पम्फा भुसाल भन्छिन्- ‘बहुमत पुर्‍याउन विवादित मान्छेसँग गठबन्धन गर्नुपर्‍यो’

नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् । शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् ।

भुसालले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नु परेको बताइन् । उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन् ।

भुसालले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरूले बनाएका बताइन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् । 

‘मन्त्री फेरौँभन्दा नेताले मान्दैनन्, त्यसैले नयाँ गठबन्धन बन्यो । त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर, पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्‍याउनुपर्छ । यो बाध्यता त हुन्छ । तर, त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ,’ भुसालले भनिन्, ‘यसले एउटा राजनीतिमा राष्ट्रियरूपमा मात्रै होइन, अन्तर्राष्ट्रियरूपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरू बसेर गरिएको हो । तर, यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बन्यो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि यसले ल्याएको छ । तर, त्यो होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र, यो कुनै नयाँ सरकार होइन । पुनर्गठन हो ।’ 

उनले वर्तमान गठबन्धन विगतको भन्दा सजातीय भएको पनि बताइन् । उपाध्यक्ष भुसालले गठबन्धनमा वामपन्थीको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने दाबी पनि गरिन् । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरू समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पु¥याउनुपर्ने बताइन् ।  



उपाध्यक्ष भुसालले महिलाहरूले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान् बनाउँदै लानुपर्नेमा जोड दिइन् । 

संविधानले दिएका सबै अधिकारलाई कार्यान्वयन गर्न लाग्नुपर्ने भुसालको भनाइ छ । भुसालले महिलालाई पैत्तिक सम्पत्तिको मालिक बनाउने एजेन्डासहित अगाडि बढ्नुपर्ने बताइन् । 



महिलालाई आर्थिक अधिकार दिनुपर्ने कुरालाई पहिले आफ्नै पार्टीपंक्तिमा लागू गर्दै जानुपर्ने र देशव्यापीरूपमा अभियान सञ्चालन गर्नुपर्नेमा भुसालको जोड छ । 

  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १७:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया