सत्ता गठबन्धन बाहिरका दलसँग परामर्शपछि राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

सत्ता गठबन्धन परिवर्तन भएपछि प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा आफ्नो उम्मेदवार उठाउने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बिहान पदाधिकारीबीच यसबारेमा छलफल भएको हो । 

करिब दुई घण्टाको छलफलपछि वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरूसँग परामर्श गरेर उम्मेदवार टुंगो लगाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग परामर्श गरेपछि मात्र को उम्मेदवार हुने भन्ने विषय टुंगो लगाउने भनेर छलफलको बाटो खुला गरेको छ । राष्ट्रिय सभाको बैठक भोलि फागुन २७ गते आइतबार १ बजे बस्दै छ । २९ गते अध्यक्षको निर्वाचन हुने गरी यसअघि नै कार्यक्रम सार्वजनिक भइसकेको छ ।

यसअघिको गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष पदमा आफ्नो उम्मेदवार जित्ने अवस्था रहँदा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला उम्मेदवार बन्ने करिब निश्चित जस्तै मानिएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अचानक गठबन्धन परिवर्तन गरेपछि पुरानो तयारी भंग भएको थियो ।

पूर्व महामन्त्री सिटौलालाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउने सहमतिमा पुगेका प्रधानमन्त्री दाहाल र सभापति शेरबहादुर देउवाले वचन दिएपछि सिटौला कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य चुनिएर काठमाडौं फर्किएका थिए ।

शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सिटौलाप्रति सहानुभूति पनि प्रकट गर्दै आएका थिए । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १२:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया