नामिबियाविरुद्ध नेपाल तीन रनले विजयी, फाइनल सम्भावना जीवितै

त्रिकोणात्मक टी–२० सिरिजको आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले तीन रनको रोमाञ्चक जित निकालेको छ । जारी सिरिजमा नेपालको यो पहिलो जित हो । 

नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः नामिबियासँग २० रन तथा नेदरल्याण्ड्ससँग ४ रनको हार बेहोरेको थियो । यो जितपछि नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता पाहुना टिम नामिबिया भने तेस्रो स्थानमा खस्किएको छ । 

आफ्नो तेस्रो खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो । उसका लागि कप्तान जेजे स्मितले २६ बलमा ६ चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै, जान फ्राइलिन्स्कले ३७, जेपी कोएट्जेले २५, जेन ग्रीनले अविजित २३, रुबेन ट्रम्पलम्यानले ११ र माइकलभान लिङ्गेनले १० रन जोडे । 

नेपालका लागि करण केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले दुई/दुई तथा अविनाश बोहराले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो ।

नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले अर्धशतकीय पारी खेले । ३७ बलको सामना गरेका उनले चार छक्का र एक चौकाको सहयोगमा अविजित ५५ रन बनाए ।  

यस्तै, आरिफ शेखले ३१, गुलशन झाले २६, अनिल साहले २३, दीपेन्द्र सिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । नामिबियाका लागि बेन शिकोन्गोले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए ।



यो जितपछि नेपालको फाइनल सम्भावना जीवितै रहेको छ । नेपालले अब शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ । 



  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १५:१०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया