मिथिला माध्यमिक परिक्रमा आजदेखि, हजारौं श्रद्धालुको सहभागिता

१५ दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरु भएको छ । नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनको सहभागिता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी १ सय ३३ किलोमिटर पैदलयात्रा गरिनेछ ।  

सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । 

कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए । आज सबै तीर्थालु हनुमाँगढमा जम्मा हुनेछन् ।   

फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीले विश्राम गर्ने जनाइएको छ । उनका अनुसार फागुन ३० गते  ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्नेछन् ।  

त्यसैगरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताउनुभयो । चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए । 

चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने चैत ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन् । चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ ।



परिक्रममा सहभागी श्रद्धालु परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा सहभागी भएका छन् । उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन् ।

अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन् पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । रासस



  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार ७:५४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया