६ महिनामा ज्यान मुद्दाका चार सय अभियुक्त समातिए

यो वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दा लागेका चार सयभन्दा बढी अभियुक्त नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ ।

यो आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय ६ जना पक्राउ परेका नेपाल प्रहरीले जानकारी दिएको छ । तीमध्ये तीन सय ६० जना पुरुष र ४६ जना महिला छन् । ज्यान मुद्दा लागेकामा सातजना पुरुष र एक महिला विदेशी छन् । 

प्रहरीले नियन्त्रणमा लिएकामा काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२ जना, कोशी प्रदेशमा ८५ जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३२ जना, लुम्बिनी प्रदेशमा ७९ जना, कर्णाली प्रदेशमा ४९ जना र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले बताए।

यसरी पक्राउ परे अभियुक्त

सर्वस्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्यबहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंशसम्बन्धी झगडामा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा ०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो । 

यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँके नेपालगन्जका ५५ वर्षीय मोहमद हाफिम खाँ १४ वर्षपछि मंसिर २० गते पक्राउ परे । उनलाई ०६६ असार २२ गते जिल्ला अदालत बाँकेले १८ वर्ष कैद सजायको फैसला गरेको थियो । 



दवाडी र खाँ प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न तथा फरार व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।  तथ्यांक विश्लेषण गर्दा चालू आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्तहरू प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको देखिन्छ । अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने संख्या बढ्दै जाने प्रहरीको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ भन्छन्, ‘अनुसन्धान र खोजी कार्य निरन्तर रहने, चालू मुद्दाको अभियुक्त पक्राउ गर्न तथा अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी कार्यालयहरूले कार्ययोजना नै बनाई कार्यान्वयन गर्ने हुँदा चालू मुद्दाका फरार प्रतिवादी तथा पुराना मुद्दाका फरार प्रतिवादीहरूलाई समेत पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ । खुला सीमा र विश्वव्यापीकरणका कारण केही त्यस्ता व्यक्तिहरू फरार रहेको भए तापनि इन्टरपोलको सहयोगमा समेत केही फरार प्रतिवादीलाई पक्राउ गरी ल्याइएको छ । प्रहरीको सूचना संयन्त्रको प्रयोग, प्रविधिको प्रयोग र योजनासहितको निरन्तरताको प्रयासका कारण कर्तव्य ज्यानलगायत मुद्दाका प्रतिवादीमध्ये ठूलो प्रतिशतलाई पक्राउ गर्न सफल भएको छ भने यो पक्राउ दरलाई अधिकतम बनाउन प्रहरी सदैव क्रियाशील छ ।’



अपराध अनुसन्धानलाई थप व्यावसायिक तथा विशिष्टीकृत गर्न नेपाल प्रहरी कार्ययोजना, २०८० ले विभिन्न व्यवस्था गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले कार्ययोजना लागू गरेपछि अपराध अनुसन्धानको जनशक्ति व्यवस्थापन गर्न सहज भएको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।

यसरी हुन्छ अनुसन्धान

विधि विज्ञान प्रयोगशाला, पोलिग्राफ शाखा, डिजिटल फोरेन्सिक ल्याब, डाटा सेन्टर, सिसिटिभी, केनाइन आदिले प्रमाणमुखी अपराध अनुसन्धानमा सघाउ पुगेको प्रहरीको भनाइ छ । विशिष्टीकृत अपराध अनुसन्धान इकाइको क्षमता विकास र प्रदेशस्तरमा विस्तार भई अनुसन्धान क्षमता र दायरा फराकिलो भएको छ र समग्र अनुसन्धान क्षेत्रमा सकारात्मक प्रभाव पारी जुनसुकै अपराध गरी देश वा विदेशमा फरार व्यक्ति कानुनको पञ्जाबाट उम्किन नसकेको अनुसन्धानमा संलग्न अधिकृतहरूको भनाइ छ ।

प्रहरी प्रवक्ता ढकाल भन्छन्, ‘अपराध व्यक्ति, परिवार, समाज तथा देशको विकासका लागि बाधक हुन्छ । त्यस्ता अपराधको सफल अनुसन्धान गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ । अपराध न्यूनीकरण गर्न प्रहरीका हरेक युनिटको कुशल परिचालन गरिएको छ ।  युनिटले चौबिसै घण्टा गस्ती, पेट्रोलिङ गर्नुको साथै आवश्यकताअनुसार सचेतना कार्यक्रम गरिरहेका छन् । योजना र नीतिहरूको विश्लेषण र तर्जुमा गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अन्य निकायहरूसँग सहकार्य गरिएको छ । कुनै अपराधी नछुटोस् र कुनै निर्दोष व्यक्तिले सजाय नपाओस् भन्नेमा नेपाल प्रहरी सचेत भएर काम गरिरहेको छ ।’  

ढकालका अनुसार, प्रविधिको उच्चतम प्रयोगले अपराध अनुसन्धान एवं नियन्त्रणमा अहम भूमिका निभाएको छ । वस्तुनिष्ठ तथा प्रमाणमुखी सबुत संकलनमा नेपाल प्रहरीले साधन स्रोत व्यवस्थापन तथा दक्ष जनशक्ति उत्पादनलाई जोड दिएको छ । 

  • प्रकाशित मिति : फागुन १६, २०८० बुधबार १८:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया