३२ वर्षपछि नेपाल बक्सिङ ओलम्पिकमा, छानिए चन्द्र र अञ्जली

इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अञ्जली तेलीले नेपालको तर्फ ओलम्पिकमा खेल्ने भएका हुन् । 

अञ्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् । टिम व्यवस्थापकमा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहेका छन् । 

मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताका लागि ४ सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्दैछ । यो प्रतियोगिताका लागि खेलाडीले दुई साता भारतमा पनि तयारी प्रशिक्षण पनि गरेका थिए ।

ओलम्पिकको बक्सिङमा नेपालले सहभागिता नजनाएको ३२ वर्ष भइसकेको छ । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५ औं संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।

नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले पाँच महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छनोट भइसकेको जनाएका छन् । इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छानिनेछन् । उपाध्यक्ष अवालेका अनुसार पदक प्राप्त गर्ने खेलाडीले पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् । 

इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एक छनोट प्रतियोगिता हुनेछ । त्यो प्रतियोगिता थाइल्याण्डको बैंककमा मे महिनामा हुने तालिका छ । 



राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीलाई सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बुधबार बिदाइ गरेका छन् ।
 
 



  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार ७:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया