न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधैँ लाग्नुपर्ने बताएका छन् । नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुगेका प्रधानन्यायाधीश श्रेष्ठले श्रव्यदृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड दिए । 

‘म पनि लागिरहेको छु, सिंगो न्यायापालिका लागिरहेको छ,’ उनले भने, ‘श्रव्यदृश्य सुनुवाइको प्रयोगबाट देशभरबाट सुनुवाइ गर्न सकिने हुँदा छिटोछरितो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्न सबै लाग्नुपर्छ, श्रव्यदृश्य सुनुवाइले पनि एउटा सहयोग गर्नेछ ।’

प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालत काठमाडौंमा मात्र भएको हुनाले श्रव्यदृश्य सुनुवाइको अझ धेरै महत्व भएको र देशभरबाट न्यायका उपभोक्तालाई सहज न्याय पुर्याउन सक्ने विश्वास व्यक्त गरे । उनले मुद्दा फछ्र्यौटमा राम्रो प्रगति गरेको र कामप्रति जागरुकता देखाएकोमा आफूलाई सन्तोष लागेको बताए । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विशेष अदालतमा आजदेखि श्रव्यदृश्य सुनुवाइ प्रारम्भ गरेको र सूचना प्रविधिको उच्चतम र सही प्रयोगमा गरी न्यायमा सहज पहुँच बनाउन प्रयत्न गरिरहेको बताए । 

‘न्यायिक सुधारमा प्रक्रियागत सुधारको थालनी भएको छ,’ अध्यक्ष कुँवरले भने, ‘अनलाइन अदालतको विकासले विश्वस्तताका साथ न्याय प्रणालीलाई अहिलेको भन्दाबढी पहुँचयोग्य र थप प्रभावकारी, छिटो र किफायती बनाउनेछौँ ।’

सोही अवसरमा विशेष अदालत बार एसोसिसनका अध्यक्ष चूणामणि पौडेल र सचिव टीकाबहादुर कुँवरले बार र बेन्चबीच सहकार्य गरेर काम गरिहेको र अदालतमा आएको पछिल्लो टिमले मुद्दा फछर्यौटमा उल्लेख्य सुधार गरेको प्रधानन्यायाधीशलाई जानकारी गराएका थिए । 



प्रधानन्यायाधीश श्रेष्ठले बार र बेन्चबीच सहकार्य जरुरी हुने र तीव्र मुद्दाको सुनुवाइ र न्यायमा पहुँच अभिवृद्धि गर्न सम्भव हुने बताए । प्रधानन्यायाधीश श्रेष्ठले अदालतको समग्र निरीक्षण गर्दै मुद्दाको प्रगतिबारे जानकारी दिँदै कर्मचारीसँगसमेत कुराकानी गरेका थिए । 



  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार २३:२०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया