आलियामाथि बलिउडको हजार करोड लगानी

बलिउड अभिनेत्री आलिया भट्ट आज (मार्च १५) बाट ३१ वर्षकी भएकी छन् । १२ वर्षको करियरमा उनले करिब १६ फिल्ममा प्रमुख भूमिका निभाइन् । जसमा १२ हिट, २ फ्लप र २ औषत रहे । उनको चार फिल्म ‘जिगरा’, ‘लभ एण्ड वार’, ‘जी ले जरा’ र ‘ब्रह्मास्त्र २’ अब आउने फिल्म हुन् । यी फिल्ममा करिब १ हजार ३० करोड रुपैयाँको लगानी छ ।

आलियाले सन् २०१२ मा फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । तर यो फिल्ममा काम गर्ने अवसर भने उनले सजिलै पाइनन् । फिल्मका लागि उनका अलावा करिब ४ सय युवतीले अडिसन दिएका थिए ।

आलिया अहिले बलिउडकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । उनी एक फिल्ममा २० देखि २५ करोड पारिश्रमिक लिन्छिन् । उनले फिल्म ‘गंगूबाई कठियावाडी’का लागि ‘बेस्ट एक्ट्रिस’को नेसनल अवार्ड जितेकी थिइन् । यो फिल्मले विश्वव्यापी रुपमा करिब २ सय १० करोड कलेक्सन गरेको थियो ।

आलियाका लागि सन् २०२३ निकै राम्रो रह्यो । फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ले विश्वव्यापी रुपमा ३ सय ५५ करोडको कलेक्सन गरेको थियो । आलिया वाईआरएफ स्पाई युनिभर्ससँग जोडिने पहिलो अभिनेत्री पनि बनेकी छन् । उनी स्पाई युनिभर्सको आठ फिल्म फ्रेञ्चाइजीमा देखिँदैछिन् । स्पाई युनिभर्सबाट निर्माण हुन लागेका आठै वटा जासूसी पृष्ठभूमिमा आधारित फिल्ममा आलियाले सुपर एजेन्टको भूमिका निभाउँदैछिन् । यद्यपि स्पाई युनिभर्सले यी फिल्मको बजेट सार्वजनिक गरेको छैन ।

आलियाको जन्म सन् १९९३, मार्च १५ मा मुम्बईमा भएको थियो । उनी बलिउडका लोकप्रिय फिल्म निर्माता तथा निर्देशक महेश भट्ट र अभिनेत्री आमा सोनी राजदानकी छोरी हुन् । उनले ६ वर्षको उमेरमा महेशको प्रोडक्सन हाउस विशेष फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘संघर्ष’मा अभिनेत्री प्रिती जिन्टाको बाल्यकालिन चरित्रमा अभिनय गरिन् । उनले ९ वर्षको उमेरमा सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’मा अडिसन दिए पनि उनी अस्वीकृत भएकी थिइन् ।

आलिया कक्षा १२ मा अध्ययन गरिरहँदा स्कुल पोसाकमै फिल्म ‘स्टुडेण्ट अफ द इयर’का लागि अडिसन दिइन् । उनले अडिसनमा ‘बहारा बहारा’ गीतमा नाँचेकी थिइन् । फिल्मको शनाया सिंघानिया चरित्रका लागि ४ सय युवतीले अडिसन दिएका थिए ।



आलियाको करियरमा दोस्रो फिल्म ‘हाईवे’ आलियाका लागि गैर ग्ल्यामर भूमिका थियो । यो फिल्मपछि उनले ‘२ स्टेट्स’, ‘हम्प्टी शर्मा की दुल्हनिया’, ‘कपूर एण्ड सन्स’, ‘उडता पञ्जाब’, ‘डियर जिन्दगी’, ‘बद्रीनाथ की दुल्हनिया’मा अभिनय गरिन् । सन् २०१८ मा रिलिज फिल्म ‘राजी’मा उनले निभाएको भारतीय स्पाईको भूमिकाका लागि फिल्मफेयरको ‘बेस्ट एक्ट्रेस अवार्ड’ जितिन् ।

१२ वर्षको फिल्मी करियरमा आलियाको कमाई उल्लेख्य छ । उनीसँग अहिले ५ सय १७ करोड सम्पत्ति छ । उनीसँग तीन घर छन् । उनले पहिलो घर लण्डनमा खरिद गरेकी थिइन् ।



आलिया एक सफल व्यवसायी महिला पनि हुन् । उनले सन् २०१० मा एड–ए–ममा नामको क्लोथिङ ब्राण्ड सुरु गरिन् । वर्षदिनमै यो कम्पनीको मूल्यांकन १ सय ५० करोड पुगेको थियो । त्यसपछि उनको यो कम्पनीलाई रिलायन्स ब्राण्ड्स लिमिटेडले ३ सय देखि ३ सय ५० करोडमा किनेको थियो । 

  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ८:२९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया