मुलुकमा सामन्तवाद विस्थापित भयो, तर वैदेशिक हस्तक्षेप कायम छ : माओवादी महासचिव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपालमा अझै  वैदेशिक हस्तक्षेप समाप्त नभएको बताएका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा जनसांस्कृतिक  महासंघको केन्द्रीय समितिले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा सम्मान कार्यक्रमलार्ई सम्बोधन गर्दै महासचिव गुरुङले सबैको त्याग र बलिदानपश्चात् सामन्तवादको अन्त्य भए पनि देशमा अझै  वैदेशिक उत्पीडन, वैदेशिक शोषण र हस्तक्षेपको अन्त्य नभएको बताए । 

महासचिव गुरुङले भने, ‘मुलुकमा १० वर्षे जनयुद्धपछि जुन परिवर्तन भएको छ, सबैको त्याग र बलिदानका कारण भएको हो, सहिदहरुले लिएको सपना, सहिदहरुले लिएको उद्देश्य सामन्तवादलाई विस्थापित गर्नु मात्र होइन, वैदेशिक उत्पीडनलाई पनि विस्थापित गर्नु र जनताको बास, गाँस र कपासको ‘ग्यारेन्टी’ गर्नु हो, जसका लागि समाजवादी क्रान्ति आवश्यक छ, एउटै मात्र उद्देश्य पूरा भएको छ सामन्तवादको नेतृत्व गरेको राजतन्त्र विस्थापित भएको छ, तर वैदेशिक हस्तक्षेप विस्थापित भएको छैन ।’

 देशमा अझै बहुराष्ट्रिय कम्पनीकोे प्रभुत्व कायम रहेको र देश  आत्मनिर्भरताको दिशातर्फ जान नसकेको उनको भनाइ छ ।  
 
जनसांस्कृतिक महासंघका इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि हातमा सारंगी, मादल, गितार र हार्मोनियम लिएर जनताका बस्तीलाई जगाउँदै हिँड्दा सहिद बनेका संस्कृतिकर्मीहरूको सपना पूरा गर्न संकल्प गर्न यो दिवस मनाउने गरिएको उनले बताए । 

सहिदको सपना पूरा नभएसम्म अभियान जारी रहने उनको भनाइ छ । कार्यक्रममा जनयुद्धका सहिद परिवार तथा स्रष्टालाई सम्मान गरिएको थियो ।





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार २३:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया