नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य, गुलशन-कुशलको उत्कृष्ट ब्याटिङ

टी–२० सिरिजको अन्तिम तथा दोस्रो खेलमा नेपालले पाहुना टिम आयरल्याण्ड ‘ए’ लाई १ सय ९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९८ रन बनायो । 

नेपालका लागि अलराउन्डर गुलशन झाले ३२ बलमा चार छक्का र एक चौकासहित सर्वाधिक ४६ रन बनाए । यस्तै, अर्का अलराउन्डर कुशल मल्लले १३ बलमा चार छक्का र एक चौकाको मद्दतमा ३४ रनको आक्रामक पारी खेले । यस्तै, कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौकासहित ३३ रन बनाए । 

ओपनर कुशल भुर्तेलले १६ बलमा दुई चौका र दुई छक्कासहित २५ रनको इनिङ खेले । यस्तै, सन्दीप जोराले १० बलमा तीन चौका र एक छक्काको मद्दतमा २१ रन बनाए । अनिल साह १२ रनमा आउट भए । ११ बलको सामना गरेका उनले २ चौका हिर्काए ।   

ओपनर आसिफ शेखले ९ बलमा एक चौकासहित ११ रन बनाए । ८ बलको सामना गरेका विवेककुमार यादव सात रनमा अविजित रहे । आयरल्याण्ड ‘ए’ का लागि म्याथ्यू फोस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिओन ह्यान्ड र गेभिन होएले एक/एक विकेट लिए ।  



नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिएर अनिल साह र विवेकुमार यादवलाई मौका दिएको छ । 

नेपालले सिरिजमा १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।   



  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १४:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया