राजेन्द्र महतोको टिप्पणी - नयाँ सत्ता समीकरणमा लुटतन्त्र र भ्रष्टाचार मात्र चल्नेछ

लोकतान्त्रिक समाजवादी पार्टी छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’को अभियान थालेका राजेन्द्र महतोले नयाँ बनेको गठबन्धन सरकारबाट जनताले केही पनि नपाउने टिप्पणी गरेका छन् । 

शनिबार उद्योग वाणिज्य संघ जनकपुरधाममा आयोजित राष्ट्रिय मुक्ति क्रान्तिको वृहत् संवादात्मक कार्यक्रममा सहभागी हुन जान लागेका महतोले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो टिप्पणी गरेका हुन् ।

नयाँ गठबन्धन सरकारले जनताको इच्छा आकांक्षा पूरा नगर्ने उल्लेख गर्दै उनले नयाँ बनेको सत्ता समीकरणको सरकार कुर्सीको हेराफेरी र भाग मिलाउनका लागि मात्रै भएको टिप्पणी गरे ।  उनले भने, ‘यो पालैपालो लुटतन्त्र मच्चाउनले कुर्सीको खेल मात्रै हो । यो वा पहिलो जुनसुकै गठबन्धन सरकार आए पनि जनताले केही पाउने होइनन् । उनीहरूबाट विकास हुने होइन । लुटतन्त्र र भ्रष्टाचार चल्ने मात्रै हो । त्यस कारण यो सत्ता समीकरणबाट बनेको सरकारबाट जनताले केही पाउँदैनन् ।’

मधेसवादी दलहरूमा एकताबद्ध हुन नसकेको र महतो आफैँ कहीँ टिक्न नसकेको सञ्चारकर्मीको जिज्ञासामा महतोले स्वार्थको लागि मधेसवादी दलहरू फुट्ने र जुट्ने प्रक्रिया चलिरहने बताए ।
मधेसवादी दलहरू एक्ला एक्लै लडेकाले अधिकार र पहिचानवादीहरूको आन्दोलन सफल हुन नसकेको बताएका उनले मधेसमा भएका सबै आन्दोलनको संयुक्त रूपमा राष्ट्रिय मुक्ति क्रान्तिलाई अघि सारेको र त्यसले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने जिकिर गरे । देश सबै नेपालीको बन्नै नसकेको बताएका उनले त्यो नै आजको समस्या भएको धारणा राखे । 

‘अधिकार, पहिचानको कुनै पनि आन्दोलन हामी एक्ला एक्लै लडेकाले सफल भएन । सम्पूर्ण अधिकार पहिचानवादीको लागि अब राष्ट्रिय मुक्ति क्रान्तिको नेतृत्वमा एकीकृत आन्दोलन गर्नुपर्छ ।  मधेस, थरुहट आन्दोलन, जनजाति आन्दोलनलगायतका सबै आन्दोलनको संयुक्त रूप भनेको राष्ट्रिय मुक्ति क्रान्ति हो र यसले देशमा बहुल राष्ट्रिय राज्य स्थापना गर्छ’, महतोले भने ।  





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १४:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया