माधव नेपाललाई १५ महिने उधाराे प्रधानमन्त्री, राष्ट्रिय सभा उपाध्यक्षमा के भयो सहमति ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगकाे गठबन्धन ताेडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि उनलाई रास्वपा र जसपाले पनि समर्थन गरे । सुरुमा फागुन २१ गते चार दल ८ बुँदे सहमति भयाे । साे गठबन्धनमा एकीकृत समाजवादी पनि मिसिएपछि ८ बुँदे सहमति परिमार्जन भएर सातबुँदेमा झर्याे ।    

सत्ता साझेदार पाँच दलबीच मंगलबार बिहान भएकाे सातबुँदे सहमतिमा यसअघि चार दलबीच भएकाे सहमतिकाे एउटा बुँदा हट्याे । हटेकाे बुँदा हाे– रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेद्वारलाई समर्थन गर्ने । 

अहिले साे बुँदा हटाएर पाँच दलबीच भएकाे सहमतिमा 'राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वारलाई समर्थन गर्ने' मात्रै उल्लेख छ । पछिल्लाे सहमतिअनुसार एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा दाबी छाडेकाे बुझ्न सकिन्छ । 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका नेता राजेन्द्र पाण्डेले उपाध्यक्ष पदबारे पछिल्लो सहमतिमा केही नबोलिएकाले शीर्ष नेताबीच राष्ट्रिय सभाको उपाध्यक्ष पद एकीकृत समाजवादीको भागमा परेको भनेर बुझ्न सकिने बताए ।



सुरुमा चार दलबीच सहमति हुँदा एकीकृत समाजवादी अनभिज्ञ थियाे । तर, मन्त्रालय बाँडफाँटमा जसपाले चित्त नबुझाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा माधव नेपालकाे भूमिका अपेक्षा गरे । 

सुरुमा नेपाललाई भेट्न प्रचण्ड एक्लै उनकाे निवास काेटेश्वर गए । एमाले अध्यक्ष ओलीले पनि लामाे समयपछिकाे माैनता ताेड्दै नेपाललाई टेलिफाेन गरेर प्रधानमन्त्रीकाे प्रस्तावमा आफ्नो पनि समर्थन रहेको बताए । माधव नेपालले त्यतिमै चित्त नबुझाएपछि भोलिपल्ट ओली र दाहाल दुवैजना नेपाललाई भेट्न उनकै निवास पुगे । त्यसपछि गठबन्धनमा सामेल हुने नेपाल तयार त भए तर लिखित सहमति हुनुपर्ने अडान राखिरहे । 



मंगलबार राष्ट्रि सभा अध्यक्षको निर्वाचनअघि नै आफ्नो माग लिखित रूपमा सम्बोधन हुनुपर्ने उनले माग राखेका थिए । नेपालको मागको मुख्य तीन माग थिए– संसदको बाँकी रहेको चारवर्षे कार्यकालमा आफूलाई पनि प्रधानमन्त्री चाहिने, पार्टीलाई राष्ट्रिय सभामा उपाध्यक्ष दिनुपर्ने र कुनै प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने ।    

साेहीबमाेजिम मंगलबार बिहान पाँच दलबीच सातबुँदे सहमति भयाे । साे सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष  पुष्पकमल दाहाल ’प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।

फेरिएको सत्ता समीकरण जाेगाउन नेपाललाई मनाउनैपर्ने बाध्यतामा रहेका एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले नेता नेपाललाई प्रधानमन्त्री बनाउन मौखिक रूपमा ग्रिन सिग्नल दिएकाे बुझिएकाे छ । मंगलबार बिहान बालुवाटारमा भएको तीन नेताबीचकाे छलफलमा प्रचण्ड र ओलीले नेपाललाई प्रधानमन्त्री बनाउन ‘ग्रिन सिग्नल’ दिएकाे एकीकृत समाजवादी स्राेतले दाबी गरेकाे छ । 

सबै कुरा लिखित सहमति गर्नु राम्रो नहुने भएकाले पनि लिखित सार्वजनिक नगरिएको हो । प्रचण्ड, ओली र नेपालबीच बाँकी अवधिमा १५ महिनाका दरले आलोपालो प्रधानमन्त्री बन्नेगरी सहमति जुटेको एक पदाधिकारीले दाबी गरे । 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि नेपाललाई १५ महिना प्रधानमन्त्री दिन प्रचण्ड र ओली तयार भएको संकेत गरेका छन् । गठबन्धन जोगाउन र सरकारलाई सहज ढंगले अघि बढाउन मिल्नेसम्मका सहमतिमा एमालेले विमति नजनाउने उनकाे भनाइ छ । 

साेही सहमतिपछि राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र प्रधानमन्त्रीलाई मंगलबार विश्वासको मत दिन अध्यक्ष नेपालले आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए । 

  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार २१:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया