लाेग्ने-स्वास्नीकाे झगडा, पार्टीमा आगो : फुटकाे सँघारमा नागरिक उन्मुक्ति पार्टी

नेपालीमा एउटा उखान छ- लाेग्ने स्वास्नीकाे झगडा परालकाे आगो । याे उखानले सामान्य जनजीवनमा अर्थ राखे पनि राजनीतिमा याे उखान काम नलाग्ने देखाएकाे छ, नागरिक उन्मुक्ति पार्टीकाे आन्तरिक झगडाले ।  

संघीय सरकारमा सहभागी हुने कि नहुने विषयले नागरिक उन्मुक्ति पार्टी फुटकाे सँघारमा पुगेकाे छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चाैधरीबीचकाे विवादले पार्टीकाे कार्यदिशा नै अन्याेलमा परेकाे छ । रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चाैधरी श्रीमान्-श्रीमती हुन् ।

रेशम पक्षले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने भएकाे छ भने रञ्जिता पक्ष वर्तमान गठबन्धनतिर लचक र नेपाली कांग्रेससँग टाढा देखिएकाे छ । 

रेशम पक्ष सुदूरपश्चिम सरकारमा सहभागी भएकाे छ। तर, संघीय सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई-तिहाइ बहुमतको निर्णयले केन्द्र सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन पनि नदिने निर्णय गरिएको ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य तथा वार्ता समिति संयोजक दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 



यस्तै प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरूसँग सहकार्य र समन्वय गरी संवाद अघि बढाउने पनि नाउपाले निर्णय गरेको छ ।

यता, पार्टी अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन ह्विप नै जारी गरेकी छिन् ।



प्रधानमन्त्री प्रचण्डले फाल्गुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै उनले ह्विप जारी गरेकी हुन् ।

‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको व्यहोरा अनुरोध छ,’ अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको ।  

आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार १८:४६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया