गृहमा नतिजा देखाउन रविको जोड बल, ९० दिनमा हरेक सूचक माथि उठाउन निर्देशन

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताले अनुभूति गर्ने र सबैले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका सुरक्षा अधिकारीहरूलाई बिहीबार एकैसाथ भर्चुअल संवादमार्फत गृहमन्त्री लामिछानेले विशेष गरी अपराध नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, दण्डहीनताको अन्त्य र फरार अपराधी पक्राउ गर्ने काममा रिजल्ट देखिने गरी काम गर्न निर्देशन दिएका छन् । 

मन्त्री लामिछानेले ९० दिनमा मन्त्रालयका हरेक सूचकहरूमाथि माथि उठाउन निर्देशन दिएका छन् । ‘अबको ९० दिनमा गृह मन्त्रालयका हरेक सूचक माथि जानुपर्छ । गएन भने गम्भीर समीक्षा हुन्छ । र, काममा आलटाल गर्ने, निर्देशनको पालना र लक्ष्य पूरा नगर्नेको मूल्याङ्कन हुन्छ,’ उनले भनेका छन् । 

मन्त्री लामिछानेले गृह मन्त्रालयले काम गर्न सक्यो भने नागरिकले सरकार छ भनेर अनुभूति गर्ने भएकाले पनि मातहतका निकायले जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् । ‘यो देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको छ । हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौँ । समाज बस्न लायक हुँदैन, सहज रूपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निराश हुन्छ,’ उनले भनेका छन्, ‘अहिलेको अवस्था त्यही हो । यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो ।’

उनले आफ्नो निर्देशन मात्रै भन्दा पनि टिमको सदस्यकारूपमा योजनाबद्ध र प्रभावकारी काम गर्न चाहेको बताएका थिए । ‘समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईँहरू चिन्दै हुनुहुन्छ भने सुधारमा केही समस्या हुँदैन । मेरोतर्फबाट कानुन पालना गर्ने पूर्णाधिकार तपाईँलाई छ,’ उनले भने, ‘कानुनको पूर्ण कार्यान्वयन गर्नुहोस् । कानुनभन्दा माथि कोही पनि हुन सक्दैन ।’

उनले गृह मन्त्रालयमा नेतृत्व फेरिएको महसुस नागरिक तत्कालै पाउनुपर्नेमा जोड दिए । ‘गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै महसुस गर्नुपर्छ । कति दिन रहन्छु थाहा छैन । जति रहन्छु राम्रो गर्छु,’ उनले भनेका छन्, ‘नागरिकलाई आशा दिनुबाहेक मेरो स्वार्थ छैन ।’

उनले निषेधित क्षेत्र घोषणाले लोकतन्त्रको भद्दा मजाक भएको बताएका छन् । ‘सबैतिर निषेधित क्षेत्र लोकतन्त्रको भद्दा मजाक हो । सुरक्षाको बहानामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने ठाउँ खुम्च्याउनु हुँदैन ।  अराजकता र सस्तो लोकप्रियताका लागि अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भने त्यसलाई रोक्नुस्,’ उनले भने, ‘होइन उनीहरूले प्रमाणित र तथ्यपूर्ण कुरा गरेका छन् भने प्रमाणका साथ कानुनले जे भन्छ त्यही गर्नुस् ।’ 





  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार ११:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया