जो सव वेमा ‘ज्ञान’ बेचिरहेका छन्

यो सहरमा के कुरा कहाँ बेच्ने भन्ने कुनै निश्चित मापदण्ड र दायरा छैन । चोकचोकमा नयाँ नयाँ मदिरा भण्डारहरु जतिसुकै बेला खुल्न सक्छन्, ज्ञानका भण्डार बरु खासै नभेटिएलान् !

‘यहाँ म बसेर ज्ञान बेचिरहेको छु, पढ्न रुचाउनेहरुको ज्ञानको दायरा फराकिलो बनाएको छु,’ नेपालको एक मात्र सव वे, रत्नपार्कमा रवी सुनारले भने । 

रवि सुनारको कथा खासमा त्यस्तो असजिलो छैन, उनको जीवन बाङ्गोटिङ्गो धर्सोमा चलेको छैन । उनी त बाबुले सुरु गरिदिएको व्यवसायको बिँडो धानिरहिका छन्, पुस्तक बेचेर ।

खासमा रविलाई यो कुनै व्यवसाय हो भन्ने नै लाग्दैन । उनका लागि त यो जीवन धान्ने मेसो हो । समयले त्यस्तो जीवन धान्ने मेसोलाई बेलाबखत परिवर्तन गरिदिन्छ । 

त्यही जीवन धान्ने मेसो मिलाउन रविका बाबुआमा काभ्रेबाट काठमाडौं ‘झरेका’ थिए । ‘म त त्यति बेला ४÷५ वर्षको मात्र थिएँ,’ रविले मुसुक्क हाँस्दै भने, ‘यहाँ पुस्तक बेच्न बसेको नै दस वर्ष भइसक्यो ।’

तर, रविले सुरु गरेका होइनन् यो पसल । उनका बाबुले १८ वर्षअघि नै यो पसल सुरु गरेका थिए, काभ्रेबाट झरेको केही वर्षपछि । 



बाबुले यो आफ्नो पुख्र्यौली पेसा भएकाले छानेका थिएनन् । पुख्र्यौली पेसाबारे उनलाई चासो हुँदो हो त उनी सुन पसलमा पुग्थे होलान्, कालिगढ हुन खोज्थे होलान् । तर, त्यति बेला उनीसँग लगानी गर्न पैसो थिएन । अनि रविका बाबुले सुरु गरे, पत्रिका बेच्न । 

त्यही ‘चार पाने’ पत्रिका बेचेर सुरु भएको व्यवसायले विस्तारै फड्को मार्दै गयो र अहिले आइपुगेको छ सव वेमा ।



‘पहिले यत्तिकै बाबासँग यहाँ आएँ,’ केहीअघि आफ्नो जीवनको पोको फुकाए रविले, भने, ‘त्यसपछि त पढाइ पनि छोडेर यतै लागियो ।’ रवि अहिले पुस्तक पसलमा खालीको समयमा पढ्छन् । त्यसैले उनी त्यहाँ आउने ‘ग्राहक’लाई कुन पुस्तकमा के छ भनेर सुझाउन पनि सक्छन् । तर, औपचारिक शिक्षा चाहिँ रविले छोडेको निकै भयो । 

‘एसएलसी पछि पढ्न सकिनँ,’ रविले भने, ‘आर्थिक अवस्था कमजोर हुँदा पढ्न सकिनँ, तर यहाँ पुस्तक चाहिँ पढ्न छोड्दिनँ ।’

रवि गफिँदै थिए । उनका एक ग्राहक आइपुगे । त्यसपछि रविले त्यहाँ भएका पुस्तक देखाउँदै ती पुस्तकमा भएका कुरा अथ्र्याउन थाले ।

ती ग्राहक त्यहाँबाट कटेपछि रविलाई प्रश्न तेर्सियो– कुन ग्राहक कुन पुस्तक खोजिरहेको छ भन्ने कसरी थाहा पाउनु हुन्छ ? 

‘आँखाले, ग्राहकको आँखाले,’ रविले भने अनि चुप लागे । 

पुस्तक पढ्ने मान्छेको आँखाले के संकेत गरिरहेको छ भन्ने सायद कमैलाई थाहा हुन्छ, त्यसैले उनको यो जवाफले हामीमा झन् अन्योल बढायो । बुझेर हुनुपर्छ, रविले सविस्तार व्याख्या गर्न खोजे, ‘अब त पुस्तक पसलमा काम गरेको धेरै भयो, त्यसैले अलिअलि ग्राहकको मनोविज्ञान पनि बुझ्छु । अनि एउटा ग्राहकको आँखा जुन पुस्तकको कभरमा गएको अडिएको हुन्छ, उसलाई त्यस्तै पुस्तक मन पर्छ होला भन्ने अनुमान गर्न गाह्रो हुँदैन ।’

अब त रविलाई पुस्तक पढ्नुपर्छ भनेर कसैले भन्नु पर्दैन, कसैले पनि भन्दैन पनि । योबीचमा बरु उनले दर्जनौँ पुस्तक पढिसकेका छन्, अध्ययनमा आफ्नो रुचि पहिल्याइसकेका छन् । ‘यो त नसै भयो नि,’ यति भनेर गमक्क परे रवि ।

बेच्ने वाहनामा पढ्न पाउने भएकाले रविलाई सुख र सन्तोष यही पसलले दिएको छ । र, त उनीसँग छैन जीवनप्रति कुनै गुनासो ।

‘किन गुनासो गर्नु त नि ?’ रविले प्रश्न सोधे र उत्तर पनि एकै सासमा दिए, ‘पुस्तक बेचिरहेको छु, मानिसहरुमा ज्ञान बढिरहेको छ । आखिर मैले कुनै नराम्रो काम त गरेको छैन नि !’

यही बुझाइका कारण हुनुपर्छ रविलाई दैनिक पाँच हजारका पुस्तक बिक्दा पनि कुनै ठूलो उल्लास हुँदैन, १५ सयको मात्र व्यापार हुँदा पनि उनी आत्तिँदैनन् । 

फलस्वरुपः अहिलेसम्म उनले धेरै साथीभाइ र आफन्तको सुझावलाई लत्याएका छन् । ‘उनीहरु भन्छन्— विदेश जाउ,’ रवि फेरि हाँसे, ‘अब त कहाँ जानु ? पुस्तक बेचेर ज्ञान बाँड्ने धोको नै पूरा भएको छैन ।’

  • प्रकाशित मिति : चैत १९, २०७५ मंगलबार १६:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया