गुटगत स्वार्थले नेकपा एकता लथालिङ्ग

काठमाडौँ— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई टुङ्गोमा पुर्याउन शीर्ष नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर सल्लाह गर्न थाले पनि एकताबारे खासै प्रगति हुन सकेको छैन । अर्कोतिर, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल थप आलोचनात्मक तथा आक्रामक हुने तयारीमा छ । 

ओली र प्रचण्डले आफूले अगाडि सारेको प्रस्तावलाई जस्ताकोतस्तै अनुमोदन गरे नेपाल समूहले समानान्तर कमिटि बनाएर अघि बढ्ने बताउँदै आएको छ । नेपाल समूहलाई अर्का नेता वामदेव गौतमले पनि समर्थन गर्ने भएका छन् ।

नेपाल समूह मापदण्ड तय गरेर त्यसैका आधारमा व्यक्ति छनोट हुनुपर्ने अडानमा छ । अधिवेशनहरूबाट निर्वाचितलाई पाखा लगाएर एकता गर्न नहुने र वरिष्ठताका आधारमा अगाडि बढ्नु पर्ने नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसाल बताउँछन् । ‘एउटै मापदण्डका आधारमा कमिटीहरू बनाउनुपर्छ,’ उनले भने । 

अर्का स्थायी समिति सदस्य सत्यनारायण मण्डलले शीर्ष नेताहरूको स्वार्थकै कारण एकता लम्बिएको र लथालिङ्ग भएको बताए । ‘यो मान्छे र त्यो मान्छे भन्दै हिँड्नुहुन्छ अनि नेतृत्वलाई दोष दिन खोज्नुहन्छ, यही प्रवृत्तिले एकता यो अवस्थामा आइपुगेको हो,’ उनले भने । 

गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा भए पनि अहिलेसम्म तल्लो तहमा एकीकरणको काम नसकिँदा र नेताहरुबीच खिचातानी हुँदा पार्टी विघटनसम्मको खतरा नेकपाकै नेताहरु देख्छन् । ‘यस्तै हो भने विघटन हुनसक्छ,’ नेकपाका नेता झलनाथ खनालले यस विषयमा छोटो प्रतिक्रिया दिए, ‘यसबारे बढी नबोलौँ, यस्तो अवस्थाले जे पनि हुनसक्छ ।’

नेकपाका अर्का नेता भीम रावल चाहिँ आफ्नो जीवनकालमै अहिले पार्टी सबैभन्दा खराब मोडमा पुगेको अनुभूत गरेको बताउँछन् । पार्टीले यस्तो गरेको खण्डमा देश चलाउन नसकिने जिकिर गर्दै फरक धारसँग कुरा गर्दै उनले भने, ‘अहिले हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी हो तर यो अब विघटनको संघारमा छ । विद्यार्थी कालदेखि राजनीतिमा लागेँ तर पार्टीमा यस्तो अवस्था यसअघि कहिल्यै देखेको थिइनँ ।’



उनले पार्टीमा हुने कुराहरु स्थायी कमिटीलाई पनि थाहा नहुनु विडम्बना भएको बताए । ‘कतिपय कुरा एक्लो निर्णयमा भएका छन्,’ रावलले भने, ‘पुस मसान्तभित्र एकताको काम सम्पन्न गर्ने भन्ने सहमति पनि गर्ने अनि अहिलेसम्म कुनै प्रगति नहुनु वा कार्यान्वयन नहुनु निकै गलत हो । पार्टीकै निर्णय किन कारवाही भएन, समस्या के परेको हो ?’

११ महिना वित्न लाग्दा पनि पार्टी एकता नहुँदा पार्टीका कार्यकर्ता र कम्युनिष्ट विचारधाराप्रति सहानुभूति राख्ने जनताका लागि चिन्ताको विषय भएको रावलको ठम्याइ छ । 



पार्टीको सांगठनिक एकीकरणको जिम्मा पाएको तत्कालिन एकता कार्यदलले दुईवटा प्रतिवेदन बुझाइसकेको छ । रामबहादुर थापा ‘वादल’ संयोजक बनेको कार्यदलका सदस्यबीच मत बाँझिदा दुई वटा प्रतिवेदन बुझाइएको हो । कार्यदलका विष्णु पौडेल र वादलले बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै बेदुराम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेले छुट्टै प्रतिवेदन बुझाएका थिए ।

यी प्रतिवेदनमाथि पनि सचिवालय वैठकमा प्रतिवेदनको एकपटक मात्रै छलफल भएको छ । त्यसपछि केही हुन सकेको छैन ।

अब सचिवालय बैठक कहिले बस्ला त भन्ने प्रश्नमा नेकपा नेता नारायणकाजी श्रेष्ठले यो अनिश्चित रहेको बताए । नेकपाका अर्का एक नेता आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भन्छन्, ‘अब सचिवालय बैठक नै बसेको छैन, सल्लाह नै भएको छैन, पार्टी एकता के हुन्छ भन्ने जानकारी कसरी दिनु ?’ उनले पार्टी एकता ओली र प्रचण्डको सल्लाहका कारण मात्र नहुने तर्क गरे । 

‘त्यसले पार्टीभित्रै विद्रोह जन्माउँछ,’ उनले भने ।

नेकपा एकता यो लथालिङ्ग अवस्थामा पुग्नुको कारण चाहिँ पूर्व एमालेभित्र भएको स्वार्थको टक्करलाई कारण मान्छन् राजनीतिक विश्लेषक कृष्ण पोखरेल । फरक धारसँग उनले भने, ‘एमालेबाट आएका नेताहरुले आआफ्नो स्वार्थका लागि काम गरिरहेका छन्, यसले नेकपा एकता खलबलिएको हो ।’

अहिलेसम्म एमाले र माओवादीबीच कतिवटा जिल्लाको नेतृत्व कसले लिने भन्नेमा टुंगो लागेको छैन । त्यसमा विवाद छैन । विश्लेषक पोखरेलले भने, ‘विवाद कहाँ छ भने, एमालेभित्र टुंगो लागेको जिल्लाको अध्यक्ष को हुने भन्नेमा हो ।’ 

विश्लेषक पोखरेलले ओली र नेपालले गेम खेल्न खोज्दा यो अवस्था आएको पनि बताए । उनले भने, ‘के गेम खेल्न खोजेको देखिन्छ भने माधव नेपालहरू जो निर्वाचित भएर आएका अध्यक्ष छन्, तिनलाई यथावत राख्नुपर्छ भन्ने र यथावत राख्दा उनको पक्षभारी हुन्छ । त्यसले गर्दा यो कुरा ओली मानिरहेका छैनन् ।’  

खनालको बुझाइमा अहिलेको प्रक्रियामा पूर्वमाओवादी नेताहरु पनि सन्तुष्ट छैनन् । त्यसैले उनले एकताका लागि पूर्वमाओवादी नेताहरु चुपचाप लागेको र यसलाई टारिरहेको हुनसक्ने अनुमान गरे । 

उनले भने, ‘प्रचण्डले पार्टी एकताको प्रक्रिया टुंगो नलागुन्जेल विवादमा नफस्न कसैको विवाद पक्ष नलिने, चुप लागेर बसेका छन् । त्यसो गरे भनेदेखि एककिरणको प्रक्रिया नै भाँडिन्छ । पार्टी एकीकरण भइसकेपछि त्यो कारणले गर्दा भोलि नयाँ ढंगको ध्रुविकरण फेरि बन्ला, त्यो बेग्लै हो । अहिले यो प्रक्रिया कम्प्लिट हुनुपर्छ भन्ने मै प्रचण्ड पक्ष लागेको देखिन्छ ।’ 

  • प्रकाशित मिति : चैत २७, २०७५ बुधबार ८:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया