आइपिएलका एक्ला ‘शतकवीर कप्तान’ धोनी

काठमाडाैं– चेन्नाई सुपर किंसका कप्तान महेन्द्रसिंह धोनी आइपिएलमा १०० जित हासिल गर्ने पहिलो कप्तान बनेका छन् । बिहीबार राजस्थानमाथि ४ विकेटको जित निकाल्दै धोनी ‘शतकवीर कप्तान’ बनेका हुन् । आइपिएल इतिहासमा सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने रेकर्ड पनि उनकै नाम छ । 

राजस्थानविरुद्धको बिहीबारको खेलमा म्यान अफ द म्याच बनेका धोनीले ४३ रनमा २ चौका र ३ छक्का हिर्काउँदै ५८ रन बनाए । उनले अम्बाती रायुडूसँग पाँचौँ विकेटका लागि ९५ रनको साझेदारी गरे । फलस्वरुप, १५१ रनको लक्ष्य पछ्याएको चेन्नाईले १५५ रन बनाउँदै ४ विकेटको जित निकाल्यो । 

भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीले आइपिएलमा १६६ खेलमा कप्तानी गरेका छन्, जसमा १०० जित निकाल्दा उनको टिम ६५ पटक हारेको छ । एक खेल भने विनानतिजा टुंगिएको थियो । 

आइपिएलमा धोनीपछिका सफल कप्तान गौतम गम्भीर हुन् । १२९ खेलमा कप्तानी गरेका गम्भीरले ७१ खेल जितेका छन् । यद्यपि, कोलकाताका पूर्वकप्तान गम्भीरले आइपिएलबाट संन्यास लिइसकेका छन् । 

मौजुदा कप्तानमध्ये धानीपछि दोस्रो नम्बरमा आउँछन्, मुम्बईका कप्तान रोहित शर्मा । ९४ खेलमा कप्तानी गरेका शर्माले ५४ खेल जितेका छन् । १०२ खेलमा कप्तानी गरेका बैंगलोरका कप्तान विराट कोहलीले ४४ खेल जितेका छन् । 

आइपिएलमा सबैभन्दा बढी जित निकाल्ने टिम भने मुम्बई इन्डियन्स हो । यसै सिजन चेन्नाईलाई हराउँदै मुम्बईले १०० जितको रेकर्ड बनाएको छ । दुई सिजन आइपिएल खेल्न नपाएको चेन्नाई ९५ जितसहित दोस्रो स्थानमा छ । 



यो सिजनको अंकतालिकामा धोनीको चेन्नाई १२ अंकसहित शीर्ष स्थानमा छ । 



  • प्रकाशित मिति : चैत २९, २०७५ शुक्रबार ८:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया