किशोर नेपालसँग कफी संवादः जसले ‘कफी कम खा’ भनेकाले डाक्टर नै फेरे
‘ह्विस्की छोड्छु कफी छोड्दिनँ’
सबै तस्वीर: किशाेर नेपालकाे फेसबुकबाट ।

पत्रकार किशोर नेपाल कफीका पारखी मात्र होइनन्, अम्मली हुन् । उनलाई हरेक विहान उठेपछि कफी चाहिन्छ, केही लेख्नुअघि कफी नभइ हुँदैन ।

र, यो क्रम चल्न थालेको झन्डै ४० वर्ष भइसकेको छ । 

केही दिनअघि बत्तिसपुतलीको एउटा कफी सपमा भेटिएका किशोरले ४० वर्षअघिको पहिलो सिप कफी सम्झिए ।

‘मेरो एउटा मद्रासी साथी थियो,’ उनले सम्झिए, ‘ती मद्रासी साथीले संकटामा कफी सप खोलेका थिए ।’ त्यही मद्रासी साथीको कफी सपमा पहिलो पटक कफीको ‘चुस्की’ र ‘स्वाद’ लिएका थिए किशोरले । 

‘मेरा विदेशी साथीहरु अत्यन्त धेरै कफी पिउँथे,’ किशोर त्यो समयमा पुगे, ‘एक दिन लहलहैमा ती मद्रासी साथीको पसलमा पुग्यौँ हामी । अनि पहिलो पटक कफी पिएँ ।’

किशोरले पहिलो पटक पिएको त्यो कफी थियो– अमेरिकानो डबल सट । 



कालो कफी पिउँदा जो सुकैलाई पनि तितो लाग्न सक्छ । कति कफीका अम्मलीहरु त अहिले पनि भन्छन्– पहिलो पटक कफी पिउँदा म यसलाई निरन्तरता दिन्छु जस्तो नै लागेको थिएन । 

तर, किशोर नेपाललाई त्यस्तो भएन । 



यो कुराकानी सुरु गर्दा अर्डर गरेको कफी अहिले टेबलमा छ । किशोरले एक चुस्की कफी पिए र भने, ‘हो, मान्छेहरु पहिलो पटक कफी पिउँदा मन नपरेको सुनाउँछन् तर मलाई त्यस्तो भएन । स्वभाव फरक भएकाले हुनसक्छ, पहिलो सिपकै कफी मलाई मीठो लाग्यो ।’

‘मलाई थाहा थियो, तितो कुरा नै पछि गएर मीठो हुन्छ भन्ने ।’

त्यही ज्ञान र पहिलो तितो सिपले किशोरलाई कफीको ‘एडिक्ट’ बनायो । त्यसपछि त किशोर प्रत्येक दिन विहान कफी खोज्न थाले । 

‘कफी पिइनँ भने केही छुटाएँजस्तो हुन्थ्यो,’ किशोरले हाँस्दै भने, ‘उठेपछि पहिलो काम भनेको कफी पिउन हुन थाल्यो । केही काम गर्दा पनि पहिले कफी नै चाहिने भयो ।’

तर, जतिबेला कफीको मोहमा किशोर नेपाल फसिसकेका थिए, त्यति बेला काठमाडौंमा कफी खान अहिलेको जस्तो सहज थिएन । एकातिर काठमाडौंमा कफी सपहरु कम थिए, अर्कोतिर किशोर नेपाललाई मद्रासी साथीको कफी पसलले मात्र तृप्त बनाउन सकेन । 

‘मद्रासी साथीकोमा मात्र होइन, काठमाडौंका अन्य पसलहरुमा पनि गएर कफी पिउन थालेँ मैले,’ उनले भने, ‘विस्तारै दिनमा ५÷६ कप कफी पिउन थालिसकेको थिएँ ।’

कफीप्रतिको किशोरको मोह कफीको स्वादले मात्र बढाएको थिएन, उनलाई कफीप्रति प्यासन बढ्दै जान थालेको थियो । र, कफीले आफूलाई एकाग्र, चिन्तनशील बनाउन पनि सहयोग गर्ने विश्वास उनमा पलाएको थियो । भ्रम नै सही, कफीले यही एकाग्रता बढाउँछ भन्ने विश्वासले उनलाई कफीको एडिक्ट बनाइदियो । 

त्यसैले उनले प्रत्येक दिन ५–६ कप अमेरिकानो डबल सट, एक्सप्रेसो खान थाले । 

‘त्यो मेरो आस्थामात्र पनि हुनसक्थ्यो,’ किशोरले अर्को सिप कफी पिउँदै भने, ‘मलाई त कफीले अर्कै लेभलमा पुर्याउँछ र लेखनमा अझ सहयोग गर्छ भन्ने लागिरहेको थियो । फेरि हामीलाई शक्ति र केही राम्रो काम गर्ने ऊर्जा दिने त आस्था र विश्वासले न हो ।’

त्यही कफीप्रतिको आस्था र विश्वासले किशोरलाई डोर्याउँदै लग्यो । ‘अनि त मैले दिनमा १२ कप अमेरिकानो डबल सटसम्म खाएँ,’ उनले सम्झिए । अनि एउटा निष्कर्षमा पुगे, केही काम गर्न मेहनेत र अभ्यास चाहिन्छ, कुनै एउटा त्यस्तो खान्की छैन जसले मानिसलाई एकाएक सफल बनाउँछ । 

खैर, उनले कफी पिउन चाहिँ छोडेनन् । उनलाई त कफीले उत्कर्षमा नै पुर्याउँछ भन्ने लागिरह्यो । त्यसैले आजसम्म पनि किशोर केही लेख्न बस्नुअघि कफी पिउँछन्, बीचबीचमा कफीको स्वाद लिन्छन् ।

तर, वर्षौअघि किशोरलाई विहान पाँच बजे उठ्ने वित्तिकै कफी पिउने ‘आदत’ भइसकेको थियो । अनि यसले उनलाई थप समस्यामा पार्न थाल्यो । जतिबेला किशोरलाई कफीको तलतल लाग्थ्यो, त्यति बेला काठमाडौंमा कफी सपहरु खुलेकै हुँदैनथे । 

‘अहिलेजस्तो सहरमा छ्यापछ्याप्ती कफी सप थिएनन्,’ किशोरले भने, ‘एक कप कफी पिउन पनि ठमेल नै पुग्नु पथ्र्यौ ।’ यो अप्ठ्यारोले किशोरलाई नयाँ आइडिया फुराइदियो, उनले घरमा नै कफी मेसिन ल्याउने भए । ‘आफूलाई मन लाग्दा खान पनि पाइने,’ उनले भने, ‘समय र पैसाको पनि बचत हुने ।’

किशोरको यो कफी मोहबारे उनका साथीहरु पनि जानकार थिए । त्यसैले उनीहरु किशोरलाई कफी नै गिफ्ट गर्थे । 

‘सन् १९९० तिरको कुरा जस्तो  लाग्छ,’ किशोरले आफूलाई कफी गिफ्ट गर्ने साथीहरुको सूची सम्झन थाले, ‘मेरो एकजना जापानी साथी थियो । आउँदा मलाई सधैं कफी नै गिफ्ट गर्ने ।’

जापानका ती साथीले किशोरलाई नेपाल आउँदा मात्र कफी ल्याइदिएनन् । उनी जापान पुगेपछि पनि किशोरलाई कफी पठाइदिन्थे । ‘दक्षिण अफ्रिकाको कफी,’ किशोरले भने । 

ती जापानी साथीले किशोरलाई प्रत्येक महिना एक प्याकेट त पठाउँथे तर किशोरको कफी लत कति बढिसकेको थियो भने त्यो एक प्याकेटलाई उनलाई महिनभर पुग्दैनथ्यो । तर, विस्तारै अरु साथीभाइ तथा आफन्तले पनि किशोरलाई कफी ल्याइदिन थालेका थिए । 

‘केही नजिकका आफन्तहरुलाई भने पनि,’ उनले भने, ‘तर, धेरैले आफैंले बुझेर ल्याइदिन थाले ।’ अहिलेसम्म पनि किशोरले उपहारमा कफी पाउने निरन्तरता चलिरहेको छ । र, किशोरले पनि आफ्ना विदेशी साथीहरुलाई कफी उपहारमा पठाउन थालेका छन् । ‘नेपालको कफी उनीहरुलाई पठाएको छु,’ उनी हाँसे । 

साथीहरुको गिफ्ट र आफ्नो लतका कारण किशोर नेपालले अहिलेसम्म भारत, श्रीलंका, ग्वाटेमाला, कोलम्बिया, मेक्सिको, केन्या, अमेरिका, निकारागुआ, कोस्टारिका, दक्षिण अफ्रिकालगायतका धेरै देशका कफी पिइसकेका छन् । 

तर, पछिल्लो समय उनलाई नेपालको कफीले नै मोहनी लगाएको छ । ‘नेपाली कफी बिन साँच्चिकै स्वादिस्ट छ,’ उनले भने, ‘पाटन, आर्घाखाँची, काभ्रे, पाल्पा, गुल्मीलगायत धेरै ठाउँका कफीको स्वाद जिब्रोमै बसिरहने खालका छन् ।’

तर, यीसबभन्दा उनलाई पाल्पाको कफी अत्यन्त मन पर्छ । ‘अनि गुल्मीको चाहिँ क्लासिक लाग्छ,’ उनले भने ।

हुन त कफीको सन्दर्भमा गुल्मीसँग किशोरको एउटा रमाइलो प्रसङ्ग पनि जोडिएको छ । यो नेपालमा सशस्त्र द्वन्द्वको समयको कुरा हो । किशोर नेपाल भ्रमणमा निस्किएका थिए । काठमाडौंभन्दा बाहिर कफीको चलन खासै सुरुवात् भएको थिएन । 

‘घुम्न थालेको धेरै दिन भइसकेको थियो,’ उनले भने, ‘कफी पिउन पाएको थिइनँ, कफीको तलतल निकै लागिसकेको थियो ।’

गुल्मी पुगेपछि चाहिँ उनले आफ्नो यो ‘व्यथा’ पोखेछन् । गुल्मीमा एउटा पसलमा कफी पाउने थाहा भएपछि किशोरले कफी खाने भए । पसले अन्कनाइरहेका थिए । तर, जसोतसो बिनलाई थिचेर धुलो बनाएर उनले कफी बनाए । 

‘त्यो स्वाद अहिले पनि मलाई सम्झना छ,’ किशोरले भने, ‘त्यसले मेरो कफीको प्यास मेटाएको थियो ।’ 

कफीका अम्मली किशोर नेपालले पछिल्लो समय आफूले खाने कफीको मात्रा घटाएका छन् । उनको घटेको यो मात्रा पनि सामान्यतया कफी नपिउनेहरुका लागि अझ बढी हो । ‘अहिले दिनको ३–४ कप कफी पिउँछु,’ किशोरले भने, ‘सायद उमेरले गाइड गरेकाले होला, अहिले मलाई कफी पिउन पहिलेको जस्तो उत्पातै मन पर्दैन ।’

कफीको मात्रा कम गर्ने प्रसङ्गमा किशोर अर्को एउटा घटना सम्झन्छन् । त्यो हो, उनलाई चिकित्सकले दिएको सुझाव । उनलाई चिकित्सकले दिनको २ कपभन्दा धेरै कफी नपिउनु भन्ने सल्लाहसुझाव दिएका थिए । 

‘तर, म ती चिकित्सकले भनेको जस्तो कम कफी पिउन सक्ने अवस्थामा थिइनँ,’ उनले भने, ‘मैले कफी कम गर्न सकिनँ, डाक्टर नै फेरिदिएँ ।’

कफी कम खा भन्ने डाक्टर नै फेरेका किशोरले कफी छोड्न सक्ने कल्पना नै गरेका छैनन् ।

तर, सहरमा यसको मात्र चर्चा छैन । चर्चा त किशोर नेपालले ह्विस्की पनि राम्रै पिउँछन् भन्ने पनि छ । 

अब किशोर नेपाललाई ह्विस्की र कफीमा एउटा मात्र रोज्नु पर्यो भने के होला ? 

‘ह्विस्की छोडिदिन्छु,’ उनले हाँस्दै भने, ‘कफी छोड्न सक्दिनँ ।’ 

  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार १५:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया