विदेशमा ज्यान गुमाउनेको परिवार र अंगभंग भएका नेपाली कामदारलाई राज्यले के दिन्छ ?

मुलुकभित्र सीमित रोजगारका अवसर, श्रमको उचित मूल्याङ्कनको अभाव र गरिबीका कारण वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ । पछिल्लो समय बाध्यतासँगै रहरले विदेश जानेहरूको सङ्ख्यामा समेत कमी छैन । तर नेपाली युवाहरू जुन सपना बोकेर वैदेशिक रोजगारीमा पुग्छन्, सबैले भने आफ्ना सपना पूरा गर्न पाउँदैनन्, न त सकुशल स्वदेश फिर्ता हुन्छन् ।

परदेशमा काम गर्दा गर्दै सयौँले आफ्नो ज्यान गुमाइरहेका छन् भने घाइते र ‘मेडिकल्ली अनफिट’ भएर फर्किनेहरूको सङ्ख्या हजारौं छ । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार नेपालमा वैदेशिक रोजगार ऐन २०६४ आएपछि औपचारिक रूपमा वैदेशिक रोजगार खुला भयो । सोही ऐनबमोजिम हाल विश्वका एक सय १० देशमा कामदार पठाउन सक्ने कानुनी प्रबन्ध छ । तर, विदेशको बसाइ र रोजगारी सबैका लागि फलदायी छैन ।

बोर्डका अनुसार अहिलेसम्म श्रम स्वीकृति लिएर विदेश गएकामध्ये ८ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । अहिले पनि दैनिक जसो ३/४ वटा शव त्रिभुवन विमानस्थलमा ओर्लिरहेका बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए । ‘चालू आर्थिक वर्षमा मात्रै १९२ जनाको शव नेपाल ल्याइएको छ । अन्य मुलुकभन्दा खाडी मुलुकमा श्रमको लागि जानेको सङ्ख्या धेरै छ । त्यस कारण त्यहीबाट नेपालीहरूको शव धेरै आइरहेको छ,’ उनले भने ।  

बोर्डका अनुसार खाडी मुलुकहरूमध्ये पनि मलेसियामा धेरै नेपालीहरू रोजगारीका लागि जाने र मृत्यु हुने गरेको तथ्याङ्क छ । यसपछि साउदी अरेबिया र कतारमा नेपाली कामदारको मृत्युदर उच्च छ । 

तथ्याङ्कअनुसार पछिल्लो डेढ दशकमा ५० लाखभन्दा धेरै नेपालीहरू रोजगारीका लागि विदेशिएका छन् । विश्वका १७० भन्दा धेरै देशमा नेपालीहरू पुगेका छन् । तर त्यसरी जानेमध्ये श्रम स्वीकृति लिएर जानेहरूका लागि बोर्डले शव नेपाल ल्याउन सहयोग, समन्वय तथा परिवारलाई क्षतिपूर्ति दिने गरेको छ । 

बोर्डका प्रवक्ता ढकालका अनुसार कानुनबमोजिम वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु भएमा परिवारलाई दिइने आर्थिक सहायता सात लाख रुपैयाँसम्म र कामदार अंगभंग भएको अवस्थामा उपचार खर्च सात लाख रुपैयाँसम्म दिने व्यवस्था रहेको छ । आर्थिक सहायता तथा बीमा रकम पाउनेमा नजिकको हकवालाहरूको श्रेणी बनाइएको छ ।



मृतक कामदारका बालबच्चाहरूलाई छात्रवृत्तिस्वरूप आठ कक्षासम्म पढ्नका लागि वार्षिक १२ हजार र ९ देखि १२ कक्षासम्म पढ्नेलाई वार्षिक १६ हजार दिने व्यवस्था छ । ‘शवलाई उसको घरसम्म पुर्‍याउने र उनीहरूको परिवारलाई पनि आर्थिक सहायता प्रदान गर्ने गरिन्छ । तर श्रम स्वीकृति लिएर गएका मानिसलाई मात्रै यस्तो खालको क्षतिपूर्ति दिन मिल्ने कानुनी प्रबन्ध छ,’ उनले भने । 



त्यस्तै, विदेशमा काम गर्दा गर्दै अंगभंग भएको र नेपालमा आएर उपचार गराइ रहेको श्रमिकले सात लाखसम्मको उपचार खर्च सहयोग पाउँछन् । उनका परिवारलाई गम्भीर रोग लाग्यो भने पनि ५० हजार रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने गरिएको प्रवक्ता ढकालले बताए । 

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएपछि मलेसियामा तीन वर्ष र खाडीका ६ देशहरू (यूएई, कतार, साउदी अरब, कुवेत, ओमान र बहराइन) मा दुई वर्षको कार्यविधि छ । आर्थिक सहायता पाउनका लागि वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिने बेलामा कामदारले कल्याणकारी कोषमा रकम बुझाउनुपर्छ । 

बीमाको प्रिमियम रकम तीन वर्षसम्मको श्रम अवधिका लागि एक हजार पाँच सय र तीन वर्ष माथिको श्रम अवधिका लागि दुई हजार पाँच सय तोकिएपछि कामदारको वैदेशिक रोजगार जीवन बीमा वृद्धि गरी १५ लाख रुपैयाँ पुर्‍याइएको छ । 

जम्मा भएको रकम कामदारकै भएको हुनाले उनीहरूलाई आवश्यक परेको समयमा बोर्डले उपलब्ध गराउने गरेको छ । हालको मितिसम्म १२ हजार ९ सय ९७ करिब १३ हजार परिवारलाई यस्ता सेवाहरू प्रदान गरिएको छ । 

यसका साथै ७ सय ५३ वटै पालिकामा रोजगार सेवा केन्द्र र विभिन्न जिल्लामा एमआरसी आप्रवासी स्रोत केन्द्रहरूबाट बोर्डले दिएको सेवा सुविधा प्राप्त गर्न सक्ने र आवश्यक जानकारी लिन सक्ने पनि प्रवक्ता ढकालले जानकारी दिए । 

‘बोर्डले दिएको सेवा सुविधा प्राप्त गर्नका लागि ७ सय ५३ वटै पालिकामा रोजगार सेवा केन्द्र छ । त्यहाँबाट सूचना र सेवा लिन सकिन्छ । विभिन्न जिल्लामा एमआरसी वा आप्रवासी स्रोत केन्द्रहरू छन् । त्यहाँ निवेदन सङ्कलन भएर हामीसम्म आउँछ,’ उनले भने ।   

उनका अनुसार श्रम स्वीकृति लिएर गएको खण्डमा विदेशमा फौजदारी अभियोग लागेर केश लड्न पर्‍यो भने त्यसको खर्च पनि १५ लाख रुपैयाँ एक जना व्यक्तिलाई फौजदारी अभियोग स्वरूप सम्बन्धित देशको दूतावासको समन्वयमा उपलब्ध गराउने काम पनि बोर्डबाट हुने गरेको छ । 

यस्ता काम गर्दै गर्दा बोर्डका चुनौतीहरू पनि प्रशस्त छन् । त्यसमा सूचना समयमा नआउनु मुख्य रहेको छ । सही समयमा सही सूचना प्राप्त नहुँदा पनि गर्नुपर्ने कामहरू गर्न नसकेको उनको गुनासो छ । 

बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले मृतकका परिवारलाई दिइने सात लाखलाई बढाएर आठ अथवा १० पुर्‍याउने भन्नेबारे छलफल भए पनि निर्णय नभइसकेको बताए । 

उनले भने, ‘त्यो सात लाख रकमलाई बढाएर आठ अथवा १० पुर्‍याउने हो कि भन्ने खालको प्रस्तावहरू आएको छ, तर यसलाई पूर्णता दिइएको छैन । वैदेशिक रोजगार बोर्डको बारेमा पहिला त्यति जानकारी नभए पनि अहिले रोजगार संयोजकहरू हरेक पालिकामा रहने, स्थानीय पालिकाका प्रतिनिधि, मेयर, उपमेयर र प्रशासकीय अधिकृतहरूलाई सातै प्रदेशमा तालिम दिएको हुनाले सबैले यसबारे जानकारी पाएको छ ।’

श्रम स्वीकृति नलिई जाने कामदारहरूलाई बोर्डले समेट्दैन । उनले भने, ‘श्रम स्वीकृति नलिई जाने कामदारहरूलाई बोर्डले समेट्दैन । रोजगारीमा जानु पूर्व निश्चित रकम कल्याणकारी कोषमा जम्मा गरेर जानुपर्ने र समस्या परेको समयमा बोर्डले त्यही रकमलाई उनीहरूको परिवारलाई उपलब्ध गराउने हो । त्यही प्रक्रियाबाट अप्ठ्यारो परेको बेलामा सात लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने हो । त्यो पनि श्रम स्वीकृति समयमा नवीकरण भएको छैन भने हामीले २५ हजार रुपैयाँ काजकिरिया खर्च मात्रै उपलब्ध गराउने गरेका छौँ ।’ 

वैदेशिक रोजगारी पूर्ण सुरक्षित छैन । त्यस कारण सरकारले अहिले गरेको श्रम स्वीकृति र क्षतिपूर्तिको अभ्यासलाई सकारात्मकरूपमै लिन सकिन्छ । तर, मुलुकको अर्थतन्त्रमा बलियो हिस्सा राख्ने रेमिटेन्स भित्रिने वैदेशिक रोजगारीलाई थप सुरक्षित र व्यवस्थित बनाउन सरकारको थप पहल आवश्यक छ ।  

  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १३:३८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया