दीर्घजीवन चाहनेलाई जन्मशताब्दीमा सत्यमाेहन जाेशीका टिप्स

काठमाडौं– सोमबार ललितपुरमा विशेष कार्यक्रम गरेर संस्कृतिविद् सत्यमोहन जोशीको एक सयौँ जन्मदिन मनाइयो । जोशीलाई नेपाल सरकार र ललितपुर महानगरले विशेष कार्यक्रम गरेर सम्मान गरे । ललितपुर महानगरपालिकाले त जोशीको जन्मदिनमा सम्मानस्वरुप महानगरपालिकामा सार्वजनिक बिदा दिएको थियो । 

जोशी नेपाली संस्कृतिका लागि अमूल्य निधि हुन् । तीन पटक मदन पुरस्कार जितेका एक मात्र व्यक्ति जोशीले नेपाली संस्कृतिबारे लेखेका पुस्तक निकै महत्वपूर्ण मानिन्छन् । उनले २०१३ सालमा पहिलो पटक मदन पुरस्कार पाएका थिए । नेपाली संस्कृतिबारे जोशीको पुस्तक हाम्रो कलासंस्कृति निकै महत्वपूर्ण मानिन्छ । राष्ट्रिय नाचघरको स्थापना पनि जोशीले नै गरेका हुन् । 

सोमबारको कार्यक्रममा चाहिँ जोशीले आफ्नो मन्तव्यमा आफू सय वर्ष बाँच्नुका केही कारण बताएका थिए । ती हुन्ः

गुनासो गर्दिनँः

जोशीले कार्यक्रममा भाषण गरेका थिए । उनले भने, ‘म गुनासो गर्दिनँ, बुढो भएँ भन्ने पनि गुनासो गर्दिनँ, यो त वरदान हो ।’ उनले आफूले केही पनि कुरामा गुनासो नगर्ने बताए । 

संस्कार र संस्कृतिले बचाउँछः



जोशीले आफ्नो मन्तव्यमा संस्कृति नभए जीवन रुखो हुने बताए । आफूलाई संस्कारी बनाउने हो भने त्यसले दीर्घायु बनाउने उनको तर्क थियो । संस्कार र संस्कृतिले जीवनमा रस भरिदिने भएकाले यो पनि दीर्घ जीवनको कारण भएको जोशीले बताए ।

बाँच्छु भन्ने प्रढः



जोशीले कार्यक्रममा आजभन्दा पाँच वर्षअघि नै आफूलाई शताब्दि पुरुष भन्दा चित्त नबुझेको बताए । तर, उनलाई सम्मान गरेको संस्थाले शताब्दि पुरुष लेखेकाले आफूले पाँच वर्ष त बाँच्छु नै भन्ने प्रढ गरेको पनि उनले सुनाए । संकल्प गरेकाले आफूले सयौँ जन्मदिन मनाएको जोशीको भनाइ थियो । 

सकारात्मक सोच्ने, चिन्ता नलिनेः

जोशीले कार्यक्रममा हामीले सकारात्मक सोच्ने र चिन्ता नलिने हो भने दीर्घजीवन मिल्ने बताए । बरु चिन्तनचाहिँ आफू को हुँ र आफूले के गर्नेछु भन्ने विषयमा गर्नु पर्ने र मृत्युसँग डराउन नहुने जोशीको तर्क थियो ।

  • प्रकाशित मिति : वैशाख ३१, २०७६ मंगलबार ०:१६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया