बैंकरको मिलेमतोमा ऋण प्रवाह गरेर जग्गामा लगानी, सिआइबीले गर्दै छ पक्राउ र निगरानी

धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहितका १० जना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको नियन्त्रणमा छन् । 

प्रभु बैंकमा गाभिएको तत्कालीन सेन्चुरी बैंकको सिइओ रहँदा न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको भन्दै सिआइबीले उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

धितोभन्दा करिब एक अर्ब रुपैयाँ बढी रकम दिलाएको अनुसन्धानबाट खुलेपछि सिआइबीले न्यौपानेसहित १० जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ । 

तत्कालीन सेन्चुरी बैंकको सिइओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंलाई मिलेमतोमा ऋण दिलाएको आरोप छ । सेन्चुरी कमर्सियल बैंक गत वर्ष प्रभु बैंकमा गाभिएको थियो ।

देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका चौलागाईं अहिले कारागारमा छन् । उनीसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेन्चुरी बैंकको ऋण प्रवाहमा अनियमितता गरेको पाएको थियो ।

चौलागाईंसमेतको लगानी रहेका चार वटा कम्पनीमा सेन्चुरी बैंकले ऋण प्रवाह गरेको थियो । ती कम्पनी पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरी रहेका छन् ।



ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेन्चुरी बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो । धितो मूल्यांकनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी दिएको खेलेको छ ।

चौलागाईंले सहकारीका बचतकर्ताको दुई अर्ब बढी रकम ठगी गरेको पाइएको छ । चौलागाईंले बचतकर्ताले राखेको शतप्रतिशत रकम आफू र आफ्नो परिवारका सदस्यको नाममा जग्गा खरिदमा लगानी गरेको पाइएको हो । उनले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ । 



वीरगन्ज महानगरपालिका–५ घर भई हाल ललितपुर–१० कुपन्डोल बस्ने न्यौपानेसहित पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिमिरे, रमन श्रेष्ठ, दीपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत छन् । 

चल्तिका बैंकर नै पक्राउ परेपछि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघमा हलचल मच्चिएको छ । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, सेन्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तुल्सीराम गौतमलगायतलाई सिआइबीले पक्राउ गरेपछि संघले बुधबार बैठक नै बोलाए छलफल गरेको थियो । 

बैंठक पछि संघका प्रतिनिधिहरू सिआइबीका प्रमुख, गृहमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर समेतलाई भेट्न पुगेका छन् ।

  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १३:५०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया