डिडिसी भन्छ- ‘दूध बिक्री नहुँदा किसानलाई रकम भुक्तानी दिन समस्या भयो’
‘दूध खरिद/बिक्रीमा अस्वस्थ प्रतिस्पर्धाले समस्या छ’

दुग्ध विकास संस्थानले दूध उत्पादक किसानले उत्पादन गरेको दूध संकलन भएपनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको जनाएको छ । संस्थानले मुलुकभरको दूध वितरण केन्द्रबाट संकलन भएको दूध प्रशोधनपश्चात बिक्री नहुँदा चालू पुँजी र नगद प्रवाहमा समेत समस्या रहेको बताएको छ । 

संस्थानले दूध किसानले भुक्तानी नपाउनुको कारण पनि दूधबाट बनाएको मखनलगायत पाउडर भुक्तानीभन्दा बढी मूल्य बराबरको मौज्दात भएको कारण भुक्तानीमा समस्या आएको जनाएको छ ।

काठमाडौं, हेटौंडा, लुम्बिनी, नेपालगञ्ज, विराटनगर, धनगढी र चितवन वितरण आयोजनामा गरी १० लाख १५ हजार ५६५ केजी (१ हजार १५.५ मेट्रिकटन) पाउडर दूध स्टक रहेको दुग्ध विकास संस्थान काठमाडौंका दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले बताए । 

उनले पाउडर दूध मात्रै नभएर मखन ७ लाख ६७ हजार १४४ केजी (७ सय ६७.१ मेट्रिक टन) मौज्दात रहेको बताए । यादवले काठमाडौं दूध वितरण आयोजनामा ३ लाख ९६ हजार ६४० किलो पाउडर दूध स्टकमा रहेको उल्लेख गरे । उनले मुलुकभर गरी १ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दूध स्टक रहेको दाबी गरे ।  

उनले दूध बिक्रीको लागि बजार विस्तारको ठूलो सम्भावना भएपनि सबै ठाउँमा पुर्‍याउन नसकिएको बताए । यादवले डिडिसीको दूध गुणस्तरको सुनिश्चितता भएकाले उपभोक्तामा लोकप्रिय रहेको बताए । उनले दूध खरिद-बिक्री र संकलनमा अस्वस्थ प्रतिस्पर्धा हुँदा समस्या आएको बताए । यादवले आयोजनासँग भएका मेसिन जीर्ण भएकाले पनि दूध प्रशोधनमा समस्या रहेको बताए । 



प्रमुख यादवले किसानलाई भुक्तानी गर्ने रकम भन्दा बढीको दूध मौज्दात हुँदा चालू पुँजीको अभाव  झेलिरहेको बताए । उनले पाउडर दूध र मखनको मौज्दात उच्च रहेकाले नगद प्रवाहमा असर परेको पनि बताए । यादवले राजनीतिक हस्तक्षेपका कारण पनि संस्थानलाई चुनौती रहेको बताए । प्रमुख यादवले आयोजनासँग डेढ लाख लिटर क्षमताको दूध भण्डारण गर्नसक्ने क्षमता रहेको बताए । 



प्रमुख यादवले ३ सय मेट्रिक टन मखन भण्डारण गर्नसक्ने क्षमता र ४ सय मेट्रिक टन पाउडर दूध भण्डारणको क्षमता रहेको बताए । काठमाडौं दुग्ध वितरण आयोजनाको प्रशोधन क्षमता प्रतिघण्टा १५ हजार लिटर रहेको छ । दूध संकलनको कार्य क्षेत्र काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, रसुवा र चितवन हुन् ।

२०६ सहकारी संस्था आबद्ध भएर १ लाख घरधुरीबाट दूध संकलन गरिने गरेको आयोजनाले जनाएको छ । औसत दूध संकलन ६५ देखि ७० हजार लिटर छ । सुक्खा सिजनमा ४० देखि ४५ हजार लिटर हुन्छ । दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुने गरेको छ ।  

  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार १४:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया