को बन्ला धितो पत्र बोर्डको अध्यक्ष, यस्ता छन् सर्त

नेपाल धितो पत्र बोर्डको नयाँ अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गरिने भएको छ । रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले पदपूर्तिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको छ। सिफारिस समितिले बुधबार सूचना जारी गर्दै रिक्त रहेको पदमा पदपूर्ति गर्न आवेदन दिन सूचना जारी गरेको हो । 

प्रथम पटक मिति २०८० फागुन १६ प्रकाशित सूचना भएको मितिबाट १५ दिनभित्र आवेदन  दिइ सक्नुपर्ने सूचनामा उल्लेख छ। आवेदन दिन सकिने अन्तिम मिति यही फागुन ३० गतेसम्म मात्रै रहेको छ। 

कति चाहिन्छ योग्यता ? 

धितो पत्र सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा (२) बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा पनि स्नातकोत्तर हासिल गरी, धितो पत्र बजार व्यवस्थापन, पुँजी विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन, वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको प्रतिष्ठित व्यक्ति हुनुपर्ने एउटा सर्त छ।

त्यसै गरी धितो पत्र सम्बन्धी ऐन २०६३ को दफा १० बमोजिम नेपालको नागरिक, उच्च नैतिक चरित्र, धितो पत्र बजार व्यवस्थापन, पुँजी विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन, वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको  पेसागत अनुभव हासिल गरेको हुनुपर्ने सर्त तोकिएको छ।  

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ ( संशोधन सहित) ले तोके बमोजिम तीन वर्ष उमेर पुरा भई ६५ वर्ष उमेर नाघेको भनिएको छ।



कसले पाउँदैनन् आवेदन गर्न ? 

भ्रष्टाचार सम्बन्धी शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, पुरातात्त्विक वस्तु वा वन्यजन्तु संरक्षण, सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाए पाएको व्यक्ति योग्य हुने छैनन्। 



त्यसै गरी, प्रचलित कानुन बमोजिमको सूचीमा समावेश भई त्यस्ता सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको र मानसिक सन्तुलन ठीक नभएको व्यक्ति पनि उम्मेदवार हुन पाउने छैनन्। 

आवश्यक पर्ने कागजात 

दुई प्रति पासपोर्ट साइजको फोटो, नेपाल धितो पत्र बोर्डको अध्यक्षका लागि आवेदन दिँदा व्यावसायिक कार्य योजना उल्लेख गरी दरखास्त गरेको हुनुपर्ने भनिएको छ। 

यस्तै बोर्डले जारी गरेका सूचनामा आवेदन दिँदा आवश्यक कागजात सँगै वाणिज्य बैंक सिंहदरबार शाखाको सक्कल रु ५ हजारको भौचर समेत साथमा हुनुपर्ने भनिएको छ । 

  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १३:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया