्रति आफ्नो असहमति राखेका हुन् । बैठकपछि सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै उनले पार्टीको निर्णयमा आफूले असहमति दर्ज गरेको बताए । उनले कार्य विभाजन पार्टी निर्माण गर्ने उद्देश्यसहित नभएको बताए ।

उनले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहीन बनाइएकोमा असहमति रहेको बताए । त्यस्तै सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रूपमा नटुंग्याएकोप्रतिपनि आफ्नो असहमति रहेको उनले उल्लेख गरे । 

उनले भने, ‘मैले आफ्नो तर्फबाट निर्णयहरूमा केही असहमतिहरू दर्ज गरेको छु । विशेष गरी कार्य विभाजन जसरी गरियो, त्यो कार्य विभाजन सही भएन । पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्य विभाजन गरियो । विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने म लगायतलाई जिम्मेवारीविहीन बनाइएको अवस्थालाई र सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएका लगायतका मुद्दाहरू, त्यहाँको दलसँग सम्बन्धित विवादलाई टुङ्ग्याउने कुरामा सन्तुलित नभएको, न्यायपूर्ण नभएको भनेर मैले आफ्नो असहमति राखेको कुरा म जानकारी गराउन चाहन्छु ।’

उनले आफ्नो असहमतिका बुँदाहरू स्थायी कमिटी सदस्यहरूलाई बाँडिदिएको बताए । उनले आफ्नो असहमतिलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा असहमति राख्न पाइन्छ भनेर सकारात्मक रूपमा लिएको पनि बताए ।  





  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १२:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया