वर्ल्डलिंकका संस्थापक दिलिप अग्रवालका युवा व्यवसायीलाई टिप्स

काठमाडौं— बायोकेमेस्ट्री पढेर वैज्ञानिक हुने सपना पालेका थिए, वर्ल्डलिंकका संस्थापक दिलिप अग्रवालले । तर, अमेरिकामा पढ्दापढ्दै उनको बाटो मोडियो । नेपाल आएर उनले वर्ल्डलिंक स्थापना गरे । यो सन् १९९४ को कुरा हो । उनका दाइले पढाइ सकेपछि काम नपाउन्जेल कोठामा गरेको ‘सानो प्रयास’ले दिलिपलाई डोर्याएर नेपाल ल्याएको हो ।

त्यसपछि उनी यतै अल्झिए । अब त वर्ल्डलिंक स्थापना गरेको २ दशक भइसकेको छ । योबीच अहिले नेपालको सबैभन्दा ठूलो इन्टरनेट सर्भिस दिने यो संस्थाले दुःखसुख दुवै भोग्यो । तर, अब दिलिप आफूलाई सफलताको एउटा स्थानमा आएको महसुस गर्छन् । दुःखसुख वर्ल्डलिंकलाई यो स्थानमा ल्याइपुर्याएका दिलिपले नयाँ व्यवसाय गर्न चाहने युवाहरुका लागि केही दिनअघि फरक धारसँगको कुराकानीमा यी टिप्स दिएका छन्ः

 

आफ्नो चाहबारे सिक्नुस्, पढ्नुस्, सल्लाह गर्नुस्ः

अहिले युवाहरु आफूलाई थाहा छ भन्ने आफ्नो सोचकै आधारमा केही नयाँ काम गर्न खोजिरहेका हुन्छन् । तर, जुनसुकै काम गर्दा पनि पहिले तयारी गर्नु राम्रो हो । पहिले सिक्न खोज्दा सफलता सहजै पाउन सकिन्छ ।

अहिले त नेपालमा पनि स्टार्टअप कल्चर आउन थालेको छ, मोबाइल एपहरु धेरै बन्न थालेका छन् । यो अत्यन्त राम्रो हो । तर, उहाँहरु आफूले सोझै काम सुरु गर्नुभन्दा केही समय अनुभवी व्यक्तिसँग केही सिक्दा राम्रो हुन्छ । यसरी सोझै व्यवसायमा हाम्फाल्नुभन्दा केही समय सिकेर ‘जम्प’ गर्दा अझ धेरै फाइदाहरु हुन सक्छन् ।



 

आफ्नो इन्ट्रेस्ट फलो गर्नुस्ः



जो कसैले पनि व्यवसाय गर्ने हो भने पहिलो आफ्नो इन्ट्रेस्टलाई राम्रोसँग बुझ्नु पर्छ । अनि त्यसलाई नै फलो गर्नुपर्छ, त्यसबारे अध्ययनमा विशेष चासो दिनुपर्छ । आफ्नो चाहनालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । नेपालमा मैले धेरै युवाहरुले आफ्नो इन्ट्रेस्ट भएको कुरालाई बीचैमा छोडिदिएको पाएको छु र पछि उनीहरु पछुतो मानिरहेका हुन्छन् ।

 

रिस्क लिन सिक्नुहोस्ः

हामीले युवाअवस्थामा नै व्यवसाय सुरु गर्ने हो भने त्यति बेला हामीले रिस्क लिन सक्नुपर्छ । जुन समयमा हामी एक्लै छौँ, हाम्रा सामाजिक तथा पारिवारिक दायित्वहरु कम हुनसक्छन्, त्यो समयमा हामीले केही रिस्क लिनै पर्छ । यस्तो समयमा हामीले केही काम सुरु गरेका छौँ भने त्यसमा असफल हुँदा पनि ठूलो नोक्सानी हुँदैन । रिस्क लिएर काम गर्दा कहिलेकांही फेल हुन पनि सकिन्छ तर त्यसले लामो यात्रामा ठूलो फरक चाहिँ पार्दैन । बरु यस्ता असफलताबाट चाहिँ सिक्न सकिन्छ ।

 

अनुशासनको महत्वः

यो मैले निकै पछाडि सिकेको कुरा हो । अहिले पनि म यसमा आफूलाई सिपालु मान्दिनँ । जे होस्, सफल हुन चाहनेका लागि अनुशासन पहिलो आवश्यकता हो । अनुशासन भनेको त्यस्तो कुरा हो जसले तपाईंलाई ठीक कुराहरु गर्न प्रेरित गर्छ । आफैंले आफैंलाई कन्ट्रोल गर्न र अझ सफलतामा अगाडि बढाउन अनुशासन चाहिन्छ । कतिपय मानिसहरु केही गर्छु त भन्छन् तर आफैंले गर्ने कुरामा पनि अनुशासित हुँदैनन् । यसले मानिसलाई असफल बनाउँछ । त्यसैले अनुशासन सबैले आफूमा विकास गर्न खोज्नु पर्छ ।

 

कम्प्यासन विकास गर्नुहोस्ः

अहिले मानिसहरु साना कुराहरुमा खुसी हुने र त्यसलाई ‘ग्रान्टेड’का रुपमा लिने चलन बढेको छ । हामी सामाजिक रुपमा भन्ने हो भने भौतिक कुराहरुलाई बढी प्राथमिकतामा राख्न सकेका छौँ । आजभोलि म फेसबुकमा वर्ल्डलिंकबारे आएका कमेन्टहरु पढ्छु । त्यसमा युवा उमेरका साथीहरुले बढी नकारात्मक शब्दहरु प्रयोग गर्नुहुन्छ । बरु अलिक उमेर खाएका साथीहरु भद्र तरिकाले बोल्नुहुन्छ । कस्तो भएको छ भने हामीमा जे कुरामा पनि कमेन्ट गर्ने बानी बसेको छ । जे कुरालाई पनि हामी ग्रान्टेडका जसरी लिन्छौँ तर कुनै पनि सकारात्मक कुराहरुलाई हामी हेर्दैनौँ । यसले हामीलाई अझ नकारात्मक बनाउँदै लैजान्छ । त्यसैले युवा पुस्ताले सकारात्मक सोचको विकास गर्नुपर्छ, धैर्य र जुनसुकै कुरामाथि पनि रेस्पेक्ट गर्ने प्रकृति र प्रवृत्तिको विकास गर्नुपर्छ ।

 

प्रश्न सोध्ने बानी विकास गरौँ

हाम्रो शैक्षिक पद्धतिमा हामी खासै प्रश्नहरु सोध्दैनौँ । तर, जबसम्म हाम्रो मनमा रहेका जिज्ञासा हामी मेटाउन खोज्दैनाँै, प्रश्नहरु सोधेर आफूमा भएका अन्योल मेट्दैनौँ, तबसम्म हाम्रो विकास सम्भव हुँदैन । त्यसैले प्रश्न सोध्ने बानीको विकास हामीले गर्नै पर्छ । यसका लागि हामीले अनुभवी व्यक्ति छान्न सक्छौँ, इन्टरनेटको प्रयोग गर्न सक्छौँ । तर, यो बानी सबैलाई उपयोगी हुन्छ, हामीले प्रश्न सोध्न छाड्नु हुँदैन ।

  • प्रकाशित मिति : चैत २१, २०७५ बिहीबार १२:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया