शिवरात्रिका दिन गलेश्वरमा चार लाख रुपैयाँ भेटी सङ्कलन


म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन चार लाख रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी शनिबार बिहान गनिएको हो । यस वर्षको महाशिवरात्रि पर्वमा चार लाख २९ हजार तीन सय ८८ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले जानकारी दिइन् ।

पश्चिमको पशुपतिनाथका रूपमा परिचित गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौँलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताइन् ।

महाशिवरात्रि पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । खेतीबाली लगाउने किसान फुर्सद, मौसम अनुकूल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपालि भक्तजन आगमन बढेको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।

जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा महाशिवरात्रि मेलालाई व्यवस्थित गरिएको थियो । साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा भेटी गन्ने गरिएको छ ।

गत साउनदेखि यता ३७ लाख ९८ हजार सात सय पाँच रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १४:५२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया