सरकारको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार, प्राथमिकतामा सुशासन

सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम् साझा कार्यक्रमको मस्यौदा तयार परेको छ ।

शुक्रवार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा एमालेका उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए । उनले कार्यदलको आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए ।

उनले कार्यदलले तयार पारेको सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रमको मस्यौदा आज नै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताए । उनले साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास र समृद्धि,अर्थतन्त्रका चुनौती समाधान,आम मानिसहरूमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको बताए ।

उनले राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताए । उनले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरूले गर्ने बताए । 

उनले भने,‘सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्यूनतम् साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो । कार्यक्रम बनाउन निरन्तर छलफलमा थियौँ । न्यूनतम् साझा कार्यक्रम तयार भएको छ । आज नै कार्यदलले प्रमुख नेताहरूलाई न्यूनतम् साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौँ । साझा कार्यक्रममा संविधानको रक्षा,आर्थिक विकास समृद्धिका,अर्थतन्त्रका चुनौती समाधान गर्ने,आम मानिसहरूमा आशा र विश्वास जगाउने,सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने र समग्रतामा राष्ट्रलाई समृद्ध बनाउने,जनतालाई सुखी बनाउने,समृद्ध राष्ट्र सुखी नेपालको आकाश पूरा गर्ने र देशलाई समाजवाद तर्फ अगाडि बढाउने विषय समावेश छन् । हामीले अन्तिम रूप दिएका छौँ । आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरूले गर्नुहुन्छ ।’



उनले साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताए । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेता द्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन् ।  



  • प्रकाशित मिति : चैत २, २०८० शुक्रबार १४:५४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया