नेता कार्यकर्तालाई ओलीको प्रश्न- काठमाडौंका १० क्षेत्रमा १ मात्र कसरी जितियो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका निर्वाचन क्षेत्रहरूमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको औंल्याए । 

उनले भने, ‘राजधानीले सिंगो देशको प्रतिनिधित्व गर्छ । काठमाडौंमा हाम्रो प्रदर्शन कमजोर कसरी भयो ? कसरी असफलतातिर गइरहेका छौँ । यसबारे सोच्ने बेला आएको छ । यसका लागि अब हामी अघि बढ्नुपर्ने बेला आएको छ । काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ, यो स्थितिलाई अनिवार्य बदल्नु छ ।’

अध्यक्ष ओलीले एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका काम कोप्रति पनि यो परिणाम सन्तोषजनक नरहेको बताए । पार्टीका प्रत्येक कार्यकर्ताले डायरी बोकेर आफूले संगठन र पार्टीका लागि गरेका कामहरूको नोट गर्नुपर्ने उनको निर्देशन थियो । त्यस्तै अध्यक्ष ओलीले देशमा उल्लेख्य रोजगारीको अवसर नभएको उल्लेख गर्दै भएको रोजगारीमा समेत श्रम शोषण भइरहेको उल्लेख गरे । 

उनले भने, ‘देशमा पर्याप्त रोजगारीका अवसरहरू प्राप्त नभइसकेको अवस्था छ । भएकोमा पनि श्रम शोषण भइरहेको छ । राज्यले तोकेको न्यूनतम पारिश्रमिकबाट नागरिक मुक्त छन् यो बारेमा सरकारले ध्यान दिन आवश्यक छ ।’

सबै चेतना र समृद्ध समाजको अभियानको नेतृत्व नेकपा एमालेले लिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।  





  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १५:४४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया