टी–२० राष्ट्रिय क्रिकेट : मधेश र बागमती विजयी, सेमिफाइनल समीकरण पूरा

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको बिहीबार सम्पन्न अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । 

पहिलो खेलमा मधेश प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गरेको छ । बिहीबारको खेलअगावै समूह ‘ए’ बाट आर्मी ८ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । 

आर्मीसँगै समूह ‘ए’बाट कर्णाली समूह उपविजेता भएको छ । त्यस्तै, समूह ‘बी’ बाट लुम्बिनीले चारमध्ये तीन खेल जित्दै ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैगरी, सुदूरपश्चिमले पनि चारमध्ये तीन खेल जित्दै ६ अंकका साथ उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समूह विजेता बनेको  हो ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा मधेश प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको हो । यो खेलमा मधेशले एपिएफलाई ८३ रनले पराजित गरेको भए मधेश सेमिफाइनलमा पुग्ने थियो भने एपिएफले ८ दशमलव ३ बलमा मधेशमाथि जित हात पारेको भए सेमिफाइनलको यात्रा तय गर्ने थियो ।



टस हारेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाई एक सय ४३ रनको योगफल तयार पारेको थियो । मधेशका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविशेक तिवारीले १९ रनको योगदान दिए । 

एपिएफका कप्तान भुवन कार्कीले तीन विकेट लिँदा पुरन विकले पनि तीन विकेट लिए । 
 
जवाफमा १ सय  ४४ रनको लक्ष्य पछ्याएको एपिएफ पूरै ओभर खैल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो । एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रनमा बनाउँदा कप्तान भुवन कार्कीले अविजित १२ रन र आयूुमान बमले पनि १२ रन बनाए । मधेशका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए । 
 
आजै भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई वागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । पुलिसले १२ दशमलव ५ बलमा वागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो ।



टस हारेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७३ रनको स्कोर बनाएको थियो । वागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरि अविजित ७४ रन बनाउँदा रविन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए । पुलिसका अविशेक कार्की २ विकेट लिँदा दिपक सेरलाले पनि २ विकेट लिए ।


 
जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सवै विकेट १ सय ४० रनमा सीमित भयो  । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरि ४३ रनको पारी खेले भने शंकर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए । वागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले २–२ विकेट लिए ।
 
विहिबारको पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनल खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।
 

  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १९:३२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया