वर्षमा किन दुईपटक मनाइन्छ नवरात्रि ? यस्ता छन् प्राकृतिक, पौराणिक र आध्यात्मिक कारण

काठमाडौं– आजबाट चैत्र नवरात्रि सुरु भएको छ । नेपालमा वर्षमा दुईपटक नवरात्रि मनाइन्छ । एउटा आश्विन शुक्लपक्षको नवरात्रि, जुन बडादसैँका रुपमा धुमधामसँग मनाइन्छ । अर्को, चैत्र शुक्लपक्षको नवरात्रि, जुन चैतेदसैँका रुपमा मनाइन्छ । 

तर, शास्त्रीय वर्णनअनुसार वर्षमा दुई होइन, चारवटा नवरात्रि हुन्छन् । यी सबैमा देवी दुर्गाको विशेष उपासना हुन्छ । 

चन्द्रमासमा आधारित कालगणनामा चैत्रलाई पहिलो महिना मानिन्छ । चैत्र शुक्ल पक्षदेखि नयाँ वर्षको थालनी हुन्छ । र, यसै दिनदेखि सुरु हुन्छ, पहिलो नवरात्रि । जुन, आजदेखि रामनवमीसम्म नौ दिन चल्दछ । 

दोस्रो नवरात्रि आषाढ महिनामा पर्छ । तेस्रो आश्विनको शारदीय नवरात्रि, र चौथो माघ महिनामा गुप्त नवरात्रि पर्दछ । 

यी सबै नवरात्रिको चर्चा देवी भागवतलगायत ग्रन्थमा भेटिन्छ । तर हामी चारमध्ये दुई नवरात्रि मात्रै मनाउँछौँ । यसका पछाडि प्राकृतिक, आध्यात्मिक र पौराणिक कारण छन् । 

प्राकृतिक कारण



मुख्य रुपमा वर्षमा दुईपटक मौसम परिवर्तन हुन्छ । गर्मी चढ्नुअघि चैत्र महिनामा र जाडो बढ्नुअघि आश्विन महिनामा प्रकृतिमा ठूला परिवर्तन हुन्छन् । प्रकृति माताको यही शक्तिलाई मानेर नवरात्रि पर्व आस्था र हर्षोल्लासका साथ मनाइन्छ । अर्कोतर्फ यी दुई नवरात्रि न ज्यादा गर्मी, न ज्यादा जाडो हुने समयमा पर्छन्, जुन उत्सव मनाउन अनुकूल समय हुन् । यी दुई महिनामा प्रकृति पनि हराभरा र मनमोहक हुन्छिन् । 

भौगोलिक हिसाबले हेर्ने हो भने चैत्र र आश्विन महिनामा दिन–रात बराबर हुन्छन् । तापक्रम ठिक्क रहन्छ । यसैले पनि यी दुई महिना उत्सव मनाउन उपयुक्त समय हुन् । अर्कातर्फ, मौसममा आएको बदलाबसँगै हाम्रो शारीरसँगै मन र मस्तिष्कमा पनि परिवर्तन आइरहेको हुन्छ । यस्तोमा नवरात्रिभर व्रत राखेर शक्तिको उपासना गर्नाले शारीरिक र मानसिक सन्तुलन बनाइराख्न सहयोग पुग्छ ।  



पौराणिक मान्यता

नवरात्रिको उत्सव वर्षमा दुईपटक मनाउनुको पछाडि प्राचीन कहानीहरुको वर्णन पुराणहरुमा पाइन्छ । मानिन्छ कि पहिले नवरात्रि चैत्र महिनामा मात्र हुन्थ्यो, जुन गीष्मकालको प्रारम्भमा मनाइन्थ्यो । 

रावणसँग युद्ध गर्नुअघि श्रीराम दुर्गा माताको पूजा गरी विजयी हुने आशिर्वाद लिन चाहन्थे । माताको आशिर्वाद लिन रामले नवरात्रिसम्म प्रतीक्षा गर्न चाहेनन् । त्यसैले उनले आश्विनमै एक विशाल दुर्गापूजाको आयोजन गरे । त्यसवेलादेखि नवरात्रि वर्षमा दुईपटक मनाउन थालियो । 

आध्यात्मिक मत

चैत्र नवरात्रि गर्मीयामको सुरुवातमा पर्छ भने शारदीय नवरात्रि जाडोयामको सुरुवातमा पर्छ । आध्यात्मिक दृष्टिले हेर्ने हो भने यी दुई समयमा प्राप्त हुने सौर्यऊर्जाबाट हामी सबैभन्दा बढी प्रभावित हुन्छौँ । किनकि, यी दुवै अनाज पाक्ने अवधि हुन् । यो वेला मानिसलाई शीत, जल र वर्षाबाट राहत मिल्छ । यस्तो जीवनोपयोगी कार्य पूरा हुने समय भएकाले यी दुई महिना दैवीशक्तिको आराधना गर्ने सबैभन्दा उत्तम समय मानिन्छन् । 
 

  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १३:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया