मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरामा सत्यता छैन : ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्ने कुरा सही नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन् । 

मोतीदेवी स्मृति केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनी प्रश्न समेत गरे । उनले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेस गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरे । ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा रहेको बताए ।

‘एउटा अलि चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन । त्यस्तो हल्ला चल्ने गरेको छ । तर, अवस्थामा परिवर्तन आएको छ,’ उनले भने,  ‘अलि वर्षअघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरु उहाँहरु मन्त्री भइसक्नुभएको छ । माननीय भइसक्नुभएको छ । नेता भइसक्नुभएको छ । पहिले पनि त्यस्तै थियो र समय ?’ 

व्यवस्था परिवर्तन भयो, अरुथोक केही भएन ? भनेर प्रश्न गर्दै उनले थपे, ‘आज ४० प्रतिशत महिलाहरु सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् विभिन्न ठाउँहरुमा । यसमा अनेमसंघको अग्रणी भूमिका छ । महिला दिदीबहिनीहरुको भूमिका छ । ३३ प्रतिशत सरकारी क्षेत्रमा व्यापक कार्यान्वयन गरिएको छ । संसदमा कार्यान्वयन गरिएको छ ।’

अध्यक्ष ओलीले महिलाहरुलाई सशक्तिकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताए । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार १७:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया