नयाँ सत्ता समीकरणपछि के होला सुन तस्करी अनुसन्धान ?
अग्निपरीक्षामा गृहमन्त्री लामिछाने

कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नेकपा एमालेसँग मिलेर सरकार पुनर्गठन भएसँगै ‘साठी किलो’ सुन तस्करी प्रकरणको अनुसन्धन  सेलाउने हो कि भन्ने आशंका उब्जिन थालेको छ । उक्त सुन तस्करी घटनाको ६ महिनादेखि एउटा ‘उच्चस्तरीय छानबिन आयोग’ले छानबिन तथा अध्ययन गरिरहेको छ । गत ३ साउनमा भन्सार जाँचपास भएर सिनामंगल पुर्याइएको अवस्थामा ६० किलोभन्दा बढी सुन बरामद भएको थियो । जसले देशै तरंगित बनाएको थियो । किनकि नेपालमा पञ्चायतकालदेखि नै सुन तस्करीको इतिहास भए पनि यो नै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको घटना थियो । 

ठूलो परिमाणमा विमानस्थलबाट भन्सार जाँचपास भएर सुन बाहिरिएपछि संसदको काम कारबाही नै प्रभावित भएको थियो । सुन तस्करी घटनाको छानबिन तथा अध्ययन गर्न भन्दै सडकदेखि सदन तताउनेमा नेकपा एमाले थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेकै अवस्थामा प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै साउन १० देखि करिब २५ दिन संसद् बैठक अवरुद्ध गरेको थियो । बारम्बार संसद बैठक अवरुद्ध भएसँगै भदौ ५ गते एक महिनाभित्र आयोग गठन गर्ने राष्ट्रिय मान्यताप्राप्त दलबीच सहमति भयो । तर, पछि उक्त सहमति कार्यान्वयन नहुने संकेत देखापरेपछि एमाले फेरि संसद् अवरोध गर्ने संकेत देखायो ।

अन्ततः सहमतिभन्दा नौ दिन ढिला गरेर असोज १४ मा मन्त्रिपरिषद्को बैठकले चार सदस्यीय जाँचबुझ आयोग गठन गर्यो । तत्कालीन सरकारले नचाहँदानचाहँदै एमालेको दबाबमा आयोग गठन भएको थियो । तर, अहिले एमाले नै सरकारमा सहभागी भएसँगै सुन तस्करी प्रकरणको अनुसन्धन सेलाउने हो कि भन्ने आशंका उब्जिएको हो । पछिल्लो समय सुन तस्करी घटनामा नेकपा माओवादी पार्टीका नेता तथा नेताका छोराहरूको नाम जोडिँदै आएको छ । 

को–को मुछएिका छन् सुन तस्करी प्रकरणमा ? 

विभिन्न चरणमा भएका सुन तस्करी घटनामा नेकपा माओवादी केन्द्रका नेताहरूको तस्करहरूसँग उठबस देखिन्छ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव तथा वर्तमान अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायत उनीहरूका छोरा, आफन्त, पार्टी कार्यकर्ता सुन तस्करी घटनामा मुछिएका छन् । 

पूर्वउपराष्ट्रपतिका दुवै छोरा सुन तस्करीमा



पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरू सुन तस्करी घटनामा संलग्न भएको तथ्यहरू सार्वजनिक भएका छन् । पूर्वउपराष्ट्रपति पुनका छोरा तथा तथा माओवादीनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुन तस्करी तथा सहकारी ठगीमा मुछिएका थिए । उनलाई प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा बयान लिई कागज गराएर छाडेको थियो । दीपेश अवैध उत्खनन, सहकारी ठगी र सुन तस्करीमा सहभागी भएको भनेर तथ्यसहित उजुरी परे पनि सरकारले उनलाई उन्मुक्ति दिँदै आएको छ । 

फेरी अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य सार्वजनिक भएको छ । सुन तस्करी घटनामै पूर्वसभामुखका छोरा राहुल पक्राउ परेपछि जितेन्द्र हाल फरार छन् । उनीहरूले बुबा तत्कालीन उपराष्ट्रपति पुनकै संरक्षणमा पटक–पटक सुन तस्करी गरेको प्रहरी स्रोतको भनाइ छ । माओवादी नेता पुन साढे सात वर्ष उपराष्ट्रपति बनेका थिए । उनी ०७२ कात्तिक १४ देखि ०७४ चैत ४ सम्म पहिलो कार्यकाल र ०७४ चैत ५ देखि ०७९ चैत ६ सम्म दोस्रो कार्यकाल उपराष्ट्रपति बनेका हुन् । उपराष्ट्रपति बन्दा उनले छोराको सुन तस्करीका लागि सघाउन चिनियाँ व्यापारीलाई भेटेको पनि बताइएको छ । 



अर्थमन्त्रीको परिवारैका सुन तस्करसँग उठबस 

माओवादी केन्द्रका उपमहासचिव तथा वर्तमान अर्थमन्त्री वर्षमान पुनको परिवार पनि चिनियाँ सुन तस्करहरूसँग उठबस रहेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो र नौ किलो सुन तस्करीको घटनाको अनुसन्धानको दौरानमा बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानमा छिरिङको सम्पर्क उपमहासचिव तथा अर्थमन्त्री पुनसँग पनि देखिएको सिआइबीको भनाइ छ । उनीहरूसँग किन छिरिङले सम्पर्क गरे भन्नेबारे केही नखुले पनि सम्पर्क भएको सिआइबीको अनुसन्धानबाट खुलेको छ । 

यस्तै, छिरिङले ठमेलमा सञ्चालन गर्दै आएको होटल भियनामा अर्थमन्त्री पुनका भाइ प्रनिशसमेत साझेदार छन् । छिरिङले माओवादी नेताहरूसँगको कनेक्सनकै लागि रोल्पाकी अमला रोकामगरसँग विवाह गरेको बुझ्न सकिन्छ । अमला माओवादी कार्यकर्ता हुन् । अर्थमन्त्री पुनको सुन तस्करसँगको उठबसबारे खबर सार्वजनिक भएपछि उनले गाउँले बहिनी विवाह गरेकाले दावासँग सामान्य चिनजान मात्रै रहेको दाबी गर्दै आएका छन् । तर, प्रमाणले भने सम्बन्धको आयाम त्यतिमा मात्रै सीमित नरहेको खुलाएको छ । दावासँग वर्षमान र उनकी पत्नी एवं पूव सभामुख ओनसरी घर्तीको लामो समयदेखि साइनो रहेको देखिन्छ । 

पूर्वसभामुख महराका बाबु–छोरा पनि सुन तस्करीमा

विद्युतीय चुरोट (भेप)मा लुकाएर भित्र्याइएको तस्करीको नौ किलो सुन प्रकरणमा सत्तारुढ दल माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिँदै आएको छ । २७ असार ०८० मा अदालतमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा मुद्दा दर्ता हुन्जेलसम्म यस प्रकरणमा महरा बाबुछोराको नाम बाहिर आएको थिएन । प्रहरीले जिल्ला अदालत, काठमाडौंमा अभियोगपत्र दर्ता गरेपछि उनीहरू संलग्न रहेको खबर सार्वजनिक भएको हो ।

हाल नौ किलो सुन तस्करी प्रकरणमा महराका छोरा राहुल पुर्पक्षका लागि जेल चलान भएका छन् । सुन तस्करीमा महरा संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउने आदेश दिएको हो । सुन तस्करीको आरोपमा राहुल १३ भदौमा काठमाडौंबाट पक्राउ परेका थिए । १० पुसमा फ्लाई दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको सात सय ३० वटा भेपभित्र नौ किलो सुन बरामद भएको थियो । यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वसभामुख कृष्णबहादुर महराको बयान पनि लिएको थियो । तर, सिआइबीले पूर्वसभामुख महरालाई भने प्रतिवादी नबनाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । यस्तै, सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पनि उपाध्यक्ष महरासँग बयान लिएको थियो । 

अग्निपरीक्षामा गृहमन्त्री

सुन तस्करी घटनाको छानबिन तथा अध्ययन गर्न पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन भएको थियो । तीन महिनामा प्रतिवेदन बुझाउने गरी कार्यादेश तोकिएको भए पनि ६ महिना हुन लाग्दा समेत आयोगले अनुसन्धान सकेको छैन । आयोगको म्याद पटक–पटक थपिँदै आएको छ । जसले गर्दा सुन प्रकरण सेलाउँदै पनि गएको छ । दोस्रोपटक माओवादी एमालेसहितको गठबन्धनबाट रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन् । उनले सत्तामा रहेका नेता, नेताका छोरा, आफन्त, पार्टी कार्यकर्तालाई कानुनी कारबाहीमा ल्याउन सक्छन् कि सक्दैनन्, यो भने प्रतीक्षाको विषय बनेको छ ।

तर, उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले आइतबार सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा जितेन्द्रमाथि छानबिन गर्न नेपाल प्रहरीको नेतृत्वलाई निर्देशन दिएका हुन् । प्रहरी प्रधान कार्यालय नक्साल पुगेका गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई निर्देशन दिँदै पुनमाथि थप छानबिन अघि बढाउन निर्देशन दिएका हुन् । सुन तस्करी प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ । 

पहिला प्रश्न गर्थ्याैं, अब कार्यान्वयन गर्छौं : एमाले 

अब एमाले सुन तस्करी घटनाको विषयमा आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वय गर्नेतर्फ लाग्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला बताउँछन् । प्रमुख प्रतिपक्षी दलमा हुँदा आफूहरूले गर्दा नै आयोग गठन भएको भन्दै उनले आयोगले तयार पार्ने प्रतिवेदन कार्यान्वय गर्नेतर्फ लाग्ने बताए । ‘छानबिन आयोगले प्रतिवेदन तयार पारिसकेको छैन,’ उनी भन्छन्, ‘आयोगले काम गरिरहेको छ । अब चाँडै प्रतिवेदन सार्वजनिक होला । उक्त रिपोर्टले दोषी देखाएका व्यक्तिहरूलाई कारबाही गर्ने तथा सुन तस्करी रोक्न थप नीतिगत पक्ष तथा कानुनी पक्ष, प्रशासनिक पक्षलाई कसरी सुधार गर्न सकिन्छ ? प्रतिवेदनले भनेअनुसार सरकारमार्फत ती पक्षहरूलाई कार्यान्वयन गर्नतर्फ जान्छौँ ।’ अझ उनी थप्छन्, ‘हिजोका दिनमा हामी प्रश्न गर्थ्याैं, अब कार्यान्वयन गर्छौं ।’   
 

  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार २०:०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया