नयाँ सत्ता समीकरण, गठबन्धन होइन, पाँच दलबीचको सहकार्य मात्रै हो : एमाले महासचिव

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् । 

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढंगले लाग्नुपर्ने बताए । 

देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्तासमीकरण बनाइएको उनले बताए । नयाँ सत्ता साझेदारीसँगै देशलाई नयाँ गति दिनुपर्छ भन्ने नीतिका साथ सबैलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको उल्लेख गर्दै उनले पार्टीका जनवर्गीय संगठनले पनि सरकारलाई जनतासँग जोड्ने काममा योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए । 

महासचिव पोखरेलले सत्ता समीकरण, सत्ता गठबन्धन नभई दलहरुबीचको सहकार्य भएको उल्लेख गरे । ‘देश परिवर्तनका लागि काम गर्न चाहने पाँच राजनीतिक दलबीच सत्ता साझेदारीको सहयात्रा भएको हो,’ उनले भने, ‘हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ ।’

बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसंगठनलाई नयाँ ढंगबाट लैजानुपर्नेमा जोड दिए । बैठकमा पार्टीका सबै जनसंगठनका इञ्चार्ज तथा अध्यक्षको सहभागिता रहेको थियो ।





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार २२:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया