सरकारलाई सांसद यादवको प्रश्न- किसानलाई मलको अभाव हुन नदिने योजना के छ ?

जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजना के छ ? भनी सरकारलाई प्रश्न गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक यादवले मधेसमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको रासायनिक मलको अभाव हुन नदिने स्पष्ट योजनाबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे । 

उनले विगतमा भएका अर्थमन्त्रीहरूले मलको अभाव नहुन नदिने भनेर चर्को भाषण गर्ने गरेकाले अव मलको अभाव हुने अवस्था आउन नदिन सरकारलाई सचेत गराए । प्रमुख सचेतक यादवले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाब दिए । उनले धनीलाई सामाजिक सुरक्षा भत्ता नदिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

प्रमुख सचेतक यादवले भने, ‘मधेसको सबैभन्दा खतरानाक अवस्था के हो भने रासायनिक मल हो । किसानको कुरा हामी गर्छौँ । चर्को भाषण गर्छौँ । सबै अर्थमन्त्रीहरूले रासायनिक मलको अभाव हुन दिँदैनौ भनेर भन्नुहुन्छ । कृषिमन्त्रीजी पनि आएर त्यसै फलाकी हाल्नुहुन्छ । बोल्नमा कोही पनि कम छैन । तर खाद्य चाहिँ पाउँदै पाउँदैन । के अर्थमन्त्रीजी यसपालि चाहिँ किसानलाई खाद्यको व्यवस्था गरी दिनुहुन्छ ? त्यो पनि किसानले नगदै पैसा दिन्छ । पैसा लिएर घुमी राखेको हुन्छ । तर पनि खाद्य पाउँदैन । सरकारसँग के प्लान छ के खाद्य यसपालि समयमै उपलब्ध गराउन सक्छौँ त ? सरकारले यो विषय स्पट गर्न जरुरी छ । अर्को वितरणमुखी भन्दा परिणाममुखी बजेट ल्याउन जरुरी छ । सामाजिक सुरक्षा भत्तामा गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ । अर्बौंपतिका बुबाआमाले पनि सामाजिक सुरक्षा भत्ता पाइराखेको छ । त्यस कारण गरिब को हो, धनी को हो ? त्यसलाई छुट्टयाएर मात्रै सामाजिक सुरक्षा भत्ता दिन जरुरी छ ।’

प्रमुख सचेतक यादवले बजेट वितरणमुखी भन्दा पनि परिणाममुखी हुनुपर्ने सुझाव पनि सरकारलाई दिए ।  





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १३:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया