मिर्गौलापछि कलेजो प्रत्यारोपणमा पनि अब्बल बन्दै नेपाल

मूलतः चिकित्सा एक विज्ञान हो । ज्ञान र विज्ञानलाई चिकित्साको आँखाबाट हेरिने भएकाले यसलाई चिकित्सा विज्ञान पनि भन्ने गरिन्छ । २१औँ शताब्दीसम्म आइपुग्दा चिकित्सा विज्ञानमा विश्वभर नै आमूल परिवर्तन आइसकेको छ । चिकित्सा विज्ञानमा आमूल परिवर्तन भइसक्दा यसबाट नेपाल पनि कसरी अछुतो रहन सक्थ्यो । पछिल्लो समय नेपालले पनि चिकित्सा विज्ञानमा पनि ठूलै फड्को मारिरहेको छ । 

चिकित्सा विज्ञानका विभिन्न विधामध्ये सबैभन्दा जटिल मानिने विधा हो, अंग प्रत्यारोपण । यसमा पनि कलेजो प्रत्यारोपण सबैभन्दा जटिल मानिन्छ । यही जटिल प्रकारको विधामा नेपालका ठूला सरकारी स्वास्थ्य संस्थाले सफलता हात पारेका छन् ।

नेपालमा अंग प्रत्यारोपणसम्बन्धी स्वास्थ्य सेवा सुरु भएको धेरै लामो इतिहास छैन । नेपालमा पहिलोपटक ०७३ मंसिरमा भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि नेपालकै ठूलो शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालको प्रत्यारोपण टिमले ०७६ जेठ १७ मा कलेजो प्रत्यारोपण गर्यो । यही टिमले ०७७ फागुन २९ मा त्रिवि शिक्षण अस्पतालमा नेपालमै पहिलोपटक ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरेको थियो ।

यसैगरी यो टिमले गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गर्यो । ती पुरुषलाई आफ्नै ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकले सघाउँदै आएका थिए । तर, यसपटक भने नेपाली चिकित्सककै अगुवाइमा नेपाली चिकित्सक टिमले विदेशी चिकित्सकको सहयोगविना गरेको यो पहिलो कलेजो प्रत्यारोपण हो ।

‘यसअघिका प्रत्यारोपणमा हामीले विदेशका चिकित्सकको सहयोग लिँदै आएका थियौँ । तर, योपटक हामीले कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतर्फको पहिलो पाइला चालेका छौँ,’ यो प्रत्यारोपणमा नेतृत्व गरेका प्रत्यारोपण सर्जन प्रा.डा. रमेश भण्डारीले भने । 

प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीका अनुसार कलेजो दान गरेकी ४० वर्षीय महिला १० दिनमा डिस्चार्ज भएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई भने करिब २० दिनपछि डिस्चार्ज गरियाे । विदेशी चिकित्सकको सहयोगविनै पहिलो कलेजो प्रत्यारोपणको सफलतापछि प्रा.डा. भण्डारीको टिमले दोस्रोपटक गरेको कलेजो प्रत्यारोपण पनि सफल भएको छ । 



कलेजो प्रत्यारोपण सर्जन डा. भण्डारीका अनुसार नेपाली चिकित्सक टिमले २७ माघमा चितवनका ३३ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो । ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । कलेजो प्रत्यारोपण गरिएका पुरुषलाई १६औँ दिनमा डिस्चार्ज गरिएको थियो । अत्यधिक मदिरा सेवन गरेकै कारण चितवन निवासी ती पुरुषको कलेजोमा समस्या आएपछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको डा. भण्डारीले बताए । 

‘चिकित्सक तथा स्वास्थ्यकर्मी मात्रै संलग्नतामा दोस्रोपटक पनि सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेका छौँ,’ डा. भण्डारीले भने, ‘नेपालमा आफैँले गर्न सक्छौँ भनेर पुष्टि भयो । कलेजो प्रत्यारोपणमा आत्मनिर्भरतातर्फ अगाडि बढेका छौँ ।’ 



हालसम्म त्रिवि शिक्षण अस्पतालले १२औँ कलेजो प्रत्यारोपण गरेको छ । त्रिवि शिक्षण अस्पतालमा कार्यरत सात चिकित्सकले अंग प्रत्यारोपणको अनुमति पाएका छन् ।

नेपालमा १८ वर्षभन्दा माथिका व्यक्तिले अंगदान गर्न सक्छन् । मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ मा यससम्बन्धी व्यवस्था छ । अंगदान दुई प्रकारको हुन्छ । जीवित दाताले गर्ने अंगदान र मृतकले गर्ने अंगदान । जीवित अवस्थामै कसैको ज्यान बचाउन एउटा मिर्गौला, कलेजोको केही खण्ड, फोक्सोको केही भाग, छाला, आदि दान गर्न सकिन्छ । त्यस्तै, मस्तिष्क मृत्यु (ब्रेनडेथ) पछि मुटु, फोक्सो, प्यांक्रियाज, मिर्गौला, हाड, छालालगायत अन्य अंग दान गर्न सकिन्छ ।

अंग प्रत्यारोपणमा आत्मनिर्भर बन्दै 

त्रिवि शिक्षण अस्पतालमा जस्तै नियमित रूपमा कलेजो प्रत्यारोपण गर्दै आएको भक्तपुरस्थित धर्मभक्त प्रत्यारोपण केन्द्रमा हाल सम्म १८ जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले ०७३ मंसिर २२ गते दक्षिण कोरियाका चिकित्सकको प्राविधिक सहयोगमा देशमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको थियो ।

त्यसपछि भारतको म्याक्स अस्पतालकका विशेषज्ञ चिकित्सकको सहयोगमा कलेजो प्रत्यारोपण हुँदै आएको थियो । प्राविधिक रूपमा केन्द्रका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अब्बल भए पनि कलेजो प्रत्यारोपण जटिल प्रकारको विधा भएकाले म्याक्स अस्पतालका चिकित्सकको सहयोग लिने गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मिर्गौलामा मात्रै नभई कलेजो प्रत्यारोपणमा पनि नेपाल आत्मनिर्भर हुन थालेको बताए । ‘प्राविधिक रूपमा हामी सक्षम छौँ । हामीले सन् २०१७ मै विदेशी चिकित्सहरूको सहयोगविनै कलेजो प्रत्यारोपण गरिसकेका छौँ । तर, बिरामीकै सुरक्षाको लागि बेला–बेलामा म्याक्सका चिकित्सकको सहयोग लिने गरेका हौँ,’ डा. श्रेष्ठले भने । उनका अनुसार सुरुका केही वर्ष वार्षिक एक–दुईजनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकामा अहिले केन्द्रले वर्षमै १० जनाको प्रत्यारोपणमा सफलता हासिल गर्न सफल भएको छ । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट सुरु भएको कलेजो प्रत्यारोपण सेवा अहिले त्रिवि शिक्षण अस्पताल, सिएमसी अस्पताल चितवन र किष्ट मेडिकल कलेज, ललितपुर गरी चार स्वास्थ्य संस्थासम्म फैलिसकेको छ । यी अस्पतालले सफल कलेजो प्रत्यारोपण सेवा प्रदान गरिसकेका छन् । मिर्गौला प्रत्यारोपण भने त्रिवि शिक्षणसहित प्रत्यारोपण केन्द्रका चिकित्सहरूले विदेशी चिकित्सकको सहयोगविनै गर्दै आएका छन् । मिर्गौला प्रत्यारोपणमा नेपाल यसअघि नै आत्मनिर्भर भइसकेको छ ।

हालसम्म नेपालमा सबैभन्दा बढी मानव अंग प्रत्यारोपण केन्द्रले १८, त्रिवि शिक्षण अस्पतालले १२, सिएमसी चितवनले ६ र किष्टले तीन गरी देशभरमा ३९ वटा कलेजो प्रत्यारोपण गरेका छन् । यस्तै, पहिलोपटक ०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण सुरु गरेको केन्द्रले ११ वर्षको अवधिमा हालसम्म करिब एक हजार दुई सयजनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । त्रिवि शिक्षण अस्पतालमा हप्तामा तीन दिन मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १८:५१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया