[अन्तर्वार्ता] विप्लवलाई सरकारले यसै ठूलो बनाइदियो : मोहन वैद्य

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’सँग सरकारका गतिविधि, समसामयिक राजनीति, उनले नेतृत्व गरिरहेको पार्टी क्रान्तिकारी माओवादीको अवस्था आदिबारे फरकधारकर्मी रमेश दवाडीले कुराकानी गरेका छन् । प्रस्तुत छ, वैद्यसँगको कुराकानीको सम्पादित अंशः 

तपाईंले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले अहिले के गर्दै छ ? 

पार्टी संगठनलाई अलि व्यवस्थित बनाउन लागिरहेका छौँ । संगठन विस्तारको काम भइरहेको छ । पार्टीको सदृढीकरण गर्ने काममा पनि छौँ । हाम्रा विभिन्न जनवर्गीय मोर्चालाई व्यवस्थित गराउने प्रक्रियामा लागिराखेका छौँ । पार्टीको सबै संगठनलाई व्यवस्थित र सुदृढ गर्ने प्रक्रियामा छौँ । संगठनसँग सम्बन्धित कुरा,  राष्ट्रियता, जनजीविका, जनसरोकारका विषयमा संघर्षको माहोल बनाउनेतर्फ हामी लागिरहेका छौँ । 

भर्खरै हाम्रो मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान समाप्त भएको छ । अहिलेका समस्याहरू, जटिलताहरू छन्, यिनलाई लिएर एउटा संघर्ष गर्न सकिन्छ, तर अहिले वातावरण छैन । एउटा माहोल बनाउन भने लागेका छौँ । 

पार्टी ओझेलमा परेको, कुनामा परेकोजस्तो लाग्दैन ? 

हामी मूलधारमा छैनौँ । यो सत्य हो । मूलधारका पार्टी भनेका त अहिले सरकारमा गएका दल हुन् । हामी सरकारमा त के कुरा, सत्तापक्षमा पनि छैनौँ । हामी सत्ताको पनि विरोधमा छौँ । प्रतिपक्षमा पनि हामी छैनौँ । हुने कुरो पनि भएन । हामी त आन्दोलनकारी हौँ । संघर्षकारी हौँ । यो सत्ता व्यवस्था ठीक छैन, एउटा जनताको सत्ता स्थापना गर्नुपर्छ भनेर लागिरहेका छौँ ।



तपाईंको पार्टीको खास नीतिचाहिँ के हो ? 

नेपालमा क्रान्ति भएको छैन । देश अझै उत्पीडनमा छ । दलाल पुँजीपति वर्ग, सामन्ती वर्गको आन्तरिक उत्पीडनमा छ । बाह्य हस्तक्षेप छ । साम्राज्यवादी, विस्तारवादी हस्तक्षेपहरू छन् । यी सबै उत्पीडन, हस्तक्षेपविरुद्ध हामीले आवाज बुलन्द पार्नुपर्छ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादतर्फ लाग्नुपर्छ । 



त्यसका लागि फेरि सशस्त्र संघर्ष नै गर्ने हो ? 

अहिले त हामी जनआन्दोलनको संघर्ष गनुपर्छ भनेर लागेका छौँ । सशस्त्र संघर्ष त आवश्यकताअनुसार गर्नुपर्ने पनि हुन्छ । अहिले नै ठ्याक्कै सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने होइन । पार्टीको त्यस्तो सोच पनि छैन । अहिले हामी जनआन्दोलन, जनसंघर्ष गर्छौं । 

वर्तमान सरकारलाई कसरी नियाल्नुभएको छ ? 

उहाँहरूले त एकदम सफल भयो भन्नुहुन्छ । कम्युनिस्ट सरकार भन्नुहुन्छ । हामीले भन्दा उहाँहरू कम्युनिस्ट नै होइन । पुरानै राज्यसत्ताको संरक्षक सरकार हो यो । यो सरकारसँग देशको विकास गर्ने एजेन्डा पनि छैन । गर्न पनि सक्त्तैन । भन्न त ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेर उहाँहरूले भन्दै आउनुभएको छ । त्यो सबै भन्ने कुरा हो । देशमा एउटा रोजगारीको व्यवस्था नगरीकन, उद्योग व्यवसायको निर्माण नगरीकन र वैदेशिक हस्तक्षेप, निजीकरण, उदारीकरणलाई शिरोपर गरेर विकास निर्माण हुन सक्त्तैन । उहाँहरूले त्यो गर्ने पनि होइन । 

शिक्षा, स्वास्थ्यमा भएका समस्याहरू वर्र्षौंदेखि समाधान हुन सकेका छैनन् । समस्या ज्युँका त्युँँ छन् । शिक्षाको व्यापारीकरण भइरहेको छ । त्यसको पनि उहाँहरूले हल गर्न सक्नुहुन्न । भ्रष्टाचार, बलात्कार, महँगी इत्यादि त थुप्रैथुप्रै छन् । त्यसैले सरकारले काम गर्न सक्त्तैन । हामी यसलाई कम्युनिस्ट सरकार भनेर पनि मान्दैनौँ । 

नेक्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि सरकारले प्रतिबन्ध लगाएको छ । यसलाई तपाईंको पार्टीले कसरी लिएको छ ? 

सरकारले प्रतिबन्ध लगाउनु गलत छ । राजनीतिक दल हो, राजनीतिक दलका रूपमा व्यवहार गर्नुपर्छ । वार्ता गर्ने भए वार्ता गर्नुपर्यो । राजनीतिक तबरबाट यो समस्या समाधान गर्नुपर्छ । दमनले, यातनाले र पार्टीलाई प्रतिबन्ध लगाएर समस्या समाधान हुँदैन । प्रतिबन्ध लगाउने निर्णय पुनर्विचार गर्नुपर्छ । 

विप्लवका पछिल्ला गतिविधिलाई चाहिँ कसरी नियाल्नुभएको छ नि ? 

विप्लवको गतिविधि, विप्लवको राजनीति ठीक छैन । उहाँहरू एकीकृत जनक्रान्तिको सिद्धान्त भन्नुहुन्छ । त्यो असाध्यै अस्पष्ट छ, अमूर्त छ । यो ठीक छैन । यतिसम्म चाहिँ हामी क्लियर छौँ । रहस्यमयी छ विप्लवको राजनीति । उहाँले के गर्न खोज्नुभएको हो, थाहा छैन । जनक्रान्ति गर्न खोज्नुभएको हो कि के हो, थाहा छैन । तर, राजनीतिक पार्टी त हो । राजनीतिक पार्टी भएको हुनाले यसै भन्न सकिन्न । उहाँको राजनीतिक दिशा अलमलमा छ । 

विप्लवका गतिविधि हिंसात्मक भयो भन्ने छ नि ? 

सशस्त्र संघर्ष गर्न थाल्यो भन्ने भान परेको छ, त्यो हुँदै होइन । हामी सेनालाई पनि केही गर्दैनौँ, प्रहरीलाई पनि केही गर्दैनौँ भनेर उहाँहरूले भनिरहनुभएको छ । सरकारले फेरि उसलाई ठूलो किन बनाइदिनुपर्यो ? यही सरकारले उहाँलाई ठूलो बनाइदिएको छ । यो सरकारको काम हो ।  

अर्को प्रचण्डको जन्म हुन लाग्यो भन्छन् नि ? 

के, को जन्मिनी ? यो हल्ला हो । प्रचण्ड जन्मे पनि काम छैन । जनयद्धको हाइटमा उभिने पनि होइन । त्यसकारण, यसलाई त्यो रूपमा चाहिँ लिनुहुन्न ।

हिजो तपाईं, प्रचण्ड, डा. बाबुराम भट्टराई सँगै हुनुहुन्थ्यो । अहिले तपाईंहरू तीनजना तीनतिर हुनुहुछ । एउटा पार्टी थियो, पाँचवटा बनेको छ । यस्तो किन भयो ? 

पार्टी विभाजित हुँदा दुःख लाग्छ । जनयुद्धको बेला मूल नेतृत्व प्रचण्डबाटै भइरहेको थियो । उनी पनि बिग्रेर गइसकेपछि झन् हामीहरूसम्म विभाजित भयौँ । यो दुःखद् हो । बाबुरामजीले माक्र्सवाद नै छोड्नुभयो । वैचारिक रूपमा उहाँ अस्पष्ट हुनुहुन्छ । ठीक ढंगले सोच्नुभएन भन्ने लाग्छ । अब पनि यही कुरा गरेर मात्रै त भएन ।

अर्को कुरा के हो भने सच्चा क्रान्तिकारीहरूलाई गोलबन्द गर्नुपर्छ । यो दिशामा हामी लाग्छौँ । लागी पनि रहेका छौँ । गलत चिन्तन, प्रवृत्ति, अवसरवादसँग जुध्दै सच्चा कम्युनिस्टहरूको एउटा राम्रो संगठन बनाउने र क्रान्तिकारीहरूलाई गोलबद्ध गराउने पक्षमा हामी छौँ । 

तपाईंको पार्टीको अर्को कुनै पार्टीसँग एकता हुँदै छ ?  

कुराकानी छ, भइहाल्छ । गोपालजीहरूसँग नि कुारकानी भएको छ । हामीले प्रयास गरेका छौँ । त्यो निश्चित रूपमा अगाडि बढ्छ । कोसँग के–कस्तो हुन्छ भनेर अहिले नै भन्न सक्ने कुरा भएन । हाम्रो के हो भने, क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासचाहिँ जारी छ । 

अहिले तत्काल एकता प्रक्रिया अगाडि बढेको चाहिँ छैन ? 

छलफल गरेका छौँ । विचार मिल्यो भने प्रक्रिया अगाडि बढाउन सकिन्छ । 

एमालेसँग पार्टी एकता गरेर प्रचण्ड सरकारमा हुनुहुन्छ । उहाँप्रति तपाईंको टिप्पणी के छ ? 

व्यक्तिगत त केही छैन उहाँलाई । पार्टी एकता गरेर सरकारमा जानुभएकोप्रति हामीले पहिल्यै विरोध गरेका थियौँ । ‘माओवादी केन्द्र थियो, यो एमालेमा विलय भयो’ भनेर हामीले पहिल्यै भनेका थियौँ । अत्यन्त गलत काम गर्नुभयो प्रचण्डजीले । 

केपी शर्मा ओलीले पाँच वर्षसम्म सरकारको नेतृत्व गर्न सक्नुहोला ?

गाह्रो छ । ओलीजीले गर्न गाह्रो छ । बाहिरका कुरा सुन्ने त बेग्लै कुरा भयो, उहाँ आफ्नै पार्टीभित्रकाहरूको पनि कुरा सुन्नुहुन्न । सबै ठाउँमा विकास भइसकेको छ भन्नुहुन्छ । तर, भएको केही पनि छैन । त्यसले गर्दा उहाँको नेतृत्वमा पाँच वर्ष पूरा गर्न निकै गाह्रो छ । उहाँ भाषण बढी, काम कम गर्नुहुन्छ । जनस्तरबाटै उहाँको आलोचना भइरहेको देखिन्छ ।

एकथरी मान्छे मोहन वैद्य मन्त्री, प्रधानमन्त्री हुनुपर्छ भन्थे । अहिले एउटा सानो पार्टीमा सीमित हुनुभयो । पदप्रति तपाईंको कुनै मोह भएन किन ? 

यो पुरानो सत्ताको त म हुँदै हुन्न । पुरानो सत्ता, पश्चगामी सत्ताको मन्त्री, प्रधानमन्त्री हुने त कुरै भएन । मन्त्री हुनैपर्छ भन्ने खालको मोह मलाई भएन । जनताको सत्ता ल्याउनका निम्ति जे गर्नुपर्छ, जनताको सत्तामा एउटा जिम्मेवारी लिनुपर्छ भन्ने कुरा सही हो । त्यो के हो भने, जनताको सत्ता कहिले हुने हो, के हो, अहिलेसम्म त हाम्रो समय संघर्षमा नै ठीक भयो । त्यसकारण, पुरानो सत्ताको केही पनि मोह छैन मलाई ।

अन्त्यमा के भन्नुहुन्छ ? 

देशलाई रूपान्तरण गर्नका निम्ति, नयाँ समाज निर्माणको निम्ति रगत–पसिना जनताले धेरै बगाए । तर त्योअनुसार हुन सकिरहेको छैन । यो स्थितिमा निराश हुन हुँदैन । हामीले मिहिनेत गर्नुपर्छ । परिश्रम गर्नुपर्छ । जनताका सपना निश्चित रूपमा साकार हुन्छन् । यसका निम्ति सचेत ढंगले जनताले रूपान्तरणको अभियानमा विगतमा जस्तै भविष्यमा पनि विशेष आकर्षणसहित अगाडि बढ्नुपर्छ । 

  • प्रकाशित मिति : चैत ३०, २०७५ शनिबार १८:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया