श्रीलंका विस्फोट : के प्रहरीलाई हमलाबारे पहिल्यै जानकारी थियो ?
प्रहरी प्रमुख पुजुथ जयसुन्दराले १० दिनअघि नै आत्मघाती हमलाको चेतावनी दिएका थिए

कोलम्बो– श्रीलंकाको राजधानी कोलम्बोलगायत विभिन्न सहरका ८ ठाउँमा आज विस्फोट भए । इसाईहरुको इस्टर पर्वका दिन विभिन्न चर्चलाई निसाना बनाई गराइएका विस्फोटहरुमा परी कम्तीमा १६२ जनाले ज्यान गुमाए भने ४०० भन्दा बढी घाइते छन् । 

श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयसुन्दराले १० दिनअघि नै आत्मघाती हमलाको चेतावनी दिएका थिए । ११ अप्रिलमा जयसुन्दराले भनेका थिए, ‘एक विदेशी जासुसी संस्थाले भनेको छ, नेसनल थोहिथ जमात (एनटिजे) देशको प्रमुख चर्च र कोलम्बोको भारतीय उच्चायोगमाथि आत्मघाती हमलाको षड्यन्त्र रचिरहेको छ ।’

एनटिजे श्रीलंकाको कट्टरपन्थी मुस्लिम संगठन हो । गतवर्ष बुद्धमूर्तिहरु तोडेर यो संगठन चर्चामा आएको थियो । 

आजका विस्फोटहरु मूलतः चर्चकेन्द्रित नै थिए । यद्यपि, केही विस्फोट होटल परिसरमा भए । पहिलो विस्फोट कोलंबोको सेन्ट एन्थोनी चर्चमा भयो ।

लगत्तै, नेगोम्बोको सेन्ट सेबेस्टियन चर्च र बट्टिकलोआस्थित अर्को चर्चमा विस्फोट भए । यसका अतिरिक्त कोलम्बोका सांग्रिला होटल, किंग्सबरी होटल र सिनमन ग्र्यान्ड होटलमा पनि विस्फोट भए । 

घटनाक्रम हेर्दा यो लामो समयदेखिको व्यवस्थित योजना देखिन्छ । त्यसको सुराक श्रीलंकन प्रहरीलाई पहिल्यै मिलिसकेको प्रहरी प्रमुखको १० दिनअघिको बयानले देखाउँछ । तर, सुराकका बाबजुद प्रहरीले यति भयानक आक्रमणलाई किन रोक्न सकेन ? श्रीलंकन सरकारमाथि नै प्रश्न तेर्सिएको छ । 
 






  • प्रकाशित मिति : वैशाख ८, २०७६ आइतबार १७:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया