विष्णु पौडेलको आरोप ‍- प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्नसम्म चाहनु भएन

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले निःवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले  अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न नचाहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै पौडेलले निःवर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार गर्न नचाहेको आरोप लगाए । 

उनले अर्थमन्त्रीको रूपमा ११ महिना काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको पनि उल्लेख गरे । उनले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे । 

उनले अहिले पनि अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको टिप्पणी गरे । पौडेलले आर्थिक वर्षका २ क्वाटरमा आर्थिक वृद्धिदर सकारात्मक नहुनु भनेको अर्थतन्त्र मन्दीमा जानुभएको दाबी गरे । उनले अर्थतन्त्र मन्दीमा जानु भनेको अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा पुष्टि गर्ने जानकारी दिए । पूर्वअर्थमन्त्री पौडेलले निवर्तमान अर्थमन्त्रीले वास्तविक अर्थतन्त्रका आँकडालाई सच्याउँदै हिँडेको पनि आरोप लगाए । उनले मुलुकको अर्थतन्त्रको अवस्था आँकडा सच्याउने भन्दै पनि वर्तमान अवस्था सच्याउनु आवश्यक रहेको बताए । 

उनले लय बिगारेको अर्थतन्त्रलाई दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको समेत टिप्पणी गरे । उनले बैंकहरूमा तरलता सहज हुँदा पनि उद्योगी व्यवसायीहरूले उद्योगमा थप लगानी र नयाँ लगानी गर्न नसकेको बताए । उनले बजारमा माग,आपूर्ति,उत्पादन र रोजगारी सरकारले सिर्जना गर्न नसक्दा चौतर्फी रूपमा अर्थतन्त्र समस्यामा आएको बताए । 

पौडेलले अहिले निजी क्षेत्रले पुँजी परिचालनको लागि अनुकुल वातावरण नहुँदा बैंकहरूमा तरलता थुप्रिएर बसेको बताए । 

उनले मन्दीमा रहेको अर्थतन्त्रलाई वर्तमान सरकार अर्थमन्त्रीले तत्काल समाधान गर्ने गरी काम गर्न आवश्यक रहेको बताए । उनले निजी क्षेत्रलाई साथमा लिएर जायज मागलाई सम्बोधन गरी मनोबल उकास्न आवश्यक रहेको पनि बताए ।  





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १६:५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया