अस्थायी शिक्षकलाई पटक–पटक मौका दिन सकिँदैन, सम्मानजनक बिदाइ गर्ने हो : शिक्षामन्त्री

काठमाडौं– अस्थायी शिक्षकले स्थायी हुनका लागि पुनः परीक्षा दिन नपाउने भएका छन् । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो जानकारी गराएका हुन् ।

अस्थायी शिक्षकलाई पुनः परीक्षा नभई सम्मानजनक बिदाइ गरिने मन्त्री पोखरेलले बताए । लामो समयदेखि काम गर्दै आएको आधारमा मात्रै अस्थायी शिक्षकहरुलाई शिक्षण पेसामा राख्न सक्ने अवस्था नरहेको बताउँदै मन्त्री पोखरेलले भने, ‘मौका परीक्षामा असफल भएका वा परीक्षामा सहभागी नभएकाहरुको पुनः परीक्षा गर्न सकिँदैन । उहाँहरुलाई सम्मानजनक बिदाइ गर्ने हो ।’

शिक्षक सेवा आयोगले २०७४ साल असारमा अस्थायी शिक्षकलाई स्थायी हुने मौका प्रदान गर्न परीक्षा सञ्चालन गरेको थियो । सो परीक्षामा उत्तीर्ण शिक्षकहरु स्थायी भइसकेका छन् । तर, परीक्षामा सहभागी नभएका र असफल भएका अस्थायी शिक्षकले स्थायी गर्नुपर्ने माग गर्दै पुनः आन्दोलन थालेका छन् । 

सरकारले अस्थायी शिक्षकलाई एकपटक परीक्षाको मौका दिने र असफल भएकालाई अनिवार्य अवकाश दिने ऐन बनाएको थियो । तर, परीक्षामा असफल भएका अस्थायी शिक्षकले भने रोजगारी नखोस्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । 

परीक्षामा असफल भएका र परीक्षामा सहभागी नै नभएका अस्थायी शिक्षकको संख्या करिब १३ हजार रहेको छ । केही सांसदले अस्थायी शिक्षकलाई रोजगारीबाट विस्थापित गर्न नहुने बताएका पनि मन्त्री पोखरेलले कानुनभन्दा बाहिर जान नसकिने बताए ।





  • प्रकाशित मिति : वैशाख २५, २०७६ बुधबार १४:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया