सुन तस्करी प्रकरण : महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । 

काठमाडौं जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । म्याद थपका लागि उनलाई आजै जिल्ला अदालतमा पेस गरिएको थियो ।

ब्युुरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले म्याद थप भएसँगै थप अनुसन्धानका काम अघि बढाइएको जानकारी दिए । यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो । नेता महरालाई कपिलवस्तुबाट आज विहान नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो । 

पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।  

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई आइतबार नै निर्देशन दिएका थिए । 

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।  उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन यसअघि नै पक्राउ परिसकेका छन् । 



यसअघि उक्त प्रकरणको अनुसन्धानमा त्रुटि भएको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले औँल्याएपछि तत्कालिन सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई केही अघिको मन्त्रिपरिषद्को निर्णयले प्रहरी मुख्यालयमा सरुवा गरिसकिएको छ । त्यहाँ प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई पठाइएको छ ।

तत्कालीन समयमा सुन प्रकरणको अनुसन्धान टोली संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापा तथा प्रहरी नायव उपरीक्षकद्वय रुगम कुँवर र दुर्गा दाहाललाई हेडक्वार्टर तानिएको छ । उक्त प्रकरणमा अहिले सिआइबीका नयाँ प्रहरी टोलीले अनुसन्धान गर्दै छन् । 



मन्त्रिपरिषद्ले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरिसकेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ ।  

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग नाम जोडिएका केही व्यक्तिलाई त्यसबेला सिआइबीले बयान कागज गरेर मात्रै छाडेको थियो । त्यसमध्ये महरा पनि एक थिए । 

  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार २०:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया