आइपिएलमा मुम्बईको लगातार दोस्रो हार, हैदराबादले रच्यो इतिहास

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो सनराईजर्स हैदराबादले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा हैदराबादले गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई ३१ रनले हरायो । 

ऊ पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग पाँच रनले पराजित भएको थियो । मुम्बईको भने यो लगातार दोस्रो हार हो । ऊ पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले पराजित भएको थियो । तेस्रो खेलमा हैदराबादले दिएको आइपिएल इतिहासकै ठूलो लक्ष्य (२७७ रन) पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनायो । 

उसका लागि तिलक वर्माले ६४, डिम डेविडले अविजित ४२, इशान किशनले ३४, नमन धीरले ३०, रोहित शर्माले २६, कप्तान हार्दिक पाण्ड्याले २४ र रोमारियो शेफर्डले अविजित १५ रन बनाए । हैदराबादका लागि प्याट कमिन्स र जयदेव उनादकटले दुई/दुई तथा शाहबाज अहमदले एक विकेट लिए । 

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो । आइपिएलमा यो योगफल हालसम्मकै उच्च हो ।

यसअघि यो रेकर्ड रोयल च्यालेन्जर्स बेंगलुरुको नाममा थियो । उसले सन् २०१३ को सिजनमा पुणे वारियर्सविरुद्ध २ सय ६३ रन बनाएको थियो । बेंगलुरुको रेकर्ड हैदराबादले १३ वर्षपछि भंग गरेको छ । 



उसका लागि हेनरिक क्लासेनले ३४ बलमा सात छक्का र चार चौकासहित अविजित ८० रन बनाए । यस्तै, अभिषेक शर्माले ६३, ट्रभिस हेडले ६२, एडन मार्कमले अविजित ४२ र मयंक अग्रवालले ११ रनको योगदान दिए ।

मुम्बईका लागि पियुष चावला, हार्दिक पाण्ड्या र जेराल्ड कोएत्जीले मात्र एक/एक विकेट लिन सके । आइपिएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्ने तालिका छ । 



  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार ६:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया