अध्यक्ष दाहालको दाबी : राष्ट्रिय सभामा आउने विधेयक लामो समयसम्म रोकिने छैनन्
फाइल तस्बिर

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको भएको बताएका छन् । सोमबार चितवनमा  पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तह र प्रदेशसभाको सेतुको रूपमा राष्ट्रिय सभाले काम गर्ने उल्लेख गरे ।

प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उनले बताए ।

हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताए । ‘प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु,’ उनले भने ।

तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताए । राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उनले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताए । 

राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उनले भने, ‘राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभइ राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ ।’ राष्ट्रियसभामा आउने विधेयक लामो समय नरोकिने पनि उनले स्पष्ट पारे ।

विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मतरूपमा पारित गरी पठाएको बताए । राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ छ । राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको उनले बताए । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १०:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया