विष्णु पौडेलको दाबी : यही सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्छ
फाइल तस्बिर

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेता पौडेलले संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरू मिलेर सरकार बनाइनु स्वाभाविक भएको बताए ।

उनले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसदभित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे । यही फागुन २१ गते एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीबीचको सहमतिबाट सरकार पुनर्गठन भएको थियो । सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सहभागी भएको छ । 

नेता पौडेलले आफ्नो विगतको तीतो यात्रालाई समीक्षा गर्दै मुलुकको सुशासन, समृद्धि र सामाजिक न्यायका लागि नयाँ गठबन्धन आरम्भ गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिँदै यो यात्रा अविराम र अविचलितरूपमा अघि बढोस् भन्ने कामना गरे ।  

‘प्रधानमन्त्री दाहालबाट विगतको गठबन्धनका समस्यालाई खुलस्तरूपमा राखेर सहज र संविधानसम्मतरूपमा विकल्प खोज्ने काम भएको छ । यसलाई सबै दलले सहज र स्वाभाविकरूपमा लिनुपर्छ’, नेता पौडेलले भने, ‘अहिले प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहन्छ । यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्नेछ ।’   

आर्थिकमन्दीका कारण जनताका निराशा र असन्तुष्टिलाई सम्बोधन गर्दै प्रतिपक्षका जायज मागलाई सुनेर सरकारले आशावादी सिर्जना गर्ने काम गर्ने उनको भनाइ छ ।

विद्यमान संवैधानिक प्रबन्धअनुसार कुनै एक दलको बहुमत आउन कठिन अवस्था रहेको उल्लेख गर्दै जनताको विश्वास जित्दै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । 





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १४:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया