गर्मी सुरुसँगै बढ्न थाले डेंगुका बिरामी

देशभर तापक्रम बढेसँगै गर्मी महसुस हुन थालिसकेको छ । गर्मीयाम सुरुसँगै इन्फ्लुएन्जा (फ्लु), डेंगु तथा टाइफाइडका बिरामी बढ्न थालेका छन् । सामान्यतया यस्ता संक्रमण अन्य मौसमको तुलनामा गर्मीयाममा बढी देखिने गरेका छन् । 

तापक्रम बढ्दै गएपछि फेरि डेंगुका बिरामी रिपोर्ट हुन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ । देशभर सन् २०२३ वर्षभरि नै डेंगुका धेरै बिरामी भेटिएका थिए ।

वैशाखदेखि असोजसम्म मात्रै देशभर ५१ हजारभन्दा बढी जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । मंसिर लागेसँगै जाडो सुरु भएपछि भने डेंगु संक्रमण कम हुँदै गएको थियो । तर, पुनः गर्मीयाम सुरु भएसँगै डेंगुका बिरामी देखिन थालिसकेको इडिसिडीले जनाएको छ । 

इडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले जनवरीयता छ सयजना डेंगुका बिरामी देखिइसकेका जानकारी दिए । 

डा. दाहालका अनुसार नेपालमा डेंगुको ‘सेरोटाइप–१, २ र ३’ बढी देखिएको पाइएको छ । ‘डेंगुका १, २, ३ र ४ गरी चार प्रकारका सेरोटाइप हुन्छ,’ डा. दाहालले भने, ‘नेपालमा सेरोटाइप–१, २ र ३ बढी देखिएको छ, सेरोटाइप–४ कुनै–कुनैबेला मात्रै देखिएको छ ।’ डेंगुका १, २, ३ र ४ मध्ये कुन सेरोटाइप कहाँ देखिने भन्ने यकिन भन्न नसकिने डा. दाहालको भनाइ छ ।
 
पछिल्ला वर्ष गर्मी मौसममा जनस्वास्थ्यको चुनौती बन्दै गएको डेंगु नियन्त्रणका लागि सबै नागरिकले सचेत हुनुपर्ने जनस्वास्थ्यविद्ले जनाएका छन् । जनवरी र फेब्रुअरीमा थोरै बिरामी भेटिए पनि त्यसयता बिस्तारै डेंगुका बिरामीको संख्या बढ्दै गएको डा. दाहालले बताए । ‘जनवरीयता ६ सय जति केस रिपोर्ट भयो होला, कुन क्षेत्रबाट केस रिपोर्ट हुने संख्या बढिरहेको छ भन्ने निगरानी गर्न आवश्यक छ,’ डा. दाहालले भने । 

विशेषगरी तापक्रम बढ्दै गएपछि डेंगु सार्ने एडिज लामखुट्टेको संख्यामा वृद्धि भयो भने डेंगु संक्रमण पनि बढ्ने गर्छ । यो लामखुट्टे सफा पानी र १८ डिग्रीभन्दा बढी तापक्रममा सक्रिय हुन्छ । 



पछिल्ला वर्ष जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा एडिज लामखुट्टे सबै मौसममा बाँच्न र फैलनअनुकूल वातावरण बन्दै जाँदा वर्षातको समयमा देखिने डेंगु संक्रमण वर्षैभरि नै देखिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । 
डा. शेरबहादुर पुनका अनुसार गर्मीयाममा डेंगु मात्र नभई फ्लु, टाइफाइडजस्ता रोगका संक्रमणसमेत बढ्दै जान्छन् । ‘तापक्रम बढ्दै जाँदा बिस्तारै ज्वरो, टाइफाइड, फ्लु तथा सर्पदंशका बिरामी बढ्न थालेका छन्, गर्मी बढ्दा यस्ता बिरामी अब झनै बढ्ने सम्भावना हुन्छ,’ डा. पुनले भने । 

जाडो मौसमबाट लगत्तै गर्मी मौसममा प्रवेश गर्दा यो समयमा धेरै जना फ्लु संक्रमित हुने जोखिम रहने हुँदा सबैलाई सतर्कता अपनाउन डा. पुन सुझाउँछन् । 



‘यतिखेर मौसमी फ्लुका बिरामी बढेका छन्, धेरैले यस्ता संक्रमणलाई सामान्य स्वास्थ्य समस्या मान्ने गर्नुहुन्छ । तर, पछिल्लो समय यस्ता फ्लुका कडा लक्षण हुने हुने हुँदा धेरै जनालाई गाह्रो बनाइरहेको छ । जसले गर्दा सतर्कता अपनाउनु आवश्यक छ,’ डा. पुनले भने, ‘अब तापक्रम बढ्न थालेपछि हाम्रोमा डेंगुका  बिरामी पनि देखिन थाल्छ । सामान्य असावधानीले गर्दा वर्षेनि धेरै मानिस यस्ता संक्रमणबाट  प्रभावित हुने गरेका छन् । त्यसैले यस्ता संक्रमणबाट बच्नु नै उत्तम उपाय हो ।’

गर्मीको समयमा बर्सेनि देखिने सरुवा रोग टाइफाइड पनि हो । टाइफाइडको ब्याक्टेरिया मिश्रित पानी वा खानेकुरामार्फत टाइफाइडको संक्रमण फैलन डा.पुन बताउँछन् । 

उनका अनुसार टाइफाइड सल्मोनेला टाइफी तथा सल्मोनेला पाराटाइफी ब्याक्टिेरियाको कारणले हुने गर्छ । टाइफाइड भएका कतिपय बिरामीहरू क्लिनिकबाट औषधि किनेर खाने र रोगले कडा रूप लिएपछि मात्र अस्पताल आउने गरेको उनको भनाइ छ । 

रोग लागेर सिकिस्त भएर उपचार गराउनुभन्दा बेलैमा सचेत रहेर स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाब छ । मौसम परिवर्तनसँगै गर्मीयाममा देखिने विभिन्न संक्रामण रोगबाट जोगिन खानपान तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाइ छ । 

  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १८:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया